सर्वोत्तम पिठो गाईभैंसीको आहारा


जाजरकोट, चैत ९ – वालवालिकालाई कुपोषणबाट जोगाउन सरकारले पठाएको सर्वोत्तम पिठो गाईभैंसीलाई खुवाउन थालिएको छ ।

पिठाको प्याकेटमा किरा भेटिएपछि गाईभैंसीलाई खुवाउन थालिएको स्थानीय दलबहादुर खत्रीले बताउनुभयो । ‘वालवालिकालाई खुवाउन पिठो लिन तछाडमछाड गर्ने स्थानीय वासिन्दा हिजोआज गाईभैंसी, कुखुरा र बंगुरको दानाको लागि लिन जान्छन्’ उहाँले भन्नुभयो ।

वाल स्वास्थ्य पोषण महाशाखाले माघको अन्तिमतिर जाजरकोटमा पिठो पठाएको थियो । ६ महिनादेखि २ बर्षसम्मका वालवालिकाका लागि पठाएको पिठोको प्याकेटमा किरा परेको, डल्ला परेको र गन्हाएको भेटिएको थियो ।

महाशाखाले एक किलोग्रामको ७२ हजार ७ सय र आधा किलोको २ हजार ५ सय प्याकेट गरी ७० मेट्रिक टन सर्वोत्तम पिठो जाजरकोट पठाएको थियो । पिठोको प्याकेटमा अझै ३ महिना प्रयोग गर्न सकिने उल्लेख भएपनि ब्यवस्थित स्टोरको अभाव, प्याकिङ राम्रो नभएका कारण चाँडै सडेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

निमित्त प्रमुख रामपुकार साहले पिठोमा किरा परेको र सडेको प्रत्यक्ष देखेपछि वितरणमा रोक लगाइएको बताउनुभयो । ‘थाहा नहुँदासम्म वितरण गर्‍यौं थाहा पाएपछि बन्द गरेका छौं’ उहाँले भन्नुभयो ।

म्याद गुज्रिने बेला धेरै पिठो एकैपटक जिल्ला भित्रिएको थियो । कुपोषितलाई बर्षभरि खुवाउनुपर्ने पिठो ढिलो गरी आपुर्ति हुँदा सडेको हुन सक्ने पत्रकार भीमबहादुर सिंहले बताउनुभयो । विभिन्न सर्भेक्षणमा यहाँका धेरैजसो वालवालिकामा कुपोषण भएको पाइएकाले सर्वोत्तम पिठो खुवाउने अभियान सञ्चालन भएको हो ।