डिजिटल गजल आकाशमा एउटा बेग्लै पहिचान अश्मी जियम




इन्टरनेटको सहज पहुँच, त्यसैमा फेसबुक नामक सामाजिक सञ्जालको वेभसाइटका कारण अन्य समाजमा के-कस्ता फाइदा पुगेका होलान्, कुन्नी ? तर नेपाली समाजमा भने, यसका केही सिमित वेफाइदा वाहेक फाइदैफाइदा पुगेको अनुभव मलाई मात्रै होइन सबैलाई भएको होला । त्यस वाहेक गजलमा रुची राख्ने वा नराख्ने सबैले आ-आफ्ना स्क्रीनमा आएका गजलका पंक्तिहरुको लहर नदेखेका फेसबुक प्रयोगकर्ता नेपाली सायदै होलान् । यसरी सबै फेसबुक प्रयोगकर्ता नेपालीहरुले नेपाली गजलको विकाशमा फेसबुकले सबै भन्दा बढी फाइदा गजलका पारखीहरुलाई पुर्‍याएको स्वीकार्दछन् । आज भन्दा २ वर्ष मात्र पहिलेको कुरालाई फर्केर हेर्ने हो भने पनि, सिमित मानिसहरुले गजल लेख्ने गरेकोमा, दिनहुँ गजल लेख्ने गजलकारहरुको संख्यामा यसरी वृद्धि भएको एक गौरव लाग्ने कुरा हो नै । त्यसैमा, मदन पुरुष्कार गूठी र अन्य विभिन्न सफ्टवेयर बनाउने नीजि निकायहरुको योगदानको कारणले, यूनिकोड नेपाली फोन्टको सहज प्रयोग प्रदान गरीदिंदा त झन गजलकार र पाठकहरुलाई राष्ट्रभाषा नेपालीमै लेख्न र पढ्न आनन्दित तुल्याएको छ । समष्टिगत रुपमा भन्दा यूनिकोड नेपालीको आगमनले नेपाली गजलका लागि एक अदीतीय टर्निङ्ग पोइन्ट दिएको हो । त्यसैले गजलको सुनामी आएको सन २०१० उपरान्तको यो खास समयलाई "डिजिटल गजल आकाश" भन्दा बढी सान्दर्भिक होला भन्ने मेरो तर्क हो । यसै डिजिटल गजल आकाशमा थुप्रै गजलकारहरु नयाँ अनुहारहरु देखा परेका छन्, जो भोलीका लागि नेपाली साहित्यमा गहनाको रुपमा रहने विश्वास र आशा गर्न सकिने ठाउँ छ ।
यसै डिजिटल गजल आकाशमा एउटी अर्की महिला गजलकारको नाम हो अश्मी जिएम । अश्मी जिएमका गजलहरु नेपाली साहित्यमा अदितीय सम्पदाको रुपमा रहनसक्ने र उनका गजलले सिंगो महिला गजलकारहरुकाबीच एउटा वेग्लै पहिचान बनाइ सकेको मैले महशुस गरेको छु । यसमा कसैको समर्थन होला, कसैको नहोला । तर निश्पक्ष रुपमा हेर्दा उनका गजलहरु निकै गहन, समसामयिक, सामाजिक कुरितीका विरुद्धका सन्देश मूलक भावनाको वेजोड प्रतिनिधी र समाजमा आमूल परिवर्तनका परिचाएकका रुपमा देखिएका छन् ।
विसं २०४२ पौष २५ मा माता स्व. मनमाया थापा र पिता स्व. दुर्गा बहादुर थापाको कान्छी छोरीको रुपमा पर्कोट तनहूँमा जन्मिएकी अश्मीले नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्यको जिल्लाको साहित्यीक धरोहरको प्रतिनिधीत्व गरेकी छन् । तनहूँ जिल्ला नेपाली साहित्यका लागि कति गरिमामय छ र यसले नेपाली साहित्यमा कस्ताकस्ता हस्तीहरु जन्माइ सकेको छ र जन्माउँदैछ, त्यसको गणना र गुणगान गाएर यो सानो लेखमा साध्य लाग्दैन नै । यद्यपी म यति भन्न चाहन्छु धन्य छ, त्यो जिल्ला जो आगामी संघियताको कारणले यताउता परी सिमा खुम्चिने वा तन्किने हुन सक्ने वा नेपाली भूगोलबाटै बिलाउन सक्ने, जे सुकै सम्भावना भए तापनि, तत्कालिन वा पुरानो नेपालको साहित्यका लागि निकै उर्वर जिल्ला हो भन्न यहाँ बढी उपयूक्त होला । यस अर्थमा पनि कथित संघियताको सवत्र विरोध भएको हुनुपर्छ भन्ने महसुस गर्न साहित्यकार एवम् गजल अनुरागीहरुले यहाँ यसरी जरुरी छ भन्ने मेरो अर्को तर्क हो । स्वभवतः भोलीका दिनमा त्यो तनहुँ जिल्ला रहला वा नरहला, खुम्चिएला वा तन्किएला ? जे होस् अहिले सम्म गजलकार अश्मीको मातृभूमी पनि तनहूँ जिल्लामा पर्दछ, जहाँ भानुभक्तले नेपाली भाषा र साहित्यको सुगन्घ छर्न आराम्भ गरेका थिए ।
