हात हातमा हलुका हतियार



काठमाडौं साउन २१ (नागरिक)-काठमाडौंमा पछिल्लो समय साना हतियार फेलापर्नेक्रम बढेको छ। साउनको मध्यसम्म प्रहरीले चार वटा अत्याधुनिक पेस्तोल र घरेलु कटुवा फेला पारेको छ। उपत्यकामा हतियार फैलिएको स्विकार गर्ने प्रहरी अधिकारी संख्या तोक्न भने सक्दैनन्। हतियार फेलापर्नेक्रमसँगै प्रहरीले शनिवार किर्तिपुरको ट्याङलाफाँटमा कटुवा पेस्तोल र तीन राउन्ड गोली सहित एक युवतीलाई पक्राउ गर्‍यो। 

आपराधिक घटनामा संलग्न हुनसक्ने शंकास्पद ब्यक्तिमाथी निगरानी राखेर अनुगमन गर्नेक्रममा किर्तिपुरको ट्याङलाफाँटवाट १७ वर्षिय मनुमाया तामाङ पक्राउ परेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता धिरजप्रताप सिंहले बताए। 
महानगरिय प्रहरी प्रभाग किर्तिपुरको प्रहरी टोलिले किर्तिपुर-२ को एक घरमा छापा मार्दा पेस्तोल सहित मनुमाया फेला परेकी हुन्। प्रहरीका अनुसार उपत्यका भित्र केही व्यक्तिहरुले अवैध हातहतियारको खरिद बिक्रिमा सक्रिय रहेको सूचनाको आधारमा खटिएको सादा पोशाकका प्रहरीले हतियार फेला पारेको हो।
उद्योगपति व्यापारीबाट रकम असूल उपर गर्ने, विभिन्न अपराधको योजना बनाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी खटिएको उनले बताए। सोही सूचनाको आधारमा शनिवार किर्तिपुरका प्रहरीले १ वजे टयाङ्गलाफाटमा मकवानपुर फापरबारी -६ की मनुमायाको डेरामा छापा मारेको थियो।
छापामार्दा कोठावाट कटुवा पेस्तोल सहित तीन राउन्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ। उनका श्रीमान जीवन भनिने डिम्बा तामाङ भने फरार छन्। हतियार कारोवारमा डिम्बा सक्रिय रहेको आशंकामा प्रहरीले उनको खोजी तिब्र बनाएको जनाएको छ।
अमेरिकी र इटली पेस्तोल
काठमाडौं परिसरका प्रहरीले साउन १० गते महाराजगञ्ज चप्पल कारखानावाट सुभाष योञ्जन तामाङ र हरी पराजुलीलाई जर्मनी रिभल्बर सहित पक्राउ गरेको थियो। महानगरीय प्रहरी बृत्त बौद्धका सादा पोशाकका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जाँच गर्दा आधुनिक रिभल्बर फेला परेको थियो। साउन पाँच गते काठमाडौंको मित्रनगरमा नविन विक र तेजबहादुर गुरुङ इटलीको पेस्तोल, सात दशमलव ६५ अमकारको चार राउन्ड गोली र दुई वटा म्यागजिन सहित पक्राउ परेका थिए। बालाजु बृत्तको प्रहरीले दाङ तुल्सीपुर खाजा घरमा छापा मार्दा उनीहरु हतियार सहित फेला परेको प्रहरीले बताएको छ।
साउन चार गते गोंगबुको म्याग्दी धौलागिरी सुनचाँदी पसल लुट्न गएका लुटेरालाई पक्राउ गर्दा प्रहरीले उनीहरुको साथवाट दुई वटा आधुनिक पेस्तोल फेला पार्‍यो। तीन जनाको सशस्त्र लुटेरा समुहको स्थानीयले प्रतिकार गार्द उनीहरु सुन पसल लुट्न असफल भएका थिए।
प्रहरीले सो क्षेत्र घेरा हाली खोजीगर्नेक्रममा भारतको समस्तीपुर कल्याणपुर थानाका रंजित सिंह र रमेश ठाकुर पक्राउ परेका थिए। उनीहरुको साथवाट प्रहरीले अमेरिकी र इटालिमा बनेको पेस्तोल सहित नौ राउन्ड गोली फेला पारेको थियो।
अनुसन्धानकोक्रममा उनीहरुलाई सुन पसल लुट्ने योजना बनाएर विजय गुप्ताले भारतीय अपराधीलाई नेपालमा ल्याएको खुल्यो। तर, उनी फरार थिए। भारत समस्तीपुरका विजयले नेपालमै नागरिकता समेत लिइसकेको खुलेको थियो। तर, प्रहरीले उनलाई फेला पार्न भने सकेको छैन।

