थ्रीस्टार र मनाङ बराबरीमा
|
काठमाडौं, चैत ७ (नागरिक)- सुपर लिगको बहुप्रतिक्षित खेलमा मंगलबार लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीसँग १-१ को बराबरी खेलेपनि शीर्षस्थानको थ्री स्टारको उपाधि दौडमा खासै असर परेन। बराबरीले थ्री स्टार र मनाङको ५ अंकको दुरी यथावत छ। शीर्ष टोली दुई टोलीले अंक बाडेपछि एक खेल कम खेलेका तेस्रो स्थानको एनआरटी (३२) र चौथो स्थानको एनएमबी मछिन्द्र (३१) लाई अघि बढ्ने अवसर खुला भएको छ। तीन चरणका खेल बाँकी रहँदा शीर्ष टोली थ्री स्टारको ३९ र मनाङको ३४ अंक पुगेको छ। बुधबार हुने खेलमा म्याकडोयल्स आरसिटीलाई हराए एनआरटीले थ्री स्टारसँगको अंक दुरी ४ मा घटाउनेछ।
पहिलो चरणमा १-० ले जितेको थ्री स्टारले सहिद स्मारक रेडबुल ए डिभिजन सुपर लिगमा रोमाञ्चक मध्यको एक खेलमा मंगलबार पनि सुरुआती अग्रता लिएको थियो। सन्तोष साहुखलले १५ औं मिनेटमा गोलको खाता खोले। गोलकिपर किरण चेम्जोङले लामो रिलिज गरेको बलमा मनाङका गोलकिपर इमानुयल डारे र विकाससिंह क्षेत्रीबीच तालमेल नमिल्दा फुत्किएको बल भेट्टाएपछि सन्तोषले खुला पोस्टमा गोल गरेका हुन्। पहिलो लेगमा सन्तोषकै पेनाल्टी गोलमा थ्री स्टार विजयी भएको थियो। तर अघिल्लो चरणमा जस्तो थ्री स्टार अग्रता जोगाउन सफल भएन। २३ औं मिनेटमा फिल्स सर्जियो सिकोले हेडमार्फत बराबरी गोल गर्दै मनाङ खेलमा फर्काए। गोलकिपर किरणको गल्ति बराबरी गोलको कारक बन्यो। नविन न्यौपानेको फ्रिकिक रोक्न किरणअघि बढेको मौका छोप्दै सिकोले गोल गरेका थिए।
थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईले बराबरीलाई सोचे अनुरुपकै नतिजाका रुपमा अर्थ लगाए। ' खेलाडीले दुःख गरेर खेले। म खुसी छु। जित्ने लक्ष्य हो,' उनले भने,' तर बराबरी भएपनि फरक पर्दैन भन्नेमा थियौं। त्यसैले यो नतिजा सोचे अनुरुपकै हो।' उनले बराबरीमा चित्त बुझाएपनि टोली इन्जुरी समयमा प्राप्त अवसर उपयोग गर्न नसक्दा जितबाट विमुख भएको थियो। चार मिनेट थपिएको इन्जुरी समयको अन्त्यमा विजय धिमालको क्रसमा गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा विष्णु गुरुङले नजिकबाट प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरीएको थियो।
गोलकिपर र रक्षकको गल्तिमा चाडै गोल खाएपछि दबाबमा आएको स्वीकार्दै मनाङका प्रशिक्षक छिरिङ लेप्साङले उपाधि आशा अझै अन्त्य भइनसकेको बताए। ' जित्न सकेको भए अंक अन्तर घट्थ्यो। उपाधि जित्ने सम्भावना बढी हुन्थ्यो। त्यो अवसरबाट हामी चुक्यौं,' उनले भने,' यसअघि फ्रेन्ड्ससँगको खेलले हामीलाई बढी घाटा भयो। त्यसमा बराबरी भएपनि आफ्नो हातबाट उपाधि लगभग बाहिर गयो। यद्दपी गणीतिय सम्भावना बाँकी छ। प्रयास जारी राख्छौं।' लोप्साङले विकाससिंहको सट्टा विङ्गर मिडफिल्ड अमिर श्रेष्ठलाई ६८ औं मिनेटमा प्रवेश गराउँदै आक्रमक रणनीति लिएपनि गोलका लागि अन्तिम पास निकाल्न टिम असफल भएको उल्लेख गरे। 'आक्रमक खेलका लागि अमिरलाई पठाएका थियौं। केही दबाब पनि थियो ,' उनले थपे,' तर अन्तिम क्षणमा बल मिलाउन सकेनौं।'
