भारतमा रहेको नेपाली क्रिकेट टोलीको अर्को जित

काठमाडौं, फागुन २२ (नागरिक)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो ट्वान्टी-२० अभ्यास खेलमा पनि विजय पाएको छ। अर्को महिना काठमाडौंमा हुने एसिसी ट्वान्टी-२० कप र त्यसपछि बर्मुडामा हुने विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीमा दिल्लीमा रहेको नेपालले सोमबार तलवार क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो। 
दिवा/रात्रिमा खेलिएको खेलमा ज्ञानेन्द्र मल्लले अविजित ५४ रन बनाएपछि नेपालले १ सय ४३ रनको लक्ष्य ४ बलअघि पूरा गर्यो। नेपालले अघिल्लो दिन भारत नगर कोचिङ सेन्टरलाई ६ विकेटले पराजित गर्दा पनि ज्ञानेन्द्रले अविजित ४९ रन बनाएका थिए।
ज्ञानेन्द्रले ३६ बल खेली ८ चौका प्रहार गरे। उनीसँगै मञ्जित श्रेष्ठ १२ बलमा ३ चौका र २ छक्का प्रहार गरी २७ रन बनाई अविजित रहे। सागर पुन २८ बलमा ३ चौका र २ छक्कासहित ३६, विनोद भण्डारी १४, पारस खड्का ४ र ओपनर अनिल मण्डल १ रनमा आउट भए। तलवारका दलिप गौतम र शाहवाजले २-२ विकेट लिए।
यसअघि टस जितेको तलवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४२ रन बनाएको थियो। शाहवाजले ४०, इशान मक्करले ३०, आकाश शेठीले २२, दिनेशले १२, राजन दग्गरले ११ र अजय आनन्दले अविजित १० रन बनाए। नेपालबाट प्रदीप ऐरी र मञ्जितले २-२ तथा जितेन्द्र मुखिया, अमृत भट्टराई र सागरले १-१ विकेट लिए।

-->