संसारका एकअर्ब मानिस सडकमा (फोटो फिचर र भिडियोसहित)


महिला हिंसाको विरोध र 'भ्यालेन्टाइन डे' एक साथ


३ फागुन, काठमाडौं । भ्यालेन्टाइन डे भन्दै केही युवायुवती होटेल, रेष्टुरेन्ट, उपहार पसल र पार्कमा ‘मस्ती’ गरिरहँदा संसारभर छुट्टै सन्देशमूलक कार्यक्रम भएको छ । महिलामाथिका सबै प्रकारका हिंसा अन्त्यको माग गर्दै अधिकारकर्मीसहित युवायुवतीले प्रदर्शन गरेका हुन् । महिला हिंसा अन्त्यका लागि शुरु गरिएको ‘वन बिलियिन राइजिङ क्याम्पियन’ अर्थात उर्लंदो सय करोड अभियानअन्तर्गत नेपालसहित विश्वभर विशेष प्रदर्शन भएको हो । संसारका सबै देशमा भएको यो अभियानमा एकसय करोड अर्थात एक अर्ब मानिस सडकमा उत्रिएका छन् ।
काठमाडौंमा आकर्षक कार्यक्रम
महिला हिंसा अन्त्यको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा भएको धर्नाको ५० औं दिन, उर्लंदो सय करोड अभियान र भ्यालेन्टाइन डेको समेत सन्दर्भ पारेर काठमाडौंमा विशेष कार्यक्रम भएको छ । बिहीबार बालुवाटारमा अघिल्ला ४९ दिनमा जस्तै बिहान ९ बजेदेखि ११ बजेसम्म महिला अधिकारकर्मीहरुको अगुवाइमा धर्ना कार्यक्रम भयो । धर्नामा ५ जना महिलाहरुको विशेष प्रस्तुति थियो । आकर्षक र कलात्मक शैलीमा उनीहरु एकघण्टा मूर्ति जस्तै खडा भए । त्यसपछि उनीहरुकै अगुवाईमा विशाल र्‍याली रत्नपार्कतिर अगाडि बढ्यो । ‘हामी मूर्ति मात्र भएर बस्दैनौं भन्ने सन्देश दिन उनीहरुकै अगुवाईमा र्याली भएको हो’ ‘अकुपाई बालुवाटार अभियान’की विदुषी ढुंगेलले अनलाइनखबरसँग भन्नुभयो ।
बालुवाटारबाट रत्नापार्कसम्मको विशाल र्यालीमा अधिकारकर्मीसहित युवायुवतीको ठूलो उपस्थिति थियो । आफूसरहका अरु भ्यालेन्टाइन डे मनाउन व्यस्त हुँदा यी युवायुवतीले यसैलाई भ्यालेन्टाइन डेका रुपमा लिए । ‘परिवारमा आमा, दिदीबहिनी, श्रीमती अर्थात प्रेमिका जसलाई माया गर्नुहुन्छ, उसको मान र इज्जत गर्न सिक्नुहोस् भन्ने सन्देश दिन र्‍याली गरिएको हो’-अभियानकर्ता ढुंगेलले भन्नुभयो ।
र्‍यालीमा पुरुषहरुको पनि उत्तिकै सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले महिला हिंसाको अन्त्यको मागसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए । भो, अब अति भो, हिंसा अन्त्य गरौं भन्ने नारा घन्किएको थियो । विहीबार यस्तै अभियान नेपालसहित विश्वका एकसय ५० भन्दा बढी देशमा आयोजना गरिएको छ ।
भिडियो