हेलो सरकारमा वैदेशिक रोजगारबारे बढी उजुरी
![]() |
अर्जुन सुवेदी, काठमाडौं, फागुन १३- जनगुनासो सुन्न भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेको 'हेलो सरकार'मा माघ महिनामा आएका ९ सय ५७ उजुरीमध्ये ६ सय ५७ वटाको सुनुवाई भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
जसमध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीका सिलसिलामा भोग्नुपरेका समस्याबारे उजुरी परेका छन्।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले प्राप्त गुनासोमध्ये ५७ वटालाई तत्काल समाधान गरिएको बताए। उनका अनुसार माघ महिनामा प्राप्त गुनासोमध्ये ५५ वटा गुनासोलाई उच्च प्राथमिकतामा राखेर सम्वोधन गरेको थियो।
बास्कोटाका अनुसार सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, बैंकबाट ऋण उपलव्ध गराउन ढिलाई गरेको, शिक्षण अनुमतिपत्र नपाएको, विजुलीको ट्रान्सफर्मर बिग्रिएर समस्या परेको, वैदेशिक रोजगारीका लागि भन्दै राहदानी कव्जाम लिएर दुःख दिएकोजस्ता गुनासालाई उच्च प्राथमिकता दिइ तत्काल सम्बोधन गरिएको हो। हेलो सरकार सेवा सुरु भएदेखि हालसम्म २० हजार चार सय ३२ वटा गुनासोहरु प्राप्त भएको सचिव बास्कोटाले जानकारी दिए।
त्यसैगरि वनजंगल संरक्षण गर्नुपर्ने, महिला हिंसा रोक्नुपर्ने, ग्रामिण विद्युतीकरण सेवा विस्तार गर्नुपर्ने, राहदानी वितरण गर्ने कार्यालयको आसपासमा शौचालयको व्यवस्था गर्नुपर्ने, लगायतका विषयमा समेत सुझाव आएका थिए। सचिव बाँस्कोटाले यि समस्याको दीर्घकालीन रुपमै समाधान गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिइसकिएको जानकारी दिए।
-->
सरकारी क्षेत्रमा हुने अनियमितता, ढिलासुस्ती हटाउन र जनताका गुनासोलाई तत्काल समाधान गर्न भन्दै प्रधानमन्त्री भट्टराईले गत मंसिरदेखि 'हेलो सरकार' सेवा सुरु गरेका थिए। सुरु सुरुमा प्रधानमन्त्री आफैंले चासो लिएर त्यहाँका उजुरी तत्काल समाधान गर्न निर्देशन दिने भए पनि आजकल त्यहाँका उजुरी प्रधानमन्त्रीसम्म पुग्न छाडेको छ।
![]() |