वधशाला रिलिज गर्न हुँदै हुँदैन : सेना

सुरेन्द्र पौडेल, काठमाडौं, फागुन २२ - नेपाली सेनाले 'जनयुद्ध' मा आधारित चलचित्र 'बधशाला' प्रदर्शन गर्न नदिन सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ। अन्तरिम संविधान र सूचना तथा सञ्चार मन्त्रालयको अनुरोधविपरीत सेनाले प्रदर्शनमा प्रतिबन्ध लगाउन मन्त्रालयलाई सोमबार चिठी लेखेको हो। सेनासम्बन्धी विषयवस्तु र पोसाक प्रयोग भएका थुप्रै चलचित्र यसअघि नै प्रदर्शनमा आए पनि जंगीअड्डाले रोक लगाएको यो पहिलो चलचित्र हो।

अन्तरिम संविधानको मौलिक हकमा जुनसुकै श्रव्य-दृष्य सामग्री प्रसारण हुनुपूर्व प्रतिबन्ध नलगाइने उल्लेख छ।
'यो फिल्म रिलिज गर्न हुँदैहुँदैन,' सैनिक मुख्यालय जंगीअड्डाले आइतबार सूचना तथा सञ्चार मन्त्रालयलाई जवाफी पत्रमा लेखेको छ।
चलचित्र प्रदर्शनअघि आउनुअघि मन्त्रालयअन्तर्गतको सेन्सर बोर्डबाट पास हुन अनिवार्य छ। सेन्सर बोर्डले फिल्म हेर्नुअगावै सेनाले प्रदर्शनमा रोक लगाउने सार्वजनिक गरेपछि मन्त्रालयले केही दिनअघि नै आफ्नो निर्णयमा पुनर्विचार गर्न जंगीअड्डालाई पत्र लेखेको थियो। आइतबार पठाएको जवाफमा चलचित्रले सेनाबारे दर्शकमा नकारात्मक धारणा सृजना गर्ने उल्लेख गरेको छ।
'चलचित्रमा सेनाको विवादास्पद विषयवस्तु चित्रण गरिएको छ। सेनाको पोसाक चरम दुरुप्रयोग गरिएको छ,' चलचित्र बधशाला सम्बन्धमा सोमबार जंगीअड्डाले रक्षामार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई पठाएको जवाफी पत्र उद्धृत गर्दै सैनिक प्रवक्ता सुरेश शर्माले जानकारी दिए, 'चलचित्रले सेनाबारे दर्शकमा नकारात्मक धारणा सृजना गर्ने हुँदा हामीले रिलिज गर्न हुँदैन भनेर पुरानै अडान राखेका छौं।'

-->

मनोज पण्डितद्वारा निर्देशित चलचित्र बधशालामा 'द्वन्द्वकालमा भैरवनाथ गणमा दिइएका यातना' लाई मूल विषयवस्तु बनाइएको र गणलाई बधशालाको रुपमा चित्रण गरिएको बुझाइ सेनाको छ।
यसकारण सेन्सर बोर्डले हेर्नुअगावै केही साताअघि सेनाले चलचित्रप्रति आपत्ति जनाउँदै प्रदर्शनमा नल्याउन सूचना तथा सञ्चार मन्त्रालयलाई भनेको थियो। चलचित्र विकास बोर्डबाट स्त्रि्कप्ट पास भएर निर्माण कार्य पूरा गरी सेन्सर बोर्ड पुगेको चलचित्र सम्बन्धमा सेन्सरले बोल्नुअगावै सेनाले अप्रत्यक्ष प्रतिबन्ध लगाएको हो।
'प्रोमो मात्र होइन, चलचित्र नै हेरिसकिएको छ। चलचित्रको विषयवस्तु र प्रस्तुतिप्रति नै हाम्रो आपत्ति छ। सेना कति कठोर हुन्छ? कस्तो व्यवहार गर्छ? चलचित्रमा देखाउन खोजिएको छ जस्ले जनमानसमा सेनाबारे गलत धारणा बनाउँछ,' प्रवक्ता शर्माले भने।
रक्षाका प्रवक्ता द्वारिकाप्रसाद आचार्यले सेनाले आफ्नो पुरानै धारणा पत्रमार्फत राखेको जनाए। 'यो चलचित्र रिलिज गर्न हुँदै हुँदैन भन्ने सेनाको आशय छ,' प्रवक्ता आचार्यले जानकारी दिए।
फागुन २५ मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको बधशालाले पोस्टर र प्रोमो सार्वजनिक गरिसकेको छ। तर, सेनाको एकतर्फि प्रतिबन्दले फिल्मको प्रदर्शनी रोकिने पक्कापक्की जस्तै भएको छ। अनुप बराल, सौगात मल्ल, अर्पण थापा, दयाहाङ् राई लगायतको अभिनय चलचित्रमा रहेको छ।