परदेशीको डायरी
















केतुस खतिवडा


नयाँवर्ष २०१३ पहिलो सप्ताहन्तमा म बाल्यकालको साथी राजकुमारलाई भेट्न अमेरिकाको उत्तर भर्मोन्टको ब्याटलबोरो सहर गएको थिएँ । बेलुकी खाना खाइसकेपछि उसले मलाई आफ्नो डायरी पढ्न दियो । मैले भेटेको उसको एक दिनको दैनिकी यस्तो रहेछ :

फेब्रुवरी १२, २०१२



-->

आज निकै चिसो छ । मानिस जमेर मूर्ति नै बन्ला जस्तो । म बाहिर जान ढोका खोल्छु । एक भंगालो चिसो बाढी बनी भित्र पसेर न्यानो खोज्दै घुसि्रन खोज्छ । म हत्त न पत्त ढोका लाएर बाहिर निस्कन्छु । अनुहार खुल्लै देखेर होला, चिसोले नराम्ररी आक्रमण गर्छ म छाडो छल्न ज्याकेटको टोपी मिलाउँछु । चिसोले थाहा पाएछ क्यारे, मैले टाउजर नलाएको, त्यसैले ठिही जिन्सको पेन्ट छेडेर तिघ्रा र पिंडुलामा घोच्न थाल्छ सिस्नोले पोले जस्तै ।

बाटोमा हिउँ जमेर सिसाजस्तै भएको छ । म होसियार भएर नलड्ने कोसिस गर्छु । बल्ल बल्ल म गाडीको ढोकामा पुग्छु, गाडिमाथि आइसको बाक्लै लेप लागेको रहेछ, ढोका खुल्नै मानिरहेको छैन । जोडले तानेर ढोका खोलेर भित्र पस्छु र कक्रिदै सीटमा बस्छु । बर्षाको पानीले भिजेर ढाडिएको दाउरा नबले जस्तो गाडी पनि घ्यार्र-घ्यार्र मात्र गर्छ ।

निकैबेरको प्रयासपछि गाडी त स्टार्ट भयो । तर, अगाडि सिसामा झन् बाक्लो पानीको सिसा । करिब दश मिनेट फुल हिट चलाएपछि बल्ल सिसा केही तातेको जस्तो भयो । आफूलाई पनि यतिबेलासम्ममा केही राहत मिलेको अनुभव भइसकेको थियो । अनि बाहिर गएर पानीको सिसालाई टुक्रा टुक्रा पारेर फालिदिएँ ।

राति ढीला गरेर कामबाट फर्के पनि बिहान ढिलासम्म सुत्न मलाई मन पर्दैन । मनै पर्दैन भन्नुभन्दा पनि ढिलासम्म सुत्ने परिस्थिति नै मिलेको छैन । बिहान साढे सात बजे छोरोलाई स्कूल छाड्न उठेपछि फेरि फर्केर सुत्न मन लाग्दैन । बिहानको सयम मलाई सिर्जनशील लाग्छ, त्यसैले म अरु केही नगरे पनि सुतेर समय नष्ट गर्न चाहन्न । छोरोलाई स्कूल छाडेर अरु दिन जसरी नै म त्यतैबाट जीमतिर हानिन्छु ।

मुटु कमाउने चिसो हावाबाट जोगिन ज्याकेटको टोपी लगाउँदै हान्न आएको गोरुजस्तो टाउको निहुराएर अगाडि केही नहेरी एकैचोटि जीमखानाको ढोकामा पुगें । ढोका खोल्ने बित्तिकैको तातो हावाको स्पर्सले मैले तुरुन्तै न्यानो अनुभव गरिहालें ।

हिजो धेरैपछि नेपाली समाचार अनलाइनमा पढे, त्यो पनि हेडलाइनहरुमात्र । विदेशमा बसेर पनि राम्रो समाचार सुन्न कहिले पनि पाइएन । धेरै दुख लाग्यो । मन वर्षाको दिनलाई कालो मैलो बादल मडारिएर दिउँसै अँध्यारो बनाएजस्तै अँधेरिएर आयो । दिनभर मैले आफनो वरिपरि केही देखिँन जताततै शुन्यता मात्र देखें, जतात्यतै भयावह अत्यासै अत्यास मात्र देखें ।