दुवै टोली खेलमा केही अवसर चुकाएका थिए। थ्री स्टारका विराज महर्जनले चौथो मिनेटमा झन्डै ३० यार्डबाट गरेको प्रहार गोलकिपर इमानुयलले विफल पारे। ४१ औं मिनेटमा थ्री स्टारले गोलअन्तर दोब्बर पार्ने अवसर सफल भएन। विराजको क्रसलाई नियन्त्रणमा लिनुअघि मनाङका गोलरक्षक इमान्युलले भिक्टोर, एडी उमी फेमी र विक्रम लामाको प्रहारलाई रोकेका थिए। ५३ औं मिनेटमा फेमीको पासमा अनमार्क सन्तोषको प्रहारलाई पनि इमान्युलले विफल पारे।
उता २५ औं मिनेटमा मनाङका अनिल गुरुङले प्रहार ३२ मिनेटमा सुलभ मास्केको पासमा शिव श्रेष्ठको प्रहार दुवै पोस्ट नजिकबाट बाहिरीए। इन्जुरी समयको दोस्रो मिनेटमा थ्री स्टारका विष्णु सुनुवारलाई विट गरेर अनिलले क्रस गरेको बल सिकोले भेट्ाएनन्।
लिग जित्ने बाटोमा रहेको जनाउँदै थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईले अर्को खेलमा समर्थकलाई रंगशालामा आउन आग्रह गरेका छन्। ' सपना साचौ हुन अझै बाँकी छ,' फ्रेन्ड्सविरुद्धको खेलपछि विवादास्पद अभिव्यक्ति दिएका उनले भने,' हामी उपाधि जित्ने बाटोमा छौं। तर ढुक्क हुने अवस्था छैन। त्यसका लागि आरसिटीविरुद्ध अब हुने खेल महत्वपूर्ण हुनेछ। त्यो खेलबाट हामी समर्थकलाई लिग जितेको आवास दिन चाहन्छौं। त्यो खेल हेर्न सबै समर्थकलाई रंगशाला आउन आग्रह गर्छु।'
हुमागाईले थ्री स्टार आउनुअघि आफु मनाङको समर्थक रहेको खुलासा गरे। ' थ्री स्टार आउनुअघि म मनाङको समर्थक थिए। आज पनि मनाङले खेल्यो। म मनाङ प्रशंसा र सम्मान गर्छु,' उनले भने, 'अहिले म थ्री स्टारको परिवार सदस्य भए यो अर्कै कुरा हो।' मनाङको बराबरीपछि थ्री स्टारका खेलाडी र अफिसियलले ठुलो सफलताको हात पारेको जनाउँदै दिदै समर्थकसँग खुसी साटेका थिए।
सुपर लिगमा बुधबार
एनआरटिविरुद्ध आरसिटी (३:३० बजे)
थ्री स्टारसँग १-१ को बराबरीमा रोकिएलगत्तै मनाङका खेलाडीबीच मैदानमै हातपात भयो। खेलका क्रममा पास नदिएको भन्दै रक्षक मबिल लेनल स्टेफनले मिडफिल्ड सुलभ मास्केलाई हात हाले। छुट्टाउन गएका अर्का रक्षक सविन्द्र श्रेष्ठसँग पनि स्टेफन जग्गिए। स्थितिलाई सम्हाल्ने क्रममा खेलका दैरान पहेलो कार्ड पाइसकेका स्टेफनलाई फिफा रेफ्री सुदिश पाण्डेले सिधा रातो कार्ड दिए। त्यो घटनापछि रेफ्रीसँग प्रतिवाद गर्न मनाङका एक अफिसियल मैदानभित्र प्रवेश गरेका थिए।
|




