एमाओवादी उम्लिएको दुधजस्तो : ओली


तनहुँ, फागुन २३ (नागरिक)- नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादी ठूलो पार्टीजस्तो देखिए पनि उम्लिएको दुध भएको बताएका छन्। मन्त्रिपरिषद्‍बाट एमाओवादीले आफूअनुकूल गराएका निर्णय बदर गर्ने भन्दै उनले अबको निर्वाचनमा एमाले देशकै ठूलो पार्टी बन्ने दाबी गरे।







'माओवादीकै कारण संविधान सभाबाट संविधान जारी हुन सकेन,' उनले भने, 'सरकारको म्याद सकिने बेलामा पनि यो सरकारले एकपछि अर्को अवैधानिक काम गरेको छ।' मन्त्रिपरिषद्‍बाट माओवादीले गराएका आफू अनुकूलका निर्णय नयाँ सरकार बनेपछि बदर गर्ने उनको भनाइ छ।
नेकपा एमाले जिल्ला कमिटि गोरखाले वुधबार मनकामनामा आयोजित कार्यक्रममा बोल्दै नेता ओलीले प्रधानन्यायाधीश नेतृत्वको सरकारले जेठमै निर्वाचन गराउने बताए।
'सम्भव भएसम्म प्रधानन्यायाधीश सरकारले जेठमा नै चुनाव गराउँछ,' उनले भने, ' जेठमा नभए कात्तिक अन्तिम साता वा मंसिर आधाआधीमा चुनाव हुन्छ।'
कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष एवं अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष विद्या भण्डारीले एकीकृत माओवादीको वास्तविक चरित्र आगामी निर्वाचनपछि प्रष्ट हुने बताइन्। विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका सर्वसाधारणलाई स्वागतका लागि एमालेले आयोजना गरेको कार्यक्रममा मनकामना, बक्राङ्ग र ताक्लुङ्गका ३ सय भन्दा बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ।