अवैध गाँजा सहित १ पक्राउ, अर्को फरार
|
चैत ६ - सीमावर्ती सखुवाननकारकटी-८ बलान खोलाको किनारबाट अवैध लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्ने सप्तरी मलहनीया-९ का ३५ वर्षीय जगदीश यादव छन्।
बलान खोला तिरैतिर तयारी गाँजा भारतको लौकाहातर्फ लग्दै गरेको सूचना पाएर एम्बुस थापेको महेशवारी प्रहरीले ४६ किलो गाँजा सहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विशेष सुराकका आधारमा सो परिमाणको गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार शाहीले बताए।
पोकामा तयार पारिएको गाँजा उदयपुरको चुरेक्षेत्रबाट सप्तरी हुँदै सिरहाको ठाढी र सप्तरीको बेल्ही नाकाबाट भारत निकासी भैरहेको प्रहरी सुत्र बताउँछन्।यो नाका गाँजा तस्करका लागि सुरक्षित मानिन्छ ती प्रहरीले भने, 'ठाढीबाट पायक नपरे बेल्ही नकाबाट छिराउँछन् गाँजा। गाजाँ सहितका व्यक्ति पक्राउ पर्नुको पछाडि अर्को तस्कर समूहले प्रहरीमा सूचना चुहाउनु कारण रहेको सीमाका एक प्रहरी अधिकृतले बताए।
पक्राउ परेका गाँजा सहितका अभियुक्तलाई कारबाहीका लागि अदालतबाट म्याद लिएर वडा प्रहरी कार्यालय लहानमा राखिएको छ।
|



