कैलालीका बादी महिला फेरि यौन पेशातर्फ




कैलाली– २०६४ सालदेखि यौन ब्यवसायको विकल्पको खोजीमा रहेका कैलालीका बादी महिलाहरु गतिलो विकल्प नपाएपछि फेरि पुरानै पेशामा फर्किन थालेका छन् । सरकारले गर्छु भनेर पनि गाँस बास र कपासको ब्यवस्था नगरेपछि उनीहरु बाध्य भएर पुनः यौन व्यवसायमा फर्किएका हुन् ।

“यौन ब्यवसाय गर्न ६ सय महिलाहरु अहिले बम्बई र दिल्ली गएका छन्” बादीहरुसित काम गरिरहेको संस्था सामुदायिक सहयोग समितिकी अध्यक्ष उमा बादीले भन्नुभयो । उमा भन्नुहुन्छ “खान लाउन पुग्दैन, जग्गा जमिन सुको छैन, अनि पेट कसरी पाल्ने ?” उमाको प्रश्न छ “गाँस वास र कपास नै नभए पछि यौन पेशा नगर्नु भनेर पनि कसरी भन्ने ?” उहाँले सरकारले पनि बादी समुदायलाई पटक पटक धोका दिएको आरोप लगाउनुभयो ।

कैलालीको मुडाका बादी महिला र युवतीको समस्या पनि उस्तै छ । कैलालीको दोदोधरा गाविसको मुडा बजारकी प्युसरा बादी दुई बर्षकी बालिका देखाउँदै भन्नुहुन्छ “यसको आमा पनि भारतमा गएकी छ, घरमै बसेर खान पुग्दैन, अरु रोजगार गर्न पुँजी छैन, मैले नातिनी हेरेर बसेकी छु” आमाको दुध खाने उमेरकी २ वर्षकी नातीनी समात्दै प्युसरा आफुसित आफै कुरा गरेको स्वरमा भन्नुहुन्छ “पापी पेटका लागि दुधे बालक छोडेर भारतमा शरीरको नाश गर्नुपरेको छ ।”

धनगढीबाट झण्डै ६० किलोमिटर पुर्व, महेन्द्र राजमार्गको छेउमा पर्ने मुडा बजारमा अहिले पनि बादीको बाक्लै बस्ती छ । प्युसराका अनुसार, यौनपेशाका लागि मुडाबाट मात्रै ६० जना भन्दा बढी महिला र युवतीहरु भारत गएका छन् । “नेपालमा प्रहरीले समातेको समात्यै गर्छ, अनि भारतका कोठीहरुमा नगएर के गर्नु ?” मुडाकी अनिता बादीको यो प्रश्नको जवाफ संभवतः आज सरकार र समाज कसैसित छैन ।

२०६४ सालमा यौन ब्यवसायको विरोधमा उत्रेको निगरानी समुहले बादी महिलाहरुलाई बैकल्पिक पेशामा लाग्न सहयोग गर्ने र गाविसबाट रकम छुट्याएर उनीहरुको गासबास र कपासको ब्यवस्था गर्ने आश्वासन दिएको थियो । “बस्तीमा पसल हालेर मदिरा विक्री गर्न दिदैन निगरानी समुहले, न त कुनै मान्छेलाई हाम्रो रेष्टुरेन्टमा आउन दिन्छ । हामीले होटल पनि गर्न नपाउने हो भने कसरी गाँस वास र कपासको जोहो गर्ने ?” निगरानी समुहप्रति आक्रोसित अनिता बादी भन्नुहुन्छ “निगरानी समुहले आफुहरुको पेशा बन्द गराउदा गरेको प्रतिवद्धता पुरा गरेन” ।

बादी महिलाले देह व्यापार छाडी बैकल्पिक पेशामा लाग्ने अवसर र सहयोगको माग गर्दै २०६४ सालमा काठमाडौंमा ४८ दिनसम्म आन्दोलन गरेका थिए । सामाजिक सहयोग समितिकी वर्तमान अध्यक्ष उमा बादीले सिहदरबारको गेटमा नग्न भएर गरेको प्रदर्शनले देश र विदेशमा चर्चा पाएको थियो । तर पनि पुनर्स्थापना लागि राज्य उदासिन बनेको बादीहरुको आरोप छ । “नग्नता प्रदर्शनले पनि राज्यको आँखा खुलेन भने अब के अरु के गर्ने?” उमाको प्रश्न अहिले पनि सिंहदरबारतिरै ठोकिएको छ ।

महिला विकास कार्यालयले स्वरोजगारका लागि दुईवर्ष सम्म दिएको १५/२० हजार पनि बन्द भएपछि झन समस्या थपिएका छन् । सामुदायिक सहयोग समितिमा दाताबाट आउने वार्षिक ४५ लाख रकमले वादी समुदायको क्षमता अभिबृद्धि र सामान्य तालिमहरु मात्र भैरहेका छन् । बादी समुदायका अगुवा अर्जुन वादीका अनुसार, समुदायको उत्थानका लागि जिल्ला विकास समितिले १ लाख र केही गाविसहरुले १० देखि २० हजार रुपैयाँ त छुट्याए । तर, त्यति रकमले के गर्नु ? अर्जुन भन्नुहुन्छ “सरकारले बादीको उत्थानका लागि छुट्याएको रकमले बैकल्पिक पेशा शुरु गर्न पनि पुग्दैन ।”

– शिवराज भट्ट र लोग्सरी कुंवर  
ईन्टरन्यूज नेटवर्कको सहयोगमा