एमाओवादी संघर्षमा उत्रने


काठमाडौं, चैत ८- एकीकृत माओवादीको केन्द्रीय समिति बैठकले माओवादी जनयुद्ध कालका मुद्दालाई लिएर आफ्ना नेता-कार्यकर्ता फसाउन खोजेको आरोप लगाएका छन्। पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकले त्यस्ता झुटा मुद्दा खारेज नगरे कडँ संघर्ष गर्ने निर्णय गरेको छ।



'दस वर्षे जनयुद्धका समयमा तत्कालीन राज्यका तर्फबाट लगाइएका विभिन्न झुट्टा मुद्दा खारेज नगरी पुनः त्यही मुद्दामा पार्टीका नेता तथा कार्यकर्तालाई फसाउन खोजिएको छ,' पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, 'त्यसका विरुद्ध सङ्घर्ष गर्ने आजको बैठकले निर्णय गरेको छ।'

बैठकमा केन्द्रीय समितिमा थप गर्ने विषयमा छलफलसमेत भएको छ। केन्द्रीय समितिमा थप गर्नुपर्ने सदस्यका विषयमा छलफल भएको सापकोटाले बताए।  उनले अर्को बैठक चैत १२ गते बस्ने बताए।


पार्टीका विभिन्न राज्य समिति तथा केन्द्रीय कार्यालयले थप गर्ने केन्द्रीय समिति सदस्यका सम्बन्धमा थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले छलफललाई जारी राखिएको उनले जानकारी दिए। उनले नेकपा (एमाले) परित्याग गरेका सो पार्टीका पोलिटब्यूरो सदस्य रामचन्द्र झा, तथा नेकपा-माओवादी परित्याग गरेका सो पार्टीका केन्द्रीय सदस्य रेखा शर्मा, कृष्णध्वज खड्का र कुमार दाहाललाई पार्टीमा स्वागत गर्ने निर्णय गरिएको बताए।
यसैगरी अरु विभिन्न पार्टी तथा समूहमा रहेका क्रान्तिकारी,देशभक्त तथा परिवर्तनकामी जनसमुदायलाई एमाओवादीमा समाहित हुन पनि बैठकले निर्णय गरेको छ। गत माघमा सम्पन्न महाधिवेशनले एमाओवादीको केन्द्रीय समिति १ सय ५१ जनाको रहने भन्दै त्यतिबेला ९८ जना मात्रै निर्वाचित गरिएको थियो। रासस