कतारमा ३० प्रतिशत कम्पनीद्वारा मापदण्ड उल्लंघन
![]() |
दोहा, फाल्गुन ४ - कतारी श्रम मन्त्रालय मताहतको निरीक्षण विभागले यहाँ कार्यरत ३० प्रतिशत कम्पनीले कामदार सुरक्षा मापदण्ड उल्लंघन गर्दै काम गरिरहेको तथ्य सार्वजनिक गरेको छ ।
सन् २०१२ मा ४६ हजार ६ सय २४ साइड (कम्पनी, कार्यस्थल र कामदारको बासस्थल) अनुगमन गरेपछि विभागले यो नतिजा सार्वजनिक गरेको हो । 'हाम्रो अनुगमनले कतारमा कार्यरत झन्डै ३० प्रतिशत कम्पनीले सुरक्षा मापदण्डविपरीत काम गरिरहेको छ,' निरीक्षण विभागका निर्देशक खालिद अब्दुल्ला अल घनिमले स्थानीय अरबिक दैनिकलाई भनेका छन्, 'सबै पक्षबाट हेर्दा भने विभाग सन्तोषजनक छ ।' ३ सय ७७ कम्पनीलाई उल्लंघन गरेको रिपोर्ट जारी गरिएको उनले जनाए । जसमा २ सय ३१ ले स्वास्थ्य, सुरक्षासम्बन्धी र एक सय ४६ ले प्रशासनिक मापदण्ड विपरीत काम गरेका छन् ।
विभागले अघिल्लो वर्षमा ७ हजार ३ सय ३७ कम्पनीलाई चेतावनी दिएको थियो । जसमा ५ हजार २ सय ४५ लाई स्वास्थ्य तथा सुरक्षा र २ हजार ९२ वटालाई काम गराइएको सवालमा चेतावनी दिएको थियो ।
विभागले विशेषगरी कामदारले कम्पनीविरुद्ध गरेका उजुरीका आधारमा र आफैं क्षेत्रमा पुगेर अनुगमन गर्छ । '९० प्रतिशत उजुरी कामसँग सम्बन्धित छन् । जसमा समयमै तलब नदिने जस्ता छन्,' गल्फ टाइम्स दैनिकको समाचारमा छ ।
विभागबाट खटिएका श्रम निरीक्षकले कम्पनीसँग गरिएको रोजगार करारपत्रअनुसार तलब दिए/नदिएको विषयमा कामदार र रोजगारदातासँग दोहोरो बुझ्ने कामसमेत भएको छ ।
सुरक्षा मापदण्डअनुसार कामदारका बासस्थान सफा हुनुपर्ने, ग्यासपाइप ढाक्नुपर्ने र भान्सा बाहिर राख्नुपर्ने, भान्साका सरसामानबाट भरिभराउ हुनुपर्ने, शौचालय सफा हुनुपर्ने र कोठा हावा र प्रकाश छिर्ने हुनुपर्ने छ ।
निर्देशक खालिदका अनुसार कामदारलाई १ सय ६० वर्गफिटको कोठामा चार जनाभन्दा बढी कामदार राख्न पाइँदैन । केही कम्पनीलाई कालोसूची र काम गर्न निषेध गरिएको उनले बताए ।
उनले कार्यस्थलमा हुने खतरालाई न्यूनीकरण गर्न 'सचेतना अभियान' चलाउने जानकारी दिए ।
![]() |