विश्वले आदर्श मानेका धावक र भ्यालेन्टाइन डेमा भएको प्रेमिका हत्या

जोहानेसबर्ग, फागुन ८ (एपी)- विश्वविख्यात ओलम्पियन धावक ओस्कार पिस्टोरियसलाई 'भ्यालेन्टाइन डे' का दिन प्रेमिका रिभा स्टिनकाम्पको हत्या भएको विषयमा मंगलबार र बुधबार धरौटीसम्बन्धी बयानका लागि उपस्थित गराइँदा सरकारी वकिलले उनलाई हत्याको अभियोग लगाउनुको कारण बताउने छन्। 
पिस्टोरियसको परिवारले हत्यामा उनको कुनै संलग्नता नभएको दाबी गरे पनि उनी स्वयम्ले भने आफूमाथि लागेको अभियोगविरुद्ध कुनै अपिल गरेका छैनन्। २६ वर्षे धावकको निवासमा 'भ्यालेन्टाइन डे' का दिन उनकी मोडल प्रेमिकाको शव भेटिएको थियो। २९ वर्षे रिभा पछिल्लो समय दक्षिण अफ्रिकी टेलिभिजनमा रियालिटी शो चलाउँदै आएकी थिइन्।
विश्वले आदर्श मानेका धावक मुछिनेगरी उनकी प्रेमिकाको हत्या भएको विषयमा एपीले बटुलेका केही तथ्य :
ब्लेड रनर : 
गतवर्ष लन्डनमा पिस्टोरियसले दुवै कृत्रिम खुट्टाका भरमा ओलम्पिकको ट्रयाक इभेन्ट्स पूरा गर्ने धावकका रूपमा इतिहास बनाए। उच्च प्रविधियुक्त कृत्रिम खुट्टाका भरमा तेज गतिमा दौडिएपछि उनलाई 'द ब्लेड रनर' को उपनाम दिइएको थियो। जन्मजात समस्याका कारण पहिलो जन्मदिनदेखि नै दुवै खुट्टाको घुँडामुनि काम नलाग्ने भएका पिस्टोरियसलाई सपांगहरूसँग प्रतिस्पर्धा गर्ने अवसरलाई लामो समय अभियान चलाइएको थियो। कृत्रिम खुट्टाका कारण उनलाई सुरुमा खेल्ने अनुमति दिइएको थिएन। २००८ मा खेलकुदको सबभन्दा ठूलो अदालतबाट खेल्ने अनुमति पाएका उनले २०११ मा अपांगता भएको पहिलो खेलाडीमा सहभागिता जनाएर विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए।
मोडल प्रेमिका : 
घरेलु तथा अन्तर्राष्ट्रिय विज्ञापनहरुमा अभिनय गरेकी स्टिनकाम्प दक्षिण अफ्रिकामा लोकप्रिय सेलिब्रिटी हुन्। एफएचएम म्यागजिनले दुई वर्ष लगाएर विश्वका १ सय शीर्ष कामुक महिलाको सूची तयार पार्दा उनी समेटिएकी थिइन्। नोभेम्बरमा जोहानेसबर्गनजिकै एक रेस ट्रयाकमा पहिलो पटक पिस्टोरियसलाई भेटेकी स्टिनकाम्प सोही रात आयोजित एक स्पोर्टस अवार्ड कार्यक्रममा उनीसँग नजिकिएकी थिइन्। उनी एक दुध-फलफुल पेयद्वारा प्रायोजित रियालिटी टेलिभिजन शो 'ट्रोपिका आइल्यान्ड अफ ट्रेजर ५' मा भाग लिएकी थिइन्, अहिले दक्षिण अफ्रिकाको राष्ट्रिय टेलिभिजन एसएबिसीबाट प्रशारण भइरहेको छ।
'भ्यालेन्टाइन डे' हत्या : 
