सौगातको कोठामा चकलेट र बुके राख्ने गर्थें
|
मधु शाही
मलाई अझै याद छ त्यो दिन । नाटक सिक्न भनेर सौगात (मल्ल) पुरानो बानेश्वरस्थित एम आर्टमा आएको थियो । गहुँगोरो वर्णको, सोझो अनुहारको उसलाई मैले पहिलो पटक त्यहीं देखेकी हुँ । उसलाई देख्नेबित्तिकै कताकता डर र नर्भसनेस महसुस भएको थियो । केटाहरूसँग स्कुले जीवनमा जहिले पनि झगडा गर्ने बानी भएकी ममा सौगातलाई देखेर खै किन मित्रताको भावना पलायो, अहिलेसम्म बुझ्न सकेकी छैन ।
२०५६ सालको कुरा हो । बालकृष्ण समको 'सोरठी' नाटकमा सौगात र मैले पहिलो पटक स्टेज सेयर गर्ने अवसर पायौं । हेर्दा पत्यार नलाग्ने मान्छेको अभिनय देखेपछि म उसबाट अझ प्रभावित भएँ । अभिनयप्रतिको उसको क्षमता त्यस बेलादेखि नै अद््भुत थियो । तीन महिनादेखि नाटकको अभ्यासमा लागेकी मैले बेस्ट एक्टर अवार्ड पनि पाइसकेकी थिएँ । सिक्न आएको सौगातको अभिनय देखेर मेरो काममा अझै चुनाैती थपिएको महसुस भयो । यसबाट मलाई अभिनय निखार्ने प्रेरणा मिल्यो ।
सौगात सुरुदेखि नै कम बोल्ने स्वभावको हो । मचाहिँ निकै चुलबुले छु । मायाले व्यवहारको तालमेल पनि नहेर्दो रहेछ । मैले यस्तो खाउ“m, उस्तो गरौं जे भने पनि नाइँ नभन्ने उसको बानीले मलाई अझ ऊनजिक पुर्यायो । लाग्थ्यो, हामी नै एकअर्काको मन बुझ््ने साथी हौं । ऊ पनि हरेक काममा मलाई खोज्ने हुन थाल्यो । एकअर्काका परिपूरक हन थाल्यौं हामी ।
अभिनयमै दिन बित्दै गए । २०५९ सालमा सुनील -पोखरेल) दाइले गुरुकुल स्कुलको सुरुवात गर्ने भएपछि हामीलाई त्यहाँ पढ््ने प्रस्ताव आयो । त्यसको लागि होस्टलमै बस्नुपर्ने भयो । तर, यसमा सौगात पटक्कै सहमत भएन । 'तिमी नपढ्ने भए म पनि पढदनँ' ... उसलाई होस्टल बस्न मनाउन मैले यही वाक्य बोलेकी थिएँ । अन्ततः उसलाई हुन्छ भन्ने बनाएँ ।
होस्टल बसेपछि काम पनि भाग लाग्यो । तर सौगातलाई त्यस्तो काममा वास्तै नहुने । खाना पकाउन त परै जाओस्, किनमेलमा पनि ध्यान दिँदैनथ्यो । मेरो ध्यानमा भने सधैं ऊ नै हुन्थ्यो । उसलाई कस्तो रंगको कपडा लगाउँदा सुहाउँछ, के खान मन पर्छ, के गर्दा खुसी हुन्छ ... हरेक पल म यस्तै कुरा सोच्थें । ऊ पनि मेरो निकै विश्वास गथ्र्यो । जे काममा पनि 'सरिता' भन्दै पुकार्ने उसको बानी थियो । हामीले कहिल्यै 'आई लभ यू' भनेर प्रेम प्रस्ताव राखेनौं । सधैं सँगै काममा व्यस्त भएर पनि होला, यी शब्द उच्चारण गर्न भ्याएनौं पनि होला ।
तर, एकअर्काबिना एकैछिन बस्नुपर्दा तरकारीमा नुन नभएजस्तै कताकता खल्लो महसुस हुन्थ्यो, दुवैलाई । माया भनेकै यही होला ।
सौगात चकलेट खान निकै मन पराउँछ । यो उसको पहिलादेखिको बानी हो । हामी गुरुकुल होस्टलमा बस्दा म प्रत्येक वर्ष भ्यालेन्टाइन डेमा चकलेट र बुके किनेर उसको कोठमा राखिदिन्थें । तर, ऊचाहिँ मासु किनेर ल्याउँथ्यो । मासु उसको बेस्ट परिकार, साग पकायो भने ऊ भागै बस्दैनथ्यो ।
प्रेम प्रसंगका नाटकमा खेल्दा म उसलाई मौका पारेर मञ्चमै आँखा झिम्काउने, चिमोट्ने गर्थें । मायाको भाव बुझ््ला भन्यो, ऊ त 'मेरो अभिनय बिगार्न यसो गरेको ?' भन्दै गाली गर्न थाल्थ्यो । उसको यस्तै गालीमा माया भेट्थें म ।
'आरुको फूल' नाटकमा ऊ र म प्रेमीप्रेमिकाको भूमिकामा थियौं । त्यो नाटककी 'मैजु' पात्र म आफैं हुँ कि जस्तो लाग्छ । देशनिकाला गरिएको प्रेमी कहिले आउला भनेर सपना सजाएकी 'मैजु' को प्रेमकथा अपुरै र अधुरै रहन्छ । त्यस्तै मेरो प्रेमकथा पनि अधुरो नै रह्यो । हरेक युवतीको चाहना हुन्छ, उसको प्रेमी नै उसको जीवनसाथी बनोस् ।
कुनै बेला मैले पनि वास्तविक जीवनमै सौगातकी बेहुली बन्ने सपना सजाएकी थिएँ । तर त्यो सपना अझसम्म सपनामै सीमित छ । ऊ आफ्नो परिवारलाई खुसी देख्न चाहन्छ । मलाई बिहे गर्दा त्यो खुसी रहँदैन रे । म उसलाई खुसी देख्न चाहन्छु । उसको खुसीको लागि मैले आपmनो सपना नै बिर्सन बाध्य भएकी छु ।
बिहेबारे एक/दुईपटक उसको विचार बुझ्न खोजेकी थिएँ । 'त्यसबारे कुरै नगर,' सौगातले खाली यति मात्रै भन्यो । कम बोल्ने उसको यो वाक्यले मलाई फेरि त्यही कुरा सोध्ने बाटो छेकिदिएको छ ।
प्रेम भन्ने कुरा प्राप्ति मात्रै होइन, त्याग पनि रहेछ । यसको अर्थ सौगातलाई म माया नै गर्दिनँ भन्ने होइन । त्यस बेला सपना सहितको माया थियो, अहिले मात्रै सद्भाव र शुभेच्छाको माया । उसको प्रगतिमा म सधंै हराउँछु । कसैको खुसी देख्नु पनि त माया हो नि । जति ठूलो गल्ती गरे पनि माया गर्ने व्यक्तिप्रति कहिल्यै घृणा, रिस, नकारात्मक सोच नआउँदो रहेछ । सौगातको मामिलामा मलाई यस्तै हुन्छ ।
|




