धम्क्याएर चन्दा माग्ने पक्राउ


सागर बजगाईं


काठमाडौ, आश्विन ९ - राजधानी भित्र र बाहिरका विभिन्न व्यापारी, उद्योगपति र डाक्टरलाई मुम्बई अन्डरवल्र्डको नामबाट इमेल, वेब एसएमएस गरी धम्क्याउने पक्राउ परेका छन् । वीरगन्ज, काठमाडौं र विराटनगरका विभिन्न व्यापारीलाई २५ देखि ३० लाख भारतीय रुपैयाँ १५ दिनभित्र माग गर्ने मकवानपुर हेटौंडाका सागर बजगाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बजगाइर्ंलाई गौरीघाटबाट पक्राउ गरेको हो ।
बजगाइर्ंले गएका २ महिनादेखि राजधानी र वीरगन्जका डाक्टर, बैंकमा निर्देशक तथा व्यापारीलाई इमेल, फोन र म्यासेज पठाएर धम्क्याउने गरेका थिए । 'एक महिनादेखि मुम्बई अन्डरवल्र्ड' को नामबाट इमेल पठाउँदै मोटो रकम मागेको गुनासो आयो,' ब्युरोका डीआईजी उपेन्द्रकान्त अर्यालले भने, 'धेरै व्यापारी यस्तो इमेलबाट डराएका थिए ।' अपहरण, ज्यान मार्ने धम्की दिंदै २५ देखि ३० लाख रुपैयाँ माग गर्ने गरेका थिए । उनले साइबरबाट इमेल र नेपाल टेलिकमको वेब एसएमएस -२४२४) बाट मोबाइलमा म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ ।  
प्रहरीका अनुसार बजगाईंले २/३ महिनाअघि त्रिपुरेश्वरको मेघा बैंक अघि तनहुँ घर भएका सन्तोष खनालको नागरिकता भेटेको र त्यसै नागरिकतालाई फोटोकपी
गरेर नेपाल टेलिकमको सिमकार्ड लिएका थिए ।
उनले लिएको ९८४३२६००९० नम्बर वेब एसएमएसमा राखेर म्यासेज पठाउने गरेका थिए । 'वेब एसएमएसबाट धम्क्याउँदा प्रहरीले कल ट्रयास् गरेर पत्ता लगाउने सम्भावना कम रहन्छ,' अर्यालले भने, 'प्रविधिबारे जानकारी राखेर नै धम्क्याएको पाइयो ।'
उनले इमेलमा 'मुम्बई अन्डरवल्र्ड डि कम्पनीको नेपाल प्रतिनिधिको जिम्मेवारी २ महिनादेखि आफूले सम्हालेको र कम्पनी सञ्चालनमा आर्थिक कठिनाइ परेकाले २५ हजार भारु उपलब्ध गराउन' भनेका छन् 'तपाईंको व्यापार, घर/परिवारका बारेमा एक महिनादेखि अध्ययन गरेर रकम माग गरेको हो, तपाईंका लागि त्यति रकम ठूलो होइन ।'
पैसा नदिने भए सरकारसँग सुरक्षा माग गरे हुने लगायतका धम्कीपूर्ण भाषामा उनले इमेल लेखेका छन् । नेपाल सरकारलाई समेत पैसा बुझाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । मोबाइल अफ गर्ने, नम्बर परिवर्तन गर्ने जस्ता कार्य नगर्न सचेत गराएका थिए ।
साइबरबाट इमेल र वेब एसएमएस पठाएपछि बजगाइर्ंलाई पक्राउ गर्न मुस्किल परेको थियो । १५ जनाभन्दा बढी व्यक्तिलाई इमेल आएको साइबरको आइपी ठेगाना एकै देखिएपछि तिनीहरूमाथि निगरानी बढाइएको अनुसन्धानमा संलग्न अधिकारीले बताए । ती अधिकारीका अनुसार चाबहिल चोक, गोपीकृष्ण हल, बागबजार, महाराजगन्जतिरका साइबरबाट इमेलहरू आएको देखिए ।
'शंकास्पद, कोहीसँग नबोल्ने, इमेल लेख्दा पनि डराएको वा लुकाउन खोजे जस्तो गर्ने व्यक्तिका बारेमा साइबर सञ्चालकलाई सोधेका थियौं,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'साइबरवालाले बगजाईंसँग हुलिया मिल्ने व्यक्तिको विवरण दिए ।'
साइबरमाथि निरन्तर निगरानी गरिरहेका बेला झापाका वीरेन्द्र श्रेष्ठ भन्ने व्यक्तिलाई ५ लाख रुपैयाँ चाहिने भन्दै मुम्बई अन्डरवल्र्डकै नामबाट वेब एसएमएस आयो । 'ठूलो व्यापारी पनि होइन, सामान्य २५ हजारको जागिर खाने व्यक्तिलाई ५ लाख रुपैयाँ माग्नु अलि अनौठो थियो,' ती अधिकारीले भने, 'श्रेष्ठकै छेउछाउ वा नातेदार हुनसक्ने आशंकाले अनुसन्धान गर्दै जाँदा बजगाइर्ं पनि त्यही घरमा बस्दा रहेछन् ।'
श्रेष्ठले केही समयअघि झापामा रहेको आफ्नो जग्गा बेचेको थाहा पाएपछि पैसा हुने भन्दै माग गरेको बताएका छन् । ब्युरोका प्रहरीले श्रेष्ठको घर वरपर निगरानी बढाउन थालेपछि बजगाईं साइबर पनि जान छाडेका थिए ।
उनले मोबाइल पनि प्रयोग गर्न छाडेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आपै+mले धम्क्याएको स्वीकार गरेका थिए । प्रहरीका अनुसार यिनी विदेश जाने तयारीमा रहेको र आवश्यक पर्ने पैसा अभाव भएकाले धम्क्याउँदै पैसा असुल्ने गरेका थिए ।
ब्युरोका अनुसार रौतहटबाट प्रकाशित हुने 'उदय मासिक' पत्रिकाका लागि काठमाडौं संवाददाता भएको बताउने उनले त्यसैका आधारमा बैंक र व्यवसायीसँग सम्पर्क बढाएर 'भिजिटिङ कार्ड' माग्ने गरेका थिए । यस्तै फेसबुकमा सर्च गरेर त्यहाँबाट इमेल ठेगाना लिंदै इमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।