सुर्खेतमा करिब तीन सय यौनकर्मी


सुर्खेत, चैत ७ गते । सुर्खेतमा झन्डै ३०० यौनकर्मीहरु रहेको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्लाको सदरमुकाम वीरेन्द्रनगरसहित विभिन्न गाविसहरुमा गरिएको सर्वेक्षणमा २८१ जना यौनकर्मी रहेको फेला परेको हो । स्थानीय गैरसरकारी संस्था समाज जागरण केन्द्र स्याक नेपाल सुर्खेतले  जिल्लाको २३ वटा गाविसहरुमा सर्वे गरेको थियो ।

तथ्याङ्क प्रस्तुत गर्दै संस्थाका एचआइभी एड्स कार्यक्रम संयोजक चन्द्रबहादुर विकले आफूले काम गर्ने २३ वटा गाविसहरुमा करिब ३०० यौनकर्मीहरु फेला परेको जानकारी दिनुभयो । उहाँले सबै गाविसमा गरेर ४ सय यौनकर्मीहरु फेला पार्ने लक्ष्य भएपनि अहिलेसम्म २८१ जना फेला पारेको जनाउनुभयो । यौन व्यवसायमा सबैभन्दा धेरै दलित समुदायका र त्यसमा पनि किशोरीहरुको संख्या बढी छ । फेला परेका यौनकर्मीहरुमा दलित महिलाहरु १६२ रहेको र सबै समुदायका किशोरीहरु गरी १५४ जना र १८ वर्ष मुनिका ४ जना वालिकाहरुले पनि यौनव्यवसाय संलग्न रहेको पाइएको उहाँले बताउनुभयो ।

यौन व्यवसाय रोजगारीको अवसर नपाएपछि बाध्य भएर गर्न बाध्य भएको बताइएको छ । फेला परेका संख्यामा जनजाति समुदायका महिलाहरु ४० जना र अन्य सबै ७९ महिलाहरु रहेका छन् । त्यस्तै उमेरगत हिसावमा २५ वर्षदेखि ३४ वर्ष सम्मका ९२ जना र ३५ देखि ४४ उमेर सम्मका २७ जना महिला तथा ४५ वर्षदेखि माथिका ८ जना महिलाहरु पनि यौन व्यवसायमा संलग्न रहेको पाइएको तथ्यांकमा उल्लेख छ । सुर्खेतमा करिव ३ सय यौन व्यवसायमा संलग्न भएको भनिएपनि प्रहरीले पक्राउ गरेको भन्ने कुनै खवर सार्वजनिक हुन सकेको छैन ।

कार्यक्रम संयोजक विकले यौनकर्मी महिलाहरु खुल्न नचाहने भएकोले यो संख्यामा कमी आएको बताउनुभयो । यौनकर्मी महिलामा नै एचआइभीको वढी संक्रमित हुने भएकाले उनैहरुलाई सचेत गराउन एचआईभी रोकथामको कार्यक्रम गरिएको जानकारी विकले दिनुभयो । - गोरखापत्र