खाली सिटमा थ्याच्च बस्दा होशियार !
![]() |
आरक्षण सीट नराख्ने गाडी ट्राफिकको निगरानीमा
४ फागुन, काठमाडौं । सार्वजनिक बस वा टेम्पोभित्र पस्नेबित्तिकै तपाई हतार-हतार सिट खोजेर खाली देख्नेवित्तिकै थ्याच्च बस्ने गर्नुभएको छ भने होशियार ! तपाईंले खाली देखेर बसेको सिट अर्कैको पनि हुन सक्छ । टिकट काटेर बुकिङ गर्नेलाई हैन, महिला, अपांग र अशक्तलाई तपाईंले ठाउँ छोडिदिनैपर्ने हुन्छ । तपाईंले यसरी सिट छाड्नुभएन भने बसको खलासी र कण्डक्टरले तपाईंलाई उठाएर उनीहरुलाई त्यो सिटमा राख्न सक्नेछन् ।
महिला, अपांग र अशक्तका लागि आरक्षण गरिएको सिट अरुले नै कब्जा गर्ने गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले यसको कार्यान्वयनमा अभियान नै थालेको छ । ‘महिला, अपांग र अशक्तका लागि छुट्याइएको सिट खाली छ भने त बस्न पाइयो, तर बसिरहँदा त्यस्ता सम्बन्धित व्यक्ति आएमा तुरुन्तै सिट छोडिदिनुपर्छ ।’- महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पवनकुमार गिरीले भन्नुभयो-’यात्रु आफैंले यसरी सिट छाडेमा धेरै राम्रो, उसले छाडेन भने बसका कर्मचारीले नै उसलाई उठाएर सम्बन्धित यात्रुलाई त्यहाँ राख्नुपर्छ ।’ यसबारे बसका चालक र सहचालकलाई सम्झाउने काम भैरहेको गिरीले बताउनुभयो, ‘सिटमा बस्दा सिटमाथि के लेखिएको छ भनेर हेर्दा बुद्धिमानी हुनेछ ।’
फागुन १५ पछि कार्वाही
बसमा आरक्षण सिटको व्यवस्था र कार्यान्वयनका लागि ट्राफिक प्रहरीले अहिले अभियान सञ्चालन गरेको छ । शुरुमा आरक्षित सिट लेखिएको स्टिकर टाँस्ने, प्रशिक्षण गर्ने र सम्झाउने काम मात्र भएको ट्राफिक प्रहरी महाशााखाले जनाएको छ ।महाशाखाका अनुसार अभियानअन्तर्गत अहिलेसम्म एकहजारभन्दा बढी सार्वजनिक सवारीलाई आरक्षित सिट व्यवस्था गर्न आग्रह गरिएको छ । ‘तीमध्ये धेरैले लेखिसकेका छन्, अरु पनि लेख्ने क्रममा छन् ।’- प्रवक्ता गिरीले भन्नुभयो-’सबै सार्वजनिक सवारीले अनिवार्यरुपमा आरक्षण सिटको व्यवस्था गर्नुपर्छ, फागुन १५ सम्म पनि गरेनन् भने त्यस्ता सार्वजनिक सवारीमाथि कार्वाही हुन्छ ।’
गाडीको ढोकाबाट छिर्नेवित्तिकै देखिने स्थानमा ‘आरक्षित सिट’ भनेर लेख्नुपर्ने व्यवस्था छ । नियमअनुसार स्थानीय सडकमा गुड्ने सार्वजनिक ठूला बसमा ६ सिट, लामो दुरीका सवारी साधनमा २ सिट, माइक्रो बस र टेम्पोमा २ सिट महिला आरक्षण छुट्याउनुपर्छ । अपांग र अशक्तका लागि पनि यसैगरी आरक्षण सिट छुट्याउनुपर्ने व्यवस्था छ । यो व्यवस्था प्रभावकारी नभएपछि ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको हो । भारतमा भने कतिपय सार्वजनिक सवारी साधनमा ‘मान्यता प्राप्त पत्रकार सीट’ लेखेर महिला, अपाङ्ग र अशक्तहरुका अतिरिक्त पत्रकारलाई समेत आरक्षण सिट छुट्याउने गरिएको पाइन्छ ।
![]() |