लोकमानको विरोधमा विद्यार्थीहरुको चक्काजाम

काठमाडौँ, चैत ८ - नेविसङ्घ अनेरास्ववियुलगायत ११ विद्यार्थी सङ्गठनले आज विभिन्न क्याम्पस अगाडि चक्काजाम गरेका छन्। लोकतन्त्र विरोधीलाई संवैधानिक निकायमा नियुक्ति गर्न नहुने भन्दै उनीहरूले आज बिहान ८३० देखि १० बजेसम्म चक्काजाम गरेका हुन्।
यसै क्रममा सार्वजनिक यातायातमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने समेत माग गरिएका छन्।
नेविसङ्घका प्रवक्ता युपी लामिछानेले पछिल्लो समयमा दोस्रो जनआन्दोलनविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गर्ने लोकतन्त्र विरोधीहरूलाई संवैधानिक निकायमा नियुक्ति गर्न लागिएकोमा त्यसलाई रोक्न चक्काजाम गरिएको बताए। अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीको सिफारिश अहिले विवादित  बनेको छ।
विद्यार्थी सङ्गठनको मागलाई सरकारले सम्बोधन नगरे आगामी दिनमा सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी उनले दिनुभयो। रासस