हरितालिकाको हरिबिजोग
![]() |
निलिमा गुरुङ- पौराणिक कथाअनुसार पर्वतराज हिमालयकी पुत्री पार्वतीले सानै उमेरदखि नै महादेव पति पाऊँ भनी कामना गरेकी थिइन्। तर, हिमालय भने जिउभरि खरानी घसेर हातमा डमरु लिएर बजाउँदै हिँड्ने महादेवलाई ज्वाइँ बनाउन चाहँदैनथे। पछि पार्वतीले बालुवाको शिवलिंग बनाई महादेव पति पाऊँ भनी नित्य कठोर व्रत लिई पूजा गर्न थालिन्। महादेव प्रसन्न भई पार्वतीलाई दर्शन दिए। र, अन्ततः पार्वतीको विवाह महादेवसँग सम्पन्न भयो। आलिका नाम गरेकी सखीले पार्वतीलाई भगाएर लुकाउन लगेकीले हरितालिका अथात् आलिकाले हरण गरेको भन्ने अर्थमा हरितालिका भन्ने चलन चलेको कथनमा उल्लेख छ।
विडम्बना! पौराणिक, धार्मिक महत्व र विशिष्ट विशेषता बोकेको यस हरितालिका तीज हाम्रो समाजमा बिस्तारै असभ्य र भड्किलो बन्दै गइरहेको पाइन्छ। तीज आउनुभन्दा महिनादिन अघिदेखि नै सपिङ गर्ने, चर्को आवाजमा क्यासेट बजाउने र जथाभावी खानपान गर्ने गलत संस्कृतिको विकासले तीजजस्तो हिन्दू महिलाको सबैभन्दा ठूलो पर्वको मूल्य र मान्यतामा ह्रास हुँदै गइरहेको छ। यस पर्वको भावनाअनुसार चल्नुभन्दा पनि विशुद्ध मनोरन्जनमात्रै गर्ने साधन वा मौकाका रूपमा यसलाई लिन थालिएको छ। यस्तो गलत अभ्यासमा जानी नजानी हाम्रै दिदीबहिनी तथा चेलीबेटी नै लागिपरेका छन्।
तीज कार्यक्रम गर्ने भन्दै अहिल्यैदेखि विभिन्न समूह रसिद थमाएर रकम असुलीमा लागेका छन्। प्रशस्त पैसा संकलन गरेर होटेल, रेस्टुरेन्ट, क्याफे तथा विभिन्न पार्टी प्यालेसमा गएर तीज मनाउने प्रचलन बढ्दो छ। हाम्रा बाबु-आमाका पालामा घरको चुलोमा पकाएको दर खाँदै नाचगान गर्दै रमाइलो गर्थे। अहिले दर खाने कुरामा समेत फेसन आएको छ। महँगा रेडिमेड खानाहरु खाने र क्यासेट बजाएर भड्किला पोसाकमा नाच्ने गरेको देख्न पाइन्छ। यो पटक्कै राम्रो होइन। यस्तो कार्यले एकातिर यस पर्वको महŒव घटाउँदै लगिरहेको छ भने अर्कोतिर पैसाको दुरुपयोग पनि भइरहेको छ। अझै पनि ग्रामिण भेगका जनता चामलको भात खान चार्डपर्व कुर्न बाध्य छन्। तर, यही सानो देशका सीमित धनाढ्य वर्ग धनको मातमा संस्कृतिलाई पनि बिगार्दै लगिरहेको छ। यतिसम्म कि, एउटा उच्च वर्गीय परिवारले एउटा पर्वमा गर्ने खर्चको आधामात्र रकमले पनि शिक्षाबाट वञ्चित कैयौँ बालबालिकाले किताब र झोला किन्न सक्थे।
तीज मनाउनकै लागि भनेर विभिन्न कलेज, अफिस, संघ-संस्थामा आबद्ध महिला दिदीबहिनीले क्लब बनाउने, समूहको गठन गर्ने गरेको पाइन्छ। एक हिसाबले यसलाई राम्रै मान्न सकिन्छ। तर, उनीहरुले सोहीअनुरूप सभ्य तरिकाले तीज मनाउने कार्यक्रम गर्न नसक्नु दुःखद कुरा हो। आफ्ना परिवार, दाजुभाइ तथा श्रीमान्लाई तीजको मौकामा विभिन्न आरोप-प्रत्यारोप लगाउने तथा उनीहरुले दिएको राम्रो सल्लाहको पनि बेवास्ता गर्ने प्रवृत्तिले हामी महिलालाई अवश्य फाइदा गर्नेछैन।
तीजका दिन व्रतको नाउँमा पानीसमेत नखाएर बस्दा कैयौँ महिलाहरु बिरामी पर्ने गरेको पाइन्छ। यसले उनीहरुको स्वास्थ्यमाथि असर पर्छ नै, बालबच्चा हुने महिलालाई झनै अप्ठ्यारोमा पार्छ। यी कुरालाई पनि ख्याल गर्नु जरुरी छ। महँगा र शरीरै छोप्नेगरी गरगहना लगाउनुपर्छ भन्ने अर्को गलत मान्यताले पनि हरितालिका तीजलाई विकृतिमय बनाउँदै लगिरहेको छ। अचेल त गहना लगाउने एक किसिमको प्रतिस्पर्धा नै चलेको देख्न पाइन्छ। यसले समाजमा चोरी, डकैती, काटमारजस्ता विभिन्न दुर्घटना पनि हुने गरेका छन्। हामीले एउटा के कुरा बुझ्नैपर्छ भने तीज गहना र पहिरन प्रदर्शन गर्ने पर्व होइन। क्षमताअनुसार खाद्य, मिष्ठान्न, दर खाँदै नाचगान र भेला गर्ने सुअवसर हो। विभिन्न अपशब्द प्रयोग गरेर गीत गाउनुभन्दा आफूले भोगेका दुःखसुखका घटनालाई गीतमा उतार्दै नाचेर मनोरञ्जन गर्नु राम्रो हो।
तीजलाई सभ्य र शालीन ढगंले मनाउन सबैको ध्यान जानु जरुरी देखिन्छ। अनि यसले दाजुभाइ तथा दिदीबहिनीबीच गाढा र नजिकको सम्बन्ध स्थापित गर्न पनि सक्नुपर्छ। तीजलाई भड्किलो हुनबाट जोगाउनुपर्छ र प्रचलित धर्म-संस्कृतिको भावना विपरीत जाने प्रयास गर्नुहुँदैन।
![]() |