कसैले मान्ला – नमान्ला त्यो एक बेग्लै कुरा हो । तर मानिस जन्मिएको स्थान, त्यहाँको रहनसहन र हावापानीले साहित्यकारको जन्मजात प्रतिभालाई फष्टाउने र मौलाउने मौका दिन्छ । त्यसैले होला अश्मीका गजलहरुमा चोखो र शुद्ध नेपाली भाषाको प्रतिनिधित्व हुन्छ । गण्डकी अञ्चल क्षेत्रका भाषाशैली र रहनसहनको प्रभाव रहन्छ । उनको शुद्ध र सरल भाषाशैलीको प्रतिनिधी भरखरै १२ अप्रेलका दिन फेसबुकको उनको वालमा पोष्ट भएको गजलका यी लाइनहरु –
सुकेको त्यो हाँगा बसी काग करायो आज ।
अनायासै देब्रे आँखा फरफरायो आज ।
गाउँ-घर आफंतामा शंकट पो पर्यो कि त
नानाथरि कल्पनाले मन डरायो आज ।।
यस गजलमा काग गराउनु, देव्रे आँखा फरफराउनुलाई कुनै आपत वा शंकट परेको मान्ने उनको जन्मस्थान सेरोफेरोका मानिसहरुले गर्ने गरेको एक जनविश्वास हो । जो यहाँ गजलको मतालाको रुपमा आएको छ र कति सहज तरिकाले यसमा भाषाको शुद्धता र सरलता झल्किन्छ, साथै परिवेशको चित्रण । गजलकै पहिलो शेरमा, यस्तो परिस्थितीमा मानिसहरु सशंकित हुने गरेको, डराउने गरेको चिन्ता र डर व्याप्त छ । यो उनको परिवेशको सुगन्ध हो, प्रभाव हो ।
वियोगको पिडा संग पौंठे जोरी खेल्दै मैले
सम्हालेको मुटु फेरी चरचरायो आज ।
यो उनको त्यही गजलको दोश्रो शेर हो, जसमा उनले १५ महिनाको शिशु अवस्थामा गुमाएकी आमाको मृत्यूको वेदना हुनसक्छ वा उनका पिताले एउटा आदर्श पुरुषको रुपमा उनका तीन दिदीबहिनीको पालन पोषणका लागि उठाएको दुःखकष्ट सम्झेर कुंदेका ती हरफहरु होलान्, जो त्यही काग कराएको र आँखा फरफराएको परिवेसलाई सम्झेर उनको मुटू चरचराएको उनको बाल्यकालका यादमा लगेर उनको वर्तमानलाई समाहित गरेको अनुभूती दिन्छ । त्यसै गजलका उनका थप शेरहरुमा विदेशिन वाध्य बनाउने समय र गाउँको सन्देश वा चिठ्ठी नपाएकोले निशास्सिदै बस्नु परेको उनको हालको व्यथा लुकेको देखिन्छ । यसरी उनका गजलमा देखिने भाषिक सहजता र परिवेशको सहज चित्रण लुकेको पाइन्छ । अब यहाँ उनको आफ्नो निजी भोगाई मात्र नभएर यस्ता व्यथा भोग्ने आम नेपाली जो आज त्यस्तै त्यस्तै परिस्थिती र कारणले त्यसरी निशास्सिन विवस छन् । उनीहरुको मन परि चरचराउने अनुराग छरेको छ यस गजलले । जे होस, यो गजल आम नेपालीको स्वदेश र विदेशमा भोगेका भोगाइहरुको प्रतिनिधि गजल हो ।
विविध विषयवस्तु कोर्न, सशक्त रुपमा कम्प्यूटरको बोर्डमा फरफडाउने उनका औलाहरु अप्रेल ९ मा उनका पिताको यादमा यी भावनाहरुलाई डिजिटल रुप दिन्छन्, यसरीः
बाबा मेरो भगवान हो हजुर ।
मान अनि पहिचान हो हजुर ।
सहि मार्ग देखाउदै हुर्काउने
पुज्य पिता स्वाभिमान हो हजुर ।
