बस दुर्घटनामा ११ घाइते
![]() |
डोटी, चैत्र ८ - अछामबाट कैलालीको धनगढी तर्फ आउदै गरेको बस बिहीबार दुर्घटना हुँदा एघार जना घाइते भएका छन् ।
ना २ ख ७५६९ नम्बरको बस सडकबाट ५ मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार दुर्घटनामा परी धनगढी उत्तरबेहडीका सुरेन्द्र पाण्डेय, राम बहादुर डाँगी, अछाम रिडीकोटका तपेन्द्र बोहरा, गाजराका भरत बहादुर खड्का, ओलीगाउका कृष्ण रावत, सोही गाउका नवराज बोहरा, जगत सिंह, कुइकाका जनक उपाध्याय, माने उपाध्याय, डोटी सानागाउका गोमती खड्का र मान बहादुर खड्का घाइते भएका छन् । घाइतेहरुको अवस्था दुई जनाको गम्भिर भएपनि अन्यको सामान्य रहेको प्रहरी निरिक्षक चन्दले बताइन् । यो समाचार तयारपार्दासम्म प्रहरी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको थियो ।
पहमानसिं स्वार राजमार्गको सानागाउ सडकखण्डमा सो दुर्घटनाभएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । डोटीमा तीन बर्ष यता उल्लेख्य सवारी दुर्घटना हुने गरेका छन् । डोटीमा बैसाख यतामात्रै २९ जनाको मृत्यू सवारी दुर्घटनामा परी भइसकेको छ । त्यसमध्यमा पनि अधिकांश अछामबाट कैलाली र कञ्चनपुरका लागि छुट्ने सवारी पर्छन् ।
![]() |