फेसन बन्यो हतियार
उपत्यकाको आपराधिक घटनामा साना हतियारको प्रयोग अहिले मात्रै देखिएको हैन। बोक्न सहज, खुल्ला सिमानाका कारण काठमाडौंसम्म भित्र्याउन सहज भएकाले हतियारका कारोवारी र अपराधमा संलग्न ब्यक्तिको सहज पहुँच देखिएको छ साना हतियारमा। उपत्यकामा प्रहरीले बरामद गरेको हतियारको प्रकार हेर्दा सर्ट मेसिन गनदेखी लिएर अमेरिकी, चाइनिज, इटली र घरेलु हतियार छ्यापछ्याप्ती छन्।
काठमाडौं परिसरका एसएसपी जयबहादुर चन्दले उपत्यकामा साना हतियार फैलिएको स्विकार गरेपनी संख्या एकिन गर्न नसकिने बताए। काठमाडौं साना हतियार बोक्नु फेसन समान भइसकेकाले यत्तिको संख्यामा हतियार छन् भन्न नसकिने उनको तर्क छ। अपराधमा संलग्न ब्यक्तिका साथै राजनीति दलका भातृ संगठनका सदस्यविच पनि हतियार बोक्ने प्रतिष्पर्धा देखिएको उनको निष्कर्ष छ।
प्रहरीले विगतमा फेला पारेको हतियारको आधारमा काठमाडौंमा ठमेल,दरवारमार्ग, नयांवसपार्क, गोंगबु, स्वायम्भु, कलंकी पुरानो बसपार्क, नयांबसपार्क, कोटेश्वर र बौद्ध र जोरपाटी नयांबस्ती साना हतियारका लागि संवेदनशिल स्थान हुन। हतियारका कारोवारीहरु यस क्षेत्रमा बढी क्रियशिल हुने गरेको प्रहरी दावी छ। ललितपुरको मंगलबजार, ग्वार्को, बागडोल, भैसेपाटी र चापागाउं र भक्तपुरको लोकन्थली, गट्ठाघर सुर्यविनायक र पान्डुबजार साना हतियारका लागि संवेदनशिल स्थान हुन।
भुमिगत संगठन, डिस्को, डान्सबार र रेष्टुरेन्ट जस्ता रात्रीकालीन व्यवसायमा संलग्नहरु, ठेक्कापट्टामा सुक्रिय व्यवसायी,बैदेशिक रोजगार र गुन्डागर्दी र लुटपाटमा सक्रिय ब्यक्तिहरु साना हतियारका क्रेता रहेको प्रहरीको ठम्याई छ।
केही हदसम्म दलका भातृ संगठनका सदस्यहरु पनि साना हतियारको फेसनमा फसेका देखिन्छन्। जेठ २६ मा नयाँ बजारको घटना पर्याप्त छ। नयाँ बजारको एक घरमा पेस्तोल निकालेर परिक्षण गर्नेक्रममा गोली चल्दा एमाले भातृ संगठन अखिलका बशन्त शाहीको मृत्यु भएको थियो। प्रहरीले विरबहादुर राउत र मुकेश नेपालीलाई पक्राउ गरेको थियो। घटनामा संलग्न मनोज खत्री अझै फरार छन्।
प्रहरी प्रतिवेदन अनुसार उपत्यकामा कटुवा, सिक्सर, सात दशमलव, नौ दशमलव, १५ र १५ दशमलव आकारका गोली लाग्ने पेस्तोलहरु फेला पर्ने गरेका छन्। ६ राउन्ड गोली लोड हुने रिभल्बर समेत उपत्यकामा फेला पर्ने गरेका छन्।
सानो हतियारको बढ्दो संख्यालाई मध्यनगर राखेर सके हतियार सिज गर्ने नसके उनीहरुलाई निष्कृय बनाउने सुरक्षा रणनीतिमा प्रहरी केन्द्रित भएको एसएसपी चन्दले बताए। 'अहिले हामी सकेसम्म हतियार सिज गर्ने अभियानमा केन्द्रित छौं' उनले नागरिकसँगभने।