सेक्सका लागि मात्र विवाह गर्न चाहन्नँ



नेपालमा चकलेटी नायक भन्नेबित्तिकै पहिलो नम्बरमा आर्यन सिग्देलको नाम आउँछ। धेरैजसो प्रेमकथामा आधारित चलचित्रमा देखिने आर्यन एकलकाँटे स्वभावका मानिन्छन्। राम्रो अभिनय गरे पनि ८ वर्षमा उनले जम्मा १६ वटा  चलचित्रमा मात्र काम गरें। काठमाडौंमै घर भएर पनि उनी डेरा लिएर एक्लै बस्छन्। आर्यनका साथी-भाइ पनि कम छन्। गफ गरेर जीवन बिताउनेहरूको बाहुल्य भएको यो नगरीमा उनी भने गफ गर्नै अप्ठयारो मान्छन्। भ्यालेन्टाइन डेमा  पनि उनी कुनै युवतीका साथ देखिएनन्। उनका बारेमा गसिप पनि धेरै कम सुनिन्छन्। एकान्त टापुजस्तै जीवन बाँचिरहेका आर्यनसँग नयाँ कुरा ल्याउन सकिन्छ कि भनेर घुमाइ-फिराइ कुरा गर्न चाहे पनि त्यो प्रयास समुद्र मन्थन गरेर  अमृत निकाल्नुजत्तिकै गाह्रो थियो। 

बाहिर तपाईंजस्ता युवाहरू प्रेमिका लिएर घुमिरहेका छन्, तपाईं भने घरमा एक्लै ?

प्रेमिका नभएपछि कसलाई घुमाउनु ? म त आफूले आफैंलाई घुमाउन व्यस्त छु। 

कसरी ?

साँझ भएपछि गाडी निकाल्छु र सहर घुम्छु। कहिले पाटनको कृष्ण मन्दिरमा चुरोट तान्दै योगनरेन्द्र मल्लको मूर्ति हेरेर समय काट्छु। कहिले कुनै रेस्टुराँमा घन्टौं घोत्लिन्छु। कहिले मोबाइलमा गेम खेलेर बस्छु। 

आकर्षक युवतीलाई छेउमा राखेर हिँड्नुपर्ने बेलामा तपाईं त केटाकेटी खेल पो खेल्नुहुँदो रहेछ ?

मलाई पनि त्यसरी घुम्ने रहर नभएको त कहाँ हो र ? भएन, के गर्नु ?

तपाईं जस्तो आकर्षक युवकसँग घुम्न चाहने युवती धेरै छन्। तपाईंले नचाहनुभएको हो कि ? 

म युवती घुमाउन चाहन्नँ, प्रेमिका घुमाउन चाहन्छु। मैले यो भ्यालेन्टाइनमा पनि प्रेमिका भेटिन। 

प्रयास नगर्नुभएको हो कि ?

मनले खानुपर्‍यो नि। खै के मिल्दैन, के मिल्दैन? 

अलि बढी अपेक्षा राख्नुभएको हो कि ?

होइन, खोजेको त सीधा-साधा नै हो...

अहिलेको जमानामा सीधा-साधा खोजेर हुन्छ त ?

साँच्चै भन्ने हो भने म आफैंलाई मलाई कस्ता युवती मन पर्छन् भन्ने पनि थाहा छैन। 

आँखा चिम्लेर चिन्तन गर्नुभएको छैन ?

एकपटक प्रयास गरेको थिएँ। प्रेम पनि भयो तर ब्रेक भयो। त्यसपछि चलचित्र क्षेत्रमा यति व्यस्त भइयो कि प्रेमिका नै पाइएन। 

तपाईंका नाममा मर्नेहरू दर्जनौं छन् भन्ने त धेरैलाई थाहा छ नि।

होइन, फ्यान धेरै हुनुहुन्छ। अब फ्यान र अरूमा त फरक गर्नुपर्‍यो नि। फ्यानलाई म भगवान मान्छु। 

अनि भगवान्ले केही इच्छा गरे नपुर्‍याउनु त ?

तपाईं घुमिफिरी त्यही ठाउँमा आइपुग्नु हुन्छ। कसरी फुत्कनु तपाईंसँग खै? 

केटीजस्तो लजाउनु हुन्छ यार तपाईं त ?

तपाईं लेख्ने म्याटर खोज्नुहुन्छ। मसँग केही छैन, के दिनु ?

ल तपाईंको पहिलो प्रेमका बारेमा भन्नुस् न त ?

त्यो त तपाईंले लेखिसक्नुभयो नि पोहोर। 

मैले बिर्सिसकें, तपाईंले सम्झाइदिनुपर्‍यो।

उनको विवाह भैसक्यो। ह्याप्पी लाइफ छ, उनको, किन पछि लाग्नुहुन्छ ? 

ह्याप्पी लाइफ छ भनेर कसरी थाहा पाउनुभयो ?

थाहा भैहाल्छ नि। आखिर फस्ट लभ हो यार। कसरी बिर्सन सकिन्छ र ?

