स्वर्गीय अनुभूतिका लागि बगैंचा


बगैंचाको आकार

बगैंचालाई सुन्दर तथा स्थायी रूप दिन सर्वप्रथम यसलाई सही आकार दिन आवश्यक हुन्छ । यो महत्वपूर्ण विषय पनि हो । त्यसैले यसको काम सुरु भएपछि निकै विचार गरेर अघि बढ्नुपर्छ । पहिले एउटा कागजमा बगैंचाको डिजाइन तयार गर्नुपर्छ । त्यसपछि त्यसको आकार तथा कसरी सजाउने भन्ने रेखा चित्र उतार्नुपर्छ । कागज तथा दिमागमा बनाएको चित्र आफूलाई मन नपरे पछि त्यसलाई सजिलै फेरबदल गर्न सकिन्छ तर बनाइसकेपछि नष्ट गर्नु तथा बिगार्नु भनेको समयका साथै पैसा पनि नष्ट गर्नु हो । त्यसैले बगैंचा बनाउन थाल्नुअघि उचित डिजाइन गर्नुपर्छ ।

सुरु गर्ने समय

समयको सदुपयोग गर्दै गृहिणीले बगैंचाका विभिन्न काममा आफूलाई ढाल्न सक्छन् । बगैंचा निर्माण तथा डिजाइन गर्न यही समय उपयुक्त भन्ने नभए पनि त्यसमा रुख-बिरुवा रोप्न भने समय तथा मौसमका बारेमा जानकारी राख्नुपर्छ । यसका साथै कुन समयमा कुन फूल-बिरुवा रोप्दा उपयुक्त हुन्छ भन्ने कुराको पनि ज्ञान राख्नु आवश्यक छ । बगैंचा डिजाइन गरेपछि त्यसमा राख्ने माटो तथा मल भने तयार पार्न सकिन्छ ।

मौलिकता

बगैंचा बनाउँदा अरूको नक्कल नै गर्नुपर्छ भन्ने छैन । यसमा मौलिकता झल्कनुपर्छ । आफ्नो इच्छा तथा कल्पनाअनुसार यसलाई सुन्दर तथा आकर्षक बनाउन योजना तय गर्नुपर्छ । यसका लागि विभिन्न प्रकारका फूलका लागि क्यारी बनाउन सकिन्छ । विभिन्न रंग तथा प्रकारका फूल, लहरा, बिरुवा, झरना, झाडी आदि पनि राख्न सकिन्छ ।

वासना

बगैंचा बनाउँदा आकार एवं सजावटमा ध्यान दिएजस्तै त्यसको वासनामा पनि ध्यान दिनुपर्छ । बगैंचामा घुम्दा आउने मीठो वासनाले मन खुसी हुन्छ । त्यसैले रुख-बिरुवा रोप्दा कस्तो खालको उपयुक्त हुन्छ तथा कुन फूलको वासना कस्तो हुन्छ भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । यसका लागि स्वीट पी, चमेली, पारिजात, गुलाब आदिका फूल-बिरुवा रोप्न सकिन्छ । प्राचीन भनाइअनुसार बगैंचामा वासना आउने बिरुवा नभएसम्म त्यो पूर्ण हुँदैन ।

क्यारी

क्यारी बगैंचाको प्राण हो । यसलाई बगैंचाको मुख्य आकर्षकको केन्द्र मानिन्छ । यसको आकार अथवा प्रकार जमिनको आकारमा भर पर्छ । यसका साथै कस्तो खालको क्यारी बनाउने त्यो आफू तथा आफ्नो कल्पनामा भर पर्ने कुरा हो । यसका लागि कुनै निश्चित नियम छैन । सामान्य रूपमा दुवैतिर घुमाउन मिल्छ भने त्यो ठाउँ झाडीका लागि राख्न सकिन्छ । यसले बगैंचाको आकर्षणलाई अझ बढाउँछ । यो घुमाउँदा जोडेजस्तो देखिनु हुँदैन । सानो बगैंचाका लागि एउटा मात्र झाडी उपयुक्त हुन्छ ।

-->


ढुंगा बिछ्याउनु

बगैंचालाई सुन्दर बनाउन कुनै भागमा ढुंगा बिछ्याउन सकिन्छ । यसो गर्दा बगैंचामा समय-समयमा घाँस उखेल्नुपर्ने झन्झटबाट मुक्ति प्राप्त गर्न सकिन्छ । यसका साथै यसलाई सफा गर्न पनि सजिलो हुन्छ । यसबाट जाडोमा घामको फाइदा उठाउन सकिन्छ भने गर्मीमा शीतल हावा खान सकिन्छ । ढुंगा अथवा इट्टालाई विभिन्न प्रकारका डिजाइन दिन सकिन्छ । यसले बगैंचाका साथै घरलाई पनि सुन्दर देखाउँछ ।

रुख-बिरुवा

बगैंचामा रुख-बिरुवा अत्यावश्यक कुरा हुन् । रुख-बिरुवा लगाउँदा उपयुक्त ठाउँको छनोट गर्नुपर्छ जसले गर्दा बगैंचाको हेरचाह गर्न सजिलो होस् । यसका लागि मालीको सहायता लिन सकिन्छ । माली बागबानीसम्बन्धी राम्रो ज्ञान भएको तथा परिश्रमी हुनुपर्छ ।

छतमा बगैंचा

ठाउँको अभाव भएका तर बगैंचामा रुचि राख्ने गृहिणीले घरको छत पनि बगैंचाका रूपमा प्रयोग गर्न सक्छन् । यसका लागि घरको छतमा चाहिने मात्रामा माटो, मल तथा पानी दिनु आवश्यक छ । यसमा आवश्यकताअनुसार तरकारी तथा फूल रोप्न सकिन्छ । त्यसैगरी आफ्नो छतमा रहेको बगैंचाको आनन्द उठाउन छतमा बस्ने व्यवस्था पनि मिलाउन सकिन्छ । छतमा बिरुवा रोप्नुभन्दा पहिले आफूले कुन बिरुवा रोप्दा राम्रोसँग हुर्कन सक्छ भन्ने कुराको ख्याल राख्नुपर्छ । त्यसैगरी अर्को महत्वपूर्ण कुरा डे्रनेज हो । छतमा बगैंचा बनाउँदा प्रशस्त मात्रामा ड्रेनेज च्याम्बरको व्यवस्था गर्नुपर्छ अन्यथा घरका कोठा चिसो हुनुका साथै विभिन्न समस्या उत्पन्न

हुन सक्छन् ।