एउटा अर्को गजलमा उनी कुनै चाहेको प्रेमीले समयमा वेवास्ता गरी, मन दुखाएको र पुनः कुनै अर्कैका साथ जीवन विताउने परिस्थितीमा पुगेको बेला उनको प्रेमी देखापरेको असहज परिस्थितीको एउटी महिलाको अभिव्यक्ति दिएकी छन्, यसरीः
आँखा भरि खुशियाली छाए पछी आयौ तिमि ।
जिन्दगीले सहयात्री पाए पछी आयौ तिमि ।
... सर्वस्व नै सुम्पी दिंदा लात्ताएर गए पछी
बाध्य हुँदै अन्तै मायाँ लाए पछी आयौ तिमि ।
वेसाहारा हुँदा खेरि समाएर उस्ले हात
नछुट्टिने बाचा-कसम् खाए पछी आयौ तिमि ।
जमाएर मन्मा डेरा आफ्नै बस्मा पारि-वरी
अरुले नै मेरो मन दाए पछी आयौ तिमि ।
यहाँ वाचा कसम खाने र अर्काले हात समाउने कुराका अतिरिक्त एउटा ठेट गाउँले शब्दांश छ, "दाए पछि" । जो शहरमा जन्मेहुर्केका नेपालीले सायदै बुझ्लान् । दाउनु अथवा दाए भनेको गोर वा मानिसले धान वा गहूँको दाइँ हालेर अन्न प्रशोधन गर्ने किसानको तरिका हो । जो किसानका तीनचार वर्ष उमेरका केटाकेटीहरुलाई यदि कसैले तिम्रा बुवाआमा खै भनेर सोधेको खण्डमा "ऊ.... पर दाइँ हालेको ठाउँमा अथवा गहुँ दाएको ठाउँमा" भनेर उत्तर दिन सक्ने बोलीभाषाका रुपमा आउने शब्द हो । तर शहरकाले यसलाई बुझ्न त्यसतो परिस्थिती कहाँ देख्नु, भन्नु र बुझ्नु ? सो दाए पछि शब्दले एउटी महिला जो आफ्नो इच्छा विना कुनै पुरुषले मन र शरिर त्यसरी गोरुको खूरले किचेको झैं गरेको भनेर एउटी विवस महिलाको अनिच्छा प्रकट गर्दछ । यस भित्र कतै अव्यक्त रूपमा त्यस गजलीय पात्र महिलाको शोषित र पिडित यैान दमन र पुरूषको श्रृंगारिकताको साधन भएको प्रशंग पनि लुकेको मान्न सकिन्छ । यो उनका गजलमा देखिने क्रान्तिकारिताको सूचक पनि हो ।
यसरी उनका गजलहरुमा आर्दश देखिन्छ । सालिनता देखिन्छ । सभ्यता देखिन्छ र एउटा फरक खालका गहनता देखिन्छ । उनका यस्ता कैयौं गजलहरु छन् जसमा उनले नारी भएर नारीका विकृतीहरुको परिस्थिती देखेर दुःखेको मनको भावना पाखेकी छन् । एकपटक त उनले इजरायलमा बस्ने कतिपय महिलाहरुको कुरा र कुनै गाउँको चिनेको दाइको कुरालाई गजलका कथावस्तु बनाएर लेखेकि थिन् । त्यसमा उनलाई फेसबुककै गजलका पारखीहरुले उनलाई विरोधाभासको घेरामा तानेको यो पंतिकारले देखेको छ । त्यस पछि मैले उनले लेखेको त्यो कुन गजल थियो जसमा मानिसहरुले उनलाई त्यसरी आलोचनाको घेरामा ताने भनेर सन्देश पठाएर त्यो गजल मगाएको छु । उनको त्यस गजलमा इजरायमा बसेकी केही महिलाको खराब चरित्रको बयान जे देखेको हो, त्यो लेखेको उनको भनाई रहेको थियो । उक्त गजलमा वास्तवमा कुनै व्यक्ति विशेषलाई इंगित नगरी, एउटा भै रहेको परिस्थितीको वर्णन छ, जो उनको त्यस गजलमा मात्र होइन, अन्यत्र पनि पटकपटक सुन्नमा आएको विषय हो ।
उनी सानै छँदा उनकी माताको देहावसान भएको र पिताले गरेको जवानीको आहुतीका बारेमा उनकै शब्दमा उनले यसरी भनेकी छन्ः - " मलाई याद छैन म १५ महिनाकी थिएँ रे, मेरी आमाको २०४४ सालमा मृत्यू भएछ र बुवा एक आदर्श व्यक्ति जसले आफ्ना ३ छोरीहरु हुर्काउनको लागि आफ्नो जवानीको आहुती दिनभयो, पुरै जीवन हाम्रै पालनपोषणमा समर्पण गर्नुभयो र २०६७ सालमा स्वर्गवास हुनुभयो ।" श्री कालिका उच्च मावि, पोखरामा पढेको र पोखरा मै हुर्केकी अश्मी हाल सम्म आफू अविवाहित रहेको र यद्यपी सघर्ष गरिरहेको वताउँछिन् ।
