मलेसियामा नेपालीलाई मृत्युदण्डको फैसला


क्वालालम्पुर, असोज ९- लागु पदार्थको कारोवारमा संलग्न रहेको भन्दै नुवाकोट वर्सुचेत १ का हरिबहादुर घलेलाई मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । स्थानीय अदालतले मृत्युदण्ड दिन गरेको फैसला विरुद्ध घलेले सर्वोच्चमा अपिल गरेकोमा सर्वोच्चले स्थानीय अदालतको फैसला सदर गर्दै घलेलाई मृत्युदण्ड नै हुने फैसला सुनाएको हो ।

घलेलाई सन् २००३ मे ३० मा मलेसियाको राजधानी क्वालालम्पुर क्वालालम्पुरकोको द फेडेरल होटलबाट ८ सय ७५ ग्राम हेरोइन सहित मलेसिया प्रहरीले पक्राउ गरेको थियो । घलेलाई स्थानीय अदालतले मूत्यू दण्डको फैसला सुनाएको थियो । त्यस विरुद्ध उनले सर्वोच्चमा अपिल गरेका थिए । तर सर्वोच्चले उनलाई मृत्युदण्ड नै हुने अन्तिम फैसला सुनाएको हो ।

यद्यपी उनले मृत्युदण्डबाट माफी पाउने अन्तिम बिकल्प भने बाँकी नै रहेको मलेसियामा रहेको नेपाली दुताबासले जनाएको छ । दुतावासका अनुसार घलेको नामबाट नेपाल सरकारले मलेसियाका राष्ट्र प्रमुख समक्ष माफी पत्र पाठाएमा मलेसियाका राजाले उनलाई मृत्युदण्डबाट माफी दिन सक्छन् । मृत्युदण्डमा माफी पाएपनि उनले आजीवन कारागारको सजायँ भने भोग्नुपर्ने छ ।