आज पनि मलाई कताकता न्यास्रो लागिरहेको थियो, बिहानैदेखि । म मेरो मातृभूमि नेपाल फले फुलेको हेर्न र सुन्न मात्र चाहन्थें र चाहन्छु पनि । दुखको कुरा, मेरो त्यो सपना कहिल्यै पूरा भएन । मेरो मातृभूमि बारे म न कसैले नराम्रो कुरा गरेको सहन सक्छु, न देख्न नै । नेपालमा हुँदा पनि जहिले पनि म यही चिन्तामा डुबिरहेको हुन्थें, आफुले केही गर्न नसके पनि । सान्ति र सुशासनको अनुभव गर्न नेपालीको पुर्पूरोमा लेखेको रहेनछ जस्तो लाग्छ । म कुनै पनि नेपाली समाचार सुन्दिँन र पढ्दिन जसरी म ज्योतिषीको मा चिना या हात हेराउँदिन । ज्योतिषिकोमा गयो भने कि राम्रो भन्छ कि नराम्रो । राम्रो भने त केही छैन नराम्रो भनिदियो भने बन्न लागेका राम्रा कामहरु पनि चिन्ताले बिग्रने डर । नेपाली समाचार पनि त्यस्तै लाग्छ, राम्रो समाचार भए त ठिकै होला, नराम्रो रहेछ भने मन मात्रै दुख्छ । अनि त्यो दिनभर मूढ अफ । हुन त मेरो कुनै वाद, पार्टी, जाति, समुह, सरकार, प्रतिपक्ष कुनै एकातिर झुकाव भएको भए म त्यसको हारजीत या नराम्रो राम्रोले मात्र असर गथ्र्यो होला, तर म परे शुद्ध नेपाली, सम्पूर्ण नेपालीको भलो हेर्ने न कि कुनै पार्टी, दल, जनजाती, समुह, पक्ष प्रतिपक्ष आदि इत्यादि को ।

काउन्टरमा कहिले मोटी त कहिले पातली केटी बसेकी हुन्छे, सधंैजसो म हेलो हाई नगरी हिड्दिन्थें, आज मन गहुंगो भएकोले केहि नभनी सरासर अगाडि बढे, मोटी थिई कि पातली त्यो पनि थाहा पाइँन । मेरो आजको क्रियाकलाप देखेर हो कि किन हो त्यो काउन्टरकी केटी त मलाई नै पो हेरिरहेकी रहिछे । मैले भर्याङको अन्तिम खुडि्किलोबाट तल देखें । मलाई उसको हेराइले अलिकति पनि असर गरेन, म सरासर लक रुममा गएँ । झोला लक गरेर बाहिर ट्रेड मिलहरु भएको ठाउँमा आएँ । सरसर एउटा ट्रेडमिलमा गएँ र किताब पढ्दै बिस्तारै कुदें, हैन हिंडे । म ट्रेड मिलमा पढ्ने भएकाले हिँड्ने गरेको छु ।

मेरो मन आज कितावमा या शारीरिक अभ्यास केहिमा पनि अडिन मानेन ।

मलाई भित्रभित्रै के ले हो के ले, पोरिलिरह्यो । मेरो मातृभूमि सिकिस्त बिरामी भएर मृत्यू शैयामा छट्पटिरहेको धेरै भइसकेको छ । म उसैलाई सम्झेर भित्रभित्रै जलिरहेको छु । मेरो मनभरि अज्ञात भय मडारिइरहेको छ, आँखाभरि टम्म बादल लागिरहेको छ । अहिले मैले ट्रेड मिल छाडिसकेको छु र म माथिल्लो तलामा गएर बाहिर हेर्दै मन बुझाउने कोसिस गरिरहेको छु । वरिपरि हेरें, सबै आ-आफ्नो शारीरिक अभ्यासमा ब्यस्त छन् । काला, गोरा, अमेरिकन, युरोयिन, अफि्रकन, एसियन, स्पेनिस, युवा युवती, बुढाबूढी, कसैलाई कसैको मतलव भएजस्तो लाग्दैन, आफ्नो मातृभूमिको या परिवारको ।


