बल्खुमा एमाले नेतावीच बाझाबाझ

चुनाबबारे छलफल गर्ने बैठक बस्न सकेन

 ८ चैत, काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुवीच एक आपसमा विवाद र भनाभन भएपछि बिहीबारको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी मुख्यालय बल्खुमा बोलाइएको बैठकले चुनावी रणनीति तय गर्ने भनिए पनि बैठक शुरु नहँदै नेताहरुवीच भनाभन शुरु भएपछि सोमबारसम्मका लागि रोकिएको हो ।

UML officeअख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरिएका लोकमानसिंह कार्कीको विषयलाई लिएर एमाले नेताहरुबीच विवाद चर्किएको छ । नेताहरुबीच यही विषयलाई लिएर विवाद भएपछि स्थायी समितिको बैठक औपचारिक रुपमा सुरु नै नभई सोमबारसम्मका लागि स्थगित भएको एमाले नेताहरुले बताएका छन् ।

पार्टी मुख्यालय बल्खुमा भएको अनौपचारिक कुराकानीमा माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षका नेताहरुले जनआन्दोलनका दमनकारी कार्कीलाई कुनै हालतमा अख्तियार प्रमुखमा स्वीकार नगर्ने भन्दै निर्णय सच्याउन पार्टी अध्यक्ष खनालसँग आग्रह गर्नुभयो । साथै उहाँहरुले पार्टीमा छलफल भएको विषयलाई गलत रुपमा प्रस्तुत गरेको भन्दै उपाध्यक्ष वामदेव गौतमको चर्को आलोचनासमेत गर्नुभयो ।

‘सार्वजनिक रुपमा लोकमानबारे गलत सम्प्रेषण भएकोमा बामदेवजीको चर्को आलोचना भएको छ’-एक नेताले बामदेवप्रति लक्षित गर्दै अनलाइनखबरसँग भने- ‘कि बोल्दै नबोल्नु, बोल्ने हो भने पार्टीमा जे भएको छ त्यही बोल्नु ।’

एमाले नेताहरुबाट चर्को आलोचनामा परेका लोकमानसिंह कार्कीलाई एमालेले स्वीकार गरेको भन्दै बुधबार उपाध्यक्ष बामदेवले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गर्न लागिएको कार्कीको नियक्तिका विषयमा पुनर्विचार नगरिने गौतमले प्रतिक्रिया दिएपछि अन्य नेताहरु उहाँ विरुद्ध खनिनुभएको हो ।

सञ्चार माध्यममा सम्प्रेषण किन गरेको भन्दै शंकर पोखरेल लगायतका नेताहरुले मंगलबार गौतमको चर्को आलोचना गर्नुभयो । ।उहाँहरुको भनाइ थियो, ‘यो त हाम्रो प्रतिष्ठाको विषयसँग जोडिएकाले कुनै हालतमा स्वीकार गर्दैनौं’ ती नेताले भने-’अरु पार्टीले जे गरे पनि एमालेले स्वीकार गर्नु हुँदैन ।’

बुधबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय संयन्त्रबाट बामदेव गौतमलाई फिर्ता बोलाई झलनाथका साथमा माधव नेपाल र केपी ओलीलाई पठाउने निर्णय गरेको थियो ।

यद्यपि बिहीबार बोलाइएको बैठक पानी परेकाले स्थगित भएको नेताहरुले दाबी गरेका छन् । ‘पानी परेकाले केही साथीहरु आउनुभएन, पछि केही कामरेडहरु हिँडिसकेपछि अरु साथी आउनुभयो ।’-बैठकपछि एक नेताले भने- ‘त्यसैले सबै साथी जम्मा भएपछि १२ गते बैठक बस्ने सहमति भएको छ ।’

सम्झौतामा हामीले चाहेजस्तो मात्रै हुँदैनः गौतम

उपाध्यक्ष गौतमले भने सम्झौता गर्दा एमालेले चाहेको जस्तो मात्रै नहुने भन्दै दलहरुबीच भइसकेको सहमति नउल्टिने भनाइ दोहोर्‍याउनु भएको छ । उहाँले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले निकालेको कार्कीलाई अख्तियार प्रमुख बनाए अध्यक्ष झलनाथ खनाललाई कारबाही गर्ने आशयको विज्ञप्ति पार्टीको नभई व्यक्तिगत भन्दै आलोचना गर्नुभयो ।

‘उनीहरुले बोहोराको वक्तव्यलाई किन व्यक्तिगत भनिस् भन्ने प्रश्न गरे, मैले पार्टीको निर्णयविनै जारी गरिएको विज्ञप्ति व्यीक्तगत नै हो भनें ।’- गौतमले अनलाइनखबरसँग भन्नुभयो-’त्यसपछि साथीहरु मसँग रिसाए ।’

स्थायी कमिटीका ११ सदस्यमध्ये रेग्मीलाई सरकार प्रमुख बनाउनुपर्न भन्नेमा ५ जना र बनाउनुहुन्न भन्नेमा ४ जना रहेको जानकारी गराउँदै गौतमले भन्नुभयो- ‘उहाँहरु पहिल्यैदेखि सहमतिलाई बिथोल्नुपर्छ भनिरहनुभएको छ, त्यसैले उहाँहरुबाट सहमति गर्नु हुँदैनथ्यो भन्नु स्वाभाविकै हो । तर, यसरी देश अगाडि बढ्दैन ।’