फेब्रुअरी १४ को दिन घाम अस्ताउनै लाग्दा पुलिस अधिकारीहरू पिस्टोरियसको घरमा आइपुगे। पिस्टोरियसको घरमा पुग्दा रगतले लतपतिएकी स्टिनकाम्पको प्रारम्भिक उपचार गराइरहेको अवस्थामा देखियो। पुलिसका अनुसार घरमा ९ एमएमको पेस्तोल भेटियो र अधिकारीहरूले पिस्टोरियसलाई गिरफ्तार गरे। पुलिसले स्टिनकाम्पको हत्या हुँदा घरमा हुने अर्को एकमात्र व्यक्ति पिस्टोरियस नै थिए। त्यसपछि डिएनए परीक्षण गरिँदा उनको रगतको स्याम्पल भेटिएको थियो। अनुसन्धानकर्ताहरूले अन्य आवश्यक जाँच पनि गरेका थिए, जसको पूरा विवरण पुलिसले उपलब्ध गराएको छैन। आक्रमणमा स्टिनकाम्पलाई चार गोली प्रहार गरिएको पुलिसले जनाएको छ। अभियुक्त पिस्टोरियसले हत्या गर्नुको उद्देश्यबारे पुलिसले केही नबताए पनि पिस्टोरियसका काका आर्नोल्डले भने आफ्ना भतिजा हत्यारा हुनसक्ने सम्भावना अस्वीकार गरेका छन्।
पिस्टोरियसको विगत : 
पिस्टोरियसको व्यक्तिगत जीवनको अतीत निकै पीडादायी छ। फेब्रुअरी २००९ मा उनी दक्षिण अफ्रिकाको भाल नदीमा स्पिडबोट दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा उनको नाक, च्यापु र करङका थुप्रै हाड भाँचिए। साथमा उनको आँखामा पनि चोट लाग्यो। दुर्घटनामा लागेका सबै चोटको उपचार गराउने क्रममा उनको अनुहारमा मात्र १ सय ८० टाँका लगाउनुपरेको थियो। प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुँदा पिस्टोरियसले रक्सी सेवन गरिरहेका थिए भने प्रहरीले दुर्घटनाग्रस्त बोटमा रक्सीका बोतल भेटे। तथापि घटनापछि उनको रक्त परीक्षण भने गरिएको थिएन। नोभेम्बरमा पिस्टोरियस एक महिलाको विषयलाई लिएर स्थानीय कोइलाखानीका करोडपति मालिकसँग विवादमा उत्रिएको दक्षिण अफ्रिकी सञ्चारमाध्यमले जनाएका थिए। जुन घटनामा पुलिसको संलग्नतापछि दुई पक्षबीच सहमति भयो। बन्दुकका शौखिन पिस्टोरियसले एकपटक आफ्नो घरमा कोही पसेको अनुमानमा बन्दुक लिएर उसलाई खोजेको टि्वट गरेका थिए।
दक्षिण अफ्रिकामा न्याय : 
रोमन-डच कानुनको शैलीमा अदालत हुने दक्षिण अफ्रिका विश्वका थोरै राष्ट्रमध्ये एक हो। जसका कारण अन्य देशमा झै फौजदारी अभियोग लागेकाले न्यायाधीशको समूहसमक्ष न्यायिक सुनुवाइको थप मौका पाउँदैनन्। दक्षिण अफ्रिकामा यस्ता मुद्दामा एकै न्यायाधीशले पूरा मुद्दा हेरेर निर्णय गर्ने व्यवस्था छ। तर न्यायिक प्रक्रिया दौरान न्यायाधीशले दुई सल्लाहकारबाट सहयोग भने लिन सक्नेछन्। खासगरी यस्ता सल्लाहकारले साक्षी बकाउने तथा अन्य प्राविधिक सहयोग गर्ने चलन छ। न्यायाधीशबाट दोषी सावित भएमा अभियुक्तले त्यसपछि मात्र अपिल गर्न पाउँछ। मृत्युदण्डको व्यवस्था नभएको दक्षिण अफ्रिकामा हत्याको सजाय कम्तीमा आजीवन कारावास हुन्छ।
हत्याकाण्डपछिका प्रतिक्रिया : 
स्टिनकाम्पको हत्या भएको खबर सार्वजनिक हुनेबित्तिकै पिस्टोरियसलाई अनुबन्ध गरेका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले उनलाई प्रयोग गरिएका विज्ञापन प्रकाशन तथा प्रसारणमा रोक लगाए। उनका एजेन्ट पिस्टोरियसका तय भइसकेका भावी व्यावसायिक कार्यक्रम पनि रद्ध गर्न बाध्य भए। तथापि नाइकी र चस्मा उत्पादक ओक्लीजस्ता ठूला प्रायोजक भने पिस्टोरियससँग अझै टाँसिइरहेको उनका एजेन्टले बताएका छन्।