-->


बाहिर पार्किङ लटमा २०/२५ वटा गाडीहरु पार्किङ गरिराखेका छन् । मानिसहरु आउने र जाने पनि गरिरहेका छन् । ठाउँ ठाउँमा बिहानको कलिलो घाममा हिँउ टल्किरहेको छ । सिसाबाट छिरेको घामको तातोका आधारमा म बाहिरको चिसोको अनुमान लगाउन खोज्छु । पक्का पनि बाहिर घामले न्यानो बिछ्याइसक्यो होलाजस्तो देखिन्छ, तर छैन ।

सबैलाई चटारो छ, । कोही हतार-हतार आफ्नो गन्तव्यमा पुग्न अगाडि बढिरहेका छन् । कोही पुगिसके होलान् । एक जना मानिस रेलको ट्रयाक छेउमा हिउँ पन्छाउँदैछ । एकै छिनमा अरु ९/१० जना भेला हुन्छन्, सबैले सेफ्टी ह्याट र सेफ्टी ज्याकेट लगाएका छन् । तीमध्ये एउटाले हातको इसारा गर्दै बोलिरहेको छ, उसको हातमा एउटा फाइल पनि छ । घरि घरि उ बाहिर काम गर्ने ठाउँतिर पनि देखाइरहेको छ । त्यो पक्का पनि काम थाल्नुअघिको मिटिङ हो र हातमा फाइल बोक्ने सुपरभाइजर हो ।

म केहि अघिमात्र आफुले बाहिर अनुभव गरेको चिसो सम्झन्छु, आफैंलाई आत्मग्लानी हुन्छ । आफुलाई उनीहरुका अगाडि निरीह देख्छु । म एकछिन बाहिर बस्न सक्तिँन उनीहरु त काम गर्न थालिसके ।

लाग्छ, आफ्नेा मातृभुमि बनाउन धर्तीबासीहरुले रगत र पसीनामात्र हैन, पर्‍यो भने ज्यान पनि दिनुपर्छ । धन्य तिनीहरुलाई, जसले वर्षौं वर्ष रगत र पसीना मात्र बगाएर हैन, कतिले ज्यानकै आहुति दिएर अमेरिका बनाइदिए हाम्रा लागि ।

हामी पनि नेपाल आमा भनेर उच्च स्थान दिन्छौं । हामी सबैलाई थाहा छ “जननी जन्म भूमिश्च : स्वर्गदपि गरियसि” । तर, पनि हामी किन धर्ती माताको इज्जत र सम्मान गर्न सक्दैनौं ? किन एकै धर्तीमा बस्ने हामी आपसमा वैमनस्यता साँधेर आफू आफू नै मारकाट गरिरहन्छौं ? किन हामी अरुको कुभलोमात्र सोचिरहन्छौं ? किन हामी अरुभन्दा आफुमात्र जान्ने हुनखोज्छौं ? किन हामी अरुको खुट्टा तानेरमात्र अघि बढ्न खोज्छौं । संसार कहाँबाट कहाबाट कहाँ पुगिसक्यो, हामी कहिलेसम्म यसरी अल्झिरहने हो ?

राजनीतिलाई राज्यको मुटु, मेरुदन्ड, प्राण, जीवन जे भने पनि हुन्छ । राजनीतिज्ञहरुले जबसम्म निस्वार्थ भएर काम गर्दैनन् तबसम्म देश विकास वा सुशासनको कल्पना पनि गर्न सकिन्न । नेपाल माताले धेरै सपुतहरुलाई जन्म दिइन् र थोरै कपुतहरुलाई पनि । विभिन्न समयमा विभिन्न रुपले लिएर सपुतहरु अगाडि बढे पनि कपूतहरु पनि संगसंगै भएकाले कपुतहरुले सपुतहरुको खुट्टा काटिरहे । सपुतहरु धर्तीमाताको सेवा र धर्तीवासीलाई सुशासन दिन खोज्छन् तर कपुतहरु अझ अगाडि बढेर सपुतहरुको दोहोलो काढ्छन् । हुँदाहुँदा अब त नेपाल आमाले सपुतहरु जन्माउनै छाडेजस्तो लाग्न थालिसकेको छ । सपुत जन्माए नै पनि नेपाल आमाले आफ्नो हैन उनीहरुकै मात्र रक्षा हुने गरी कतै सुरक्षिततवरले लुकाएर राख्छिन् होला ।

