अष्ट्रेलियामा चिनाइयो नेपाली सँस्कृती
![]() |
अष्ट्रेलिया, श्रावण २८ - विश्व आदीवासी दिवस मनाउने क्रममा नेपालका विभिन्न आदीवासी जनजातिहरुको भेषभुषा, सँस्कृती र पहिचानका बारेमा अष्ट्रेलियामा रहेका विदेशीहरुलाई जानकारी दिइएको छ । आदीवासी जनजाति दिवस मनाउन अष्ट्रेलियाको सिड्नीमा भेला भएका विभिन्न विदेशी पाहुनाहरुलाई नेपालको रहनसहन, सँस्कृती र पहिचानको बारेमा जानकारी दिइएको हो ।
अष्ट्रेलियाको सिड्नीमा आइतबार भएको कार्यक्रममा भेला भएका यहाँका राजनैतिक दलका नेता, बिभिन्न देशका आदिवासी जनजाती नेताहरुले पनि नेपाली कला सँस्कृती र पहिचानको खुलेर प्रसंसा गरेका थिए । नेपाल आदीवासी जनजाति मञ्चको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा नेपालका आदिवासीहरुले आफ्नै शैलीमा भेषभुषाको सार्वजनिक प्रदर्शन गरेका थिए ।
यस्तै विभिन्न जातिहरुले उनीहरुको आफ्नै मौलिक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कौडा नृत्य, मारुनी नाचका साथै लिम्बु, राई, नेवा, तामाङ्ग लगायतका परम्परागत नृत्यहरु देखाइएको थियो । यहाँको कुक आइल्याण्डमा रहेका आदिवासी जनजातिहरुले पनि आफ्नो मौलिक सँस्कृतिका साथै नृत्य समेत प्रस्तुत गरेका थिए ।
आदिवासी जनजातिहरुको हकहित र उनीहरुको अधिकार अवस्थाका बारेमा छलफल गरिएको कार्यक्रममा अष्ट्रेलियाका सरकारका प्रतिनिधिका रुपमा सांसदहरु लौरी फरगुसन, रोर्बट एन्थोनी फुरोलो, विभिन्न राजनैतिक दलका नेताहरुका उपस्थित थिए । यस्तै अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र नेपाल, महावाणिज्यदुत दीपक खडका लगायतको सहभागिता रहेको थियो ।
कुक आइल्याण्डका अध्यक्ष रोटा विलियम्स र विभिन्न जनजातिहरुको पक्षमा काम गरिरहेको सँस्थाका प्रतिनिधिहरु समेत कार्यक्रममा उपस्थिति थिए ।
कार्यक्रममा बोल्दै अष्ट्रेलियाका केन्द्रीय सरकारका प्रतिनिधि लौरी फरगुसनले नेपालीहरुले पनि अष्ट्रेलियाको कला सँ¬स्कृती जोगाउन महत्वपुर्ण भूमिका खेलेको बताए । अष्ट्रेलिया बहुसाँस्कृतिक देश भएकोले यहाँ सबै कला सँस्कृतीलाई सम्मान हुने बताउँदै उनले नेपाल कला सँस्कृतिमा धेरै माथि रहेको धारणा राखेका थिए ।
नेपाली राजदुत रुद्र नेपालले नेपाल कला सँस्कृतीमा धनी रहेको बताउँदै सबै प्रकारको कला र सँस्कृती जर्गेना र सँरक्षण गर्नुपर्ने बताए । अष्ट्रेलिया सरकारको पनि सहयोगमा सम्पन्न भएको कार्यक्रममा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
![]() |