स्कूल पढ्दा देखि नै आफ्ना भावनाहरु लेख्ने र गजल भन्ने थाह पाएर लेख्न थालेको धेरै नभएको वताउने अश्मी गजल भनेको दुःख, पीडा, हाँसो र रोदनको समायोजन हो भन्छिन् । उनका मन पर्ने साहित्यकारमा कवि सिरोमणी लेखनाथ पौडेल र वैरागी काईला हुन भने नयाँ गजलकारहरु पोस्ट राज चापागाईं, भक्ति प्रशाद पौड्याल, लक्ष्मण मिलन बिष्ट, पूर्ण बन्धन, पवन घर्तिमगर विवस, दिर्घराज गिरि प्रियसी, मोहन रावल, साथि समिर, सजना गुरुङ, जेन तमु, निरास मैनाली, रबिन प्रतिक, खकेंद्र साउद समर्पण, राजु मुखिया, सन्तोष सिटौला, जितु खड्का, अतित लिंदेन, लक्ष्मण बान्तवा लगायत अरु पनि धेरै हुनुन्छ तर यहाँ नाम लिन सम्भब छैन । ती सबै गजलहरु उनलाई मन पर्ने वताएकी छन् । उनी साहित्य र साहित्यकारको जम्काभेट, झूत्रेजेठा नामक फेसबुकको समूहलाइ उनको गजलको सम्प्रेषण थलो मान्दै त्यस समूहका सबै सदस्यहरूमा कृतज्ञा जाहेर गर्दिछन् । उनको गजल लेखन यात्राको क्रममा उनी कताकता विवादमा परेको मैले पनि महसुस गरेको कुरालाई मध्यनजर गरी प्रशंग कोट्याउँदा उनी भन्छिन्, " श्री लेखनको सिलसिलामा भोगेका तितामिठा अनुभब मा, मेरो गाउँको एकजना दाईको कथालाई गजलको रुप दिएर झुत्रेजेठामा पोस्ट गरेको थिएँ, जस्ले त्यती लामो बिबादको रुप लियो जुन बिबादबाट मैले धेरै कुरा सिक्न पाएँ ।"
डिजिटल गजल लेखनमा जुन उनको सशक्तता छ, त्यसको बयान यो सानो लेखमा समेट्न सम्भव छैन । यसका साथै अहिले फेसबुकका वालमा थरीथरी रङ्गीविरङ्गी भावना अनुरुपमा चित्रहरु राखेर गजल लेख्ने र पोष्ट गर्ने चलन चीत्र गजलको रुपमा निकै सोभनीय देखिने गरेको छ । त्यसमा अश्मीको चीत्र छनौटको दक्षता पनि प्रशंसनीय नै छ । उनले इन्टरनेट सर्चका माध्यमबाट आफ्नो गजललाई सुहाउने चीत्र खोज्नका लागि पनि निकै समय खर्चिने गरेको अनुमान लगाउन सकिन्छ । गजलको नियमानुसार उनी प्रायः मात्रा गिरावटको शैलीमा गजल लेख्ने गजलकार हुन् । कहिलेकहीं छन्दमा गजल लेखेको पनि देखिएको छ । उनका गजल पाठ गर्न सजिला हुन्छन् भने, लय र भाव त झनै गहन र पढेपछि वाह भन्न करै लाग्ने खालमा अत्यन्त मर्मस्पर्सी हुन्छन् ।
यस डिजिटल गजल आकाशमा एक उदियमान महिला गजलकारको यो यात्राको सफलताको कामना गर्दै आज नयाँ वर्ष २०६९ वैशाष १ गतेको यस बिहानीमा डिजिटल गजलकार अश्मी जिएमको यो वर्ष गजलमय रहोस् र नेपाली साहित्यको सेवामा विदेशमा बसेर पनि उनले दिएको योगदानको सही र यथेष्ट रुपले कदर होस् भन्ने शुभकामना समेत अपर्ण गर्दछु । यसका साथै निकै धैर्य गरेर यो समिक्षा पढ्ने तपाईं जस्ता गजलका अनुरागीको नव वर्ष पनि सुखद, समृद्ध र सवल स्वास्थ्यकर रहोस् भनि ग्लोबल नेपाल न्यूज परिवार हार्दिक कामना समेत गर्दछ ।

समिक्षकः पूर्ण बन्धन, डेनमार्क