अब त नेपाल आमाको हाडछाला मात्रै छ, बाँकी सबै दुष्टहरुले खाइसकें । गिद्धले सिनो लुछेझंै हाम्री धर्तीमाताको शरीर लुछिरहँदा पनि हामी चुप लागेर बसिरहेका छौँ । किनकि हामीमध्ये कोहीले उनीहरुले फालेको हड्डी चुस्न पाइरहेका छौं । अनि बाँकी हामीलाई हड्डी चुस्ने कुकुरहरुले ङ्यार्र गरेर टाढा टाढा भगाइदिन्छन् ।

बडो गजव छ, यहाँ, एउटा आउँछ, नेपाल आमा र उनका सन्तानलाई सुशासन दिन्छु । आर्थिक सामाजिक, न्यायिक, सैक्षिक सबै क्षेत्रमा विकास गर्छु, भन्छ । अनि सुरु गर्छन् उ र उसका मतियार भएर नेपाल आमा र उनका सन्तानलाई चरम यातना दिन । कानुन आफ्नै हातमा लिन्छन्, त्यसैले अपराधीलाई आफैं छुटाउँछन्, गुण्डा आफैं पाल्छन् अनि सीधासाधा जनतालाई दण्ड सजाय गर्छन् । राष्ट्रको सम्पतिको आपसमा बाँडचूड गर्छन् । भोग विलास गर्छन् । यो देखेर अरुलाई जलन हुन्छ अनि सिनोको स्याललाई जस्तो वरिपरिबाट जिस्क्याउन थाल्छन् । सकेसम्म स्यालले सिनोमा आफ्नो प्रभुत्व जमाउन खोज्छ केही लागेन भने लौ तिमेरु खाओ भनेर छाडी दिन्छ अझ सकेसम्म फेरि आफ्नो पालो पाउने सर्तमा ।

पर, कतै पाखामा अग्लो ईटाको चिम्नीबाट धुँवाको मुस्लो मडारिँदै ममाथि आकाशतिर गइरहेको छ । मैले अझ गहिरिएर त्यस धुँवाको मुस्लोभित्र हेरें । त्यहाँ मेरो मातृभूमि नेपाल धुँवाको मुस्लोभित्र निसास्सिरहेको देखें । त्यही निसास्सिरहेको मातृभूमिभन्दा अलिकति पर मैले आफुलाई देखें । अझै पनि त्यहाँभित्र कोही मानिसहरु आफ्नो अस्तित्व रक्षा गर्नको शान्ति र संविधानको बहानामा नेपाल आमाको छातीमा आगो बालिरहेका थिए । म आफु बाहिर भए पनि मातृभुमि निसास्एिको देखेर मेरो मन रोयो ।

ड्याङ्ग ! ठूलो आवाज आयो, कसैले ह्याभी वेट अग्लोबाट झारेछ । मेरो सोचाई भङ्ग भयो । म आफैँलाई अप्ठ्यारो लाग्यो, यत्रोबेर केही नदेखी केके सम्झेर टोलाएँछु । को को नयाँ नयाँ अनुहारहरु पनि आइसकेछन् । म आफैं छक्क परें । कहाँबाट आज यस्तो सोचाइ आयो । यो सब भ्रम मात्र हो, मैले यहाँबाट सम्झेर के नै हुने हो र । फेरि यो संसारमा मेरो भन्नु नै के छ र नेपाललाई आमा र धर्तीमाता भन्नेहरु त कति होलान् कति । नेपाल आमालाई हामीजस्ता परदेशीको के माया होला र ? आखिर मैले के लिएर आएको थिएँ र मरो भन्नु । म खाली आएको थिएँ, खाली जान्छु, मात्र भ्रममा मेरो भन्छु । भगवान भन्नेहरुले त केहि लगेनन् ।

साँच्चै म एक छिन भ्रममा हराएकोमा आफैंदेखि हाँसो उठ्यो । फिस्स फुका हाँसो हाँसें कसैले देखे देखेनन् त्यसको मतलव पनि गरिन अनि लागें फेरि शारीरिक अभ्यासतिर ।

बेस्टहार्टफोर्ड, अमेरिका