त्यसो भए भन्नुस् न त।

एकपटक अचानक एउटी युवतीसँग प्रेम हुन पुग्यो। उनीसँग चार वर्ष मित्रता भयो। म त विवाह गर्ने योजना बुन्दै थिएँ, उनले भने अचानक सरी म तिमीसँग प्रेम गर्न सक्दिनँ भनिदिइन। अनि अर्को महिना अर्कै केटासँग विवाह गरेर गइन्।  म त छक्क परें। त्यसपछि प्रेम भन्ने कुरा नै हुँदो रहेनछ कि क्या हो भन्ने लाग्न थालेको छ। 

त्यही प्रेमको पीडाले अहिलेसम्म नयाँ प्रेमिका नबनाउनुभएको हो ?

होइन, अब म सेलिब्रेटी भएँ। को मान्छे कस्तो भन्ने बुझ्न डेटिङ त जानुपर्छ। डेडिङ जानेबित्तिकै विचरीको नाम मसँग जोडिन्छ। भोलि मलाई मन नपर्ला रे, अनि उसको जीवन बिगि्रएन? 

एक्लै हुनुहुन्छ, आफ्नै डेरामा लगे भैगो नि ?

छरछिमेकलाई यहाँ आर्यन बस्छ भन्ने थाहा छ। सेलिब्रेटीको त्यसै त हल्ला हुन्छ भने कोठामै ल्यायो भने के होला ?

आखिर शरीरको आवश्यकता पनि एउटा कुरा हो नि, होइन र ?

त्यसका लागि कुनै न कुनै उपाय भैहाल्छ नि। 

मतलब ?

लौ अब फसें। कुरा के भने जहाँ इच्छा त्यहाँ उपाय। भोक लागेपछि खाना त कतै न कतै जुरिहाल्छ नि। 

मलाई एउटा कुरा नढाँटी भनिदिनुस् न...

मैले कुनै कुरा ढाँटेकै छैन। मलाई झूटो बोल्न आउँदैन। यत्रोबेर कुरा भयो, झूटो बोलेजस्तो लाग्यो र ?

तपाईंले कति नै बोल्नुभयो र ?

जति बोले, साँचो बोलेको छु। मलाई गफ दिन आउँदैन। पत्रकारहरूका लागि म रङ नम्बर हुँ। 

प्रेममा हुने सेक्स र शरीरका लागि हुने सेक्समा कति फरक छ ?

प्रेममा सेक्स लभमेकिङ हुन्छ। त्यसले प्रेम बढाउँछ। शरीरका लागि भएको सेक्स भोक लागेका बेला जसोतसो पेट भर्ने कुराजस्तै हो। त्यसको खासै महत्व हुँदैन।



यसरी एक्लै बस्दा दिक्क लाग्दैन ?

म सानैदेखि यस्तै हो, एक्लै रमाउने। किन यस्तो भएँ थाहा भएनतर मलाई एक्लो जीवन मनपर्छ। 

खाना कसले पकाइदिन्छ ?

म आफैं पकाउँछु। मलाई आफूले पकाएको खाना मीठो लाग्छ। 

साथी चाहिँदैन ?

खाने बेलामा चाहिन्छ। मुड आएका बेला दाल-भात, तरकारी, अचार, मासु सबै बनाउँछु। खाने बेलामा एक्लै...। अनि यसो फोन गर्छु र कुनै भाइ वा साथीलाई बोलाउँछु। कतिबेला कस्तो हुन्छ भने बोलाएको मान्छेले खाइसकेको हुन्छ।  खाइसके पनि आऊ, तिमीलाई मनपर्ने परिकार बनाएको छु भनेर ढाँटेर भए पनि बोलाउँछु। त्यस्तो बेलामा चाँहि दिक्क लाग्छ। 

त्यसो भए खाना पकाउन भए पनि एउटी साथी चाहियो नि ?

मलाई खाना पकाउन अल्छी लाग्दैन। केटी साथी त सेक्सका बेला मात्र चाहिन्छ। 

सेक्सका लागि मात्र ?

म सेक्सको क्रेजी होइन। म आफ्नो कामबाहेक अर्थोक सोच्दिनँ। कुनै बेला केटी साथीहरूसँग भेट हुँदा सेक्स वाइप्राडक्ट भएर आइदिन्छ। मेरो आशय बुझ्नुभएन भने म फेरि बुझाइदिन्छु, सेक्स मेरा लागि कहिल्यै महत्वपूर्ण भएन। यद्यपि  कुनै बेला केटी साथीहरूसँग बस्दा-घुम्दा त्यो अचानक भैदिन्छ। 

त्यसो भए विवाह नै नगर्ने त ?

म सेक्सका लागि मात्र विवाह गर्न चाहन्न। विवाह हुन प्रेम चाहिन्छ। अहिलेसम्म त्यस्ती युवती फेला पारेको छैन। 

तपाईंको जीवनको उद्देश्य ?

अभिनय गर्ने। 

कस्तो अभिनय गर्न मन लाग्छ ?

फरक-फरक। मलाई एक्सन र नेगेटिभ रोलमा काम गर्ने इच्छा छ। 

तपाईं चलचित्रमा हिरोइनसँग निकै रोमान्टिक देखिनुहुन्छ ? कारण के हो ?

त्यो त अभिनय हो। म त्यति रोमान्टिक छैन। वास्तवमा म दुःखी आत्मा हुँ।

किन र ?

हेर्नुस्, यही अभिनयका लागि घर छाडेर एक्लै बस्छु। म जुन बेलादेखि यो इन्डस्ट्रीमा आएँ, पूरै उद्योग धराशायी हुने क्रममा छ। हामीजस्ता कलाकारलाई भविष्य सम्झेर चिन्ता लाग्छ।