'भगवानको लिङ्गलाई छोएपछि व्यापार बढ्छ'


भिमसेनको लिङ्गलाई टोलटोलमा घुमाएर होली पर्व सुरु

भक्तपुर, चैत्र ८ - भक्तपुरमा दत्तात्रयस्थित भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात् लिङ्गलाई टोलटोलमा घुमाएर सात दिनसम्म मनाइने होली पर्व सुरु भएको छ ।
भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भिमसेनको मन्दिरमा काठबाट बनेको मानव आकारको लिङ्ग अर्थात् लग र रातो कपडामा बनाएको योनी आकारको कपडा फागुन शुक्ल अष्टमीका दिन झुण्ड्याएर सुरु हुन्छ । आज काठको सोही लगलाई टोलटोलमा घुमाएर होली पर्व सुरु भएको हो ।
होली पर्व सुरु भएपछि आज फागुन नवमीको दिनमा भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरी रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिएको छ ।



घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले ढोग्ने र दान दक्षिणा चढाउने गरेका थिए । लिङ्गको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयवासी कृष्णबहादुर गायजुले बताए । ‘भगवानको लिङ्गलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसल–पसलमा लिङ्ग लगिएपछि दक्षिणा राखेर ढोग्छन्,” उनले भने ।
बजार घुमाएर ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपदीको यौन समागमकोे रुपमा लिइने गरेको संस्कृतिकर्मी श्रीओम श्रेष्ठले बताउँछन् ।
यसलाई टोलटोलमा रहेको पसलैपिच्छे घुमाएर पूजा गरी पुनः पाटीमा ल्याएर झुण्ड्याएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने र पूजा गरी पैसा चढाउने गर्दछन् । करिब दुई हात लामो र करिब ३० इन्च मोटाइको काठबाट बनेको लगलाई भक्तपुरका बासिन्दाले भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनीको रुपमा लिने गरिएको भक्तपुरका श्री श्रेष्ठले बताए ।
उनले भने, “नेवारी परम्पराअनुसार यसलाई चिरस्वायगू भन्ने गरिन्छ, चिरस्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिने परम्परा रहेको छ ।”
“साङ्केतिकरुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ,” उनले भने ।
पाटीमा राखेको काठको लिङ्ग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।
चिर स्वायगू झुण्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने परम्परा रहेको छ । विशेषगरी होलीभरी शनिबार र मङ्गलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् ।