च्यारिटीका लागि लन्डन-पेरिस साइकल यात्रा
|
लन्डन, आश्विन ७ - बेलायतवासी नेपाली युवाले एउटा गैर नाफामुलक नेपाली च्यारिटी संस्थाका लागि लन्डन-पेरिस साइकल यात्रा पार गरेका छन् ।
ग्रासरुट मुभमेन्ट इन नेपाल (जिमिन) को सहयोगार्थ ती युवाले करिब तीनसय तीस माइल दुरीको साइकल यात्रा तय गरेका हुन् । बी फेष्ट ग्रुपका तर्फबाट सिद्धार्थ गुरुङ, प्रशासन गुरुङ, शरद शाही, प्रतिक तामाङ, कविर गुरुङ, सुशान्त गुरुङ र टर्कीस् नागरिक बरण डिडले लन्डन बीग बेनबाट ११ सेप्टेम्बरमा यात्रा प्रारम्भ गरि १५ तारिख पेरिस पुगेका थिए ।
१७ सेप्टेम्बरमा लन्डन फर्किएको सो समूहले करिब दुई हजार पाउण्ड संकलन गर्यो । च्यारिटीका लागि अझै अनलाइन डोनेशन खुल्ला राखिएकाले करिब तीन हजार पाउण्ड संकलन हुने अपेक्षा संयोजक प्रतिक्षा गुरुङको छ ।
न्यूयोर्कमा स्थापित जिमिनले नेपालमा विशेषगरि ग्रामीण भेगमा शैक्षिक विकासको क्षेत्रमा सहयोग गरिरहेको छ । स्थापना भएको चार वर्ष अवधिमा सो संस्थाले दाङ र सिन्धुपाल्चोकका ११ स्कुलको मर्मत सम्भारमा काम गरिसकेको जनाइएको छ । उसले भुकम्पबाट क्षति भएका ताप्लेजुङका दुई विद्यालय समेत निर्माण गरिदिएको थियो ।
|

.jpg)


