थप मन्त्रीको सपथ हुँदै


काठमाडौं, चैत्र ५ - अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सोमबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ८ बजेका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा चुनावी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सपथ खुवाउनेछन् । यसअघिको मन्त्रिपरिषद् तीन सदस्यीय थियो । रेग्मीले सपथ लिएकै दिन गृह र परराष्ट्रमन्त्रीमा माधवप्रसाद घिमिरे तथा कानुन र श्रम मन्त्रीमा हरि न्यौपानेले सपथ लिएका थिए ।
प्रमुख चार दलले मन्त्रीको नाम चुनावी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई बुझाएपछि सपथ समय तय भएको हो । एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट दुई-दुई जनाको नाम सिफारिस भएको छ ।
८ मन्त्रीले सपथ लिए मन्त्रिपरिषद् ११ सदस्यीय हुनेछ । चार दलबीच भएको ११ बुँदे सहमतिमा पनि मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय बनाउने उल्लेख छ ।
मन्त्रीहरुको नाम भने गोप्य नै राखिएको छ ।