लेबनानमा २७ सैनिकले ज्यान गुमाए


  • नेपाली सबैभन्दा जोखिम क्षेत्रमा


    लेबनान, आश्विन १ - संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनाका रूपमा ३४ वर्षदेखि लेबनानमा क्रियाशील नेपाली सेनाले यस अवधिमा २७ जनाले ज्यान गुमाएका छन् । सन् १९७८ देखि शान्ति सेनाका रूपमा खटिएका नेपाली सैनिकमध्ये सबैभन्दा पहिले नायक गंगाबहादुर मगरको मृत्यु भएको थियो । लेबनान पुगेको ३ महिना नबित्दै इजरायलीको गोली लागेर उनको निधन भएको हो । लेबनानको दक्षिणी भाग र इजरायलको उत्तरी भागस्थित युद्धभूमिमा शान्ति सेनाका रूपमा खटिएका बेला मगरको मृत्यु भएको शान्ति सेना सञ्चालन निर्देशनालयका निर्देशक सहायक रथी ताराबहादुर कार्कीले बताए । उनका अनुसार विभिन्न तहका २७ सैनिकले यतिबेलामा ज्यान गुमाएका छन् ।
    अन्तिमपटक ज्यान गुमाउने लेसनायक विष्णुप्रसाद पोखरेल हुन् । सन् २००९ अगस्ट ९ मा माइन विस्फोटमा उनको निधन भएको थियो । २००९ यता नेपाली सैनिकले अकालमा ज्यान गुमाउनुपरेको छैन । यसबीचमा शान्ति कायम गर्न नेपाली सेनाको ५२ औं डफ्फाले भाग लिइसकेको छ ।
    यस अवधिमा १९८६ मा सहसेनानी शरदबहादुर राना, १९८२ सहसेनानी लोकबहादुर मगर र १९९२ मा अर्का सहसेनानी दुर्गाबहादुर बोहराले लेबनान र इजरायल युद्धभूमिमा शान्ति कायम गर्ने क्रममा ज्यान गुमाएको कार्कीले बताए । त्यस्तै सन् १९९४ मा उपसेनानी चन्द्रबहादुर सुवेदीको मृत्यु भएको थियो । राष्ट्रसंघ आह्वानमा १९५८ मा पर्यवेक्षकका रूपमा ५ नेपाली सेनालाई लेबनान खटाएको थियो ।
    बेरुत सहरबाट करिब १ सय किलोमिटर दक्षिणमा युद्धरत क्षेत्रमा शान्ति कायम गर्न नेपाली सैनिकलगायत ३० मुलुकका करिब १८ हजार सैनिक तैनाथ गरिएको छ । युद्धरत क्षेत्रमा सन् २००० मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा लेबनान र इजरायलबीचमा 'ब्लु लाइन' कोरिएको छ । त्यसलाई कसैले क्रस गर्न नपाउने र हर्कतहरू रोक्ने उद्देश्यले शान्ति सेना राखिएको हो ।
    लेबनानको मेसएल जावेलमा गण रहेको नेपाली सेनाको कार्यक्षेत्र ९६ वर्गमिटर छ । ७ नगरपालिका र एक गाविस कार्यक्षेत्र रहेको नेपाली शान्ति सेनालाई ६ ठाउँमा राखेर परिचालन गरिएको छ । १ सय ७ किलोमिटर 'ब्लु लाइन' रहेको छ । त्यसमध्ये नेपाली शान्ति सेनाको कार्यक्षेत्र १५ किलोमिटर हुन्छ ।
    'नेपाली शान्ति सेनाको कार्यक्षेत्र अत्यन्त संवेदनशील क्षेत्रमा छ,' रुद्रध्वज गणका प्रमुख सेनानी लीलाबहादुर खनालले भने । मार्कवा नपाको चिहान, विधा नपाको कुवा र जैतुन खेती सबैभन्दा संवेदनशील स्थान रहेका छन् । यी तीनै क्षेत्रमा शान्ति सेनाका रूपमा नेपाली सैनिक खटाइएको छ । लेबनानमा शान्ति सेनाका रूपमा करिब १ हजार ३ सय सैनिक खटाएको छ