बाबुको किरियामा घर जान पाएनन् नेपाली श्रमिकले


अधिकारकर्मीलाई थुनियो

२८ फागुन, क्वालालम्पुर । मलेसियाको मुहारमा रहेको एक फर्निचर कम्पनीमा कार्यरत नेपाली युवालाई बुबाको मृत्युका बेलासमेत कम्पनीले घर फर्किन नदिएपछि कामदार आन्दोलित बनेका छन् ।
बुबाको मृत्यु भएकाले काज किरियाका लागि नेपाल जान पाउँ भन्दै ब्यबस्थापनसँग निबेदन दिएपनि कम्पनीले उल्टै दुई हजार रिंगेट मागेको थियो । त्यतिमात्र हैन, काम गर्दागर्दै हातका चारवटा औंला गुमाएका अर्का नेपाली श्रमिकलाई इन्सुरेन्सवापतको रकम दिन इन्कार गरेका थिए ।कम्पनीको ज्यादतीबिरुद्ध नेपाली श्रमिकहरु आन्दोलित भएपछि नेपाली श्रमिकको हितमा काम गरिरहेको जिफण्ट मलेसियाका प्रतिनिधि उद्योगमा पुगी संचालकसँग वार्ता गरि समस्या समाधान गरेका छन ।
वार्ताका क्रममा कम्पनी संचालकले बुबा बितेका श्रमिकलाई नेपाल जान दिन सहमत भए इन्सुरेन्सवापतको रकम पनि तत्कालै दिन सहमती जनाएका थिए । उनले औंला काटिएका श्रमिकलाई १२ हजार रिंगेट क्षतिपूर्ति दिने वचन दिएको वार्तामा सहभागी बेदकुमार खतिवडाले अनलाइनखबरलाई बताए ।
अधिकारकर्मी र संचारकर्मीलाई थुनियो




त्यसअघि वार्ताका लागि कम्पनीमा पुगेका श्रमिक अधिकारका लागि लडिरहेका जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतिवडा, जीफण्ट मलेसियाका उपाध्यक्ष राज तामाङ र समाचार संकलनका लागि पुगेका अनलाईन खवर डटकमका मलेसिया संवाददाता रामचन्द्र नेपाललाई कम्पनी मालिकले प्रहरी लगाई थुनाएको थियो ।
उनीहरुलाई सुरुमै पुलिस बोलाएर चौकी लगि थुनिएको थियो । अनुसन्धानका लागि भन्दै करिव ६ घण्टा थुनेपछि प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । खानतलासीका क्रममा बेदकुमारसँग अलजजिराले श्रमिकका दुःख पीरसम्बन्धी बनाएको डकुमेन्ट्रीको सीडी, मलेसिया ट्रेड युनियन, जिफण्ट, टिम्वर एसोसियसनलगायतसँग सम्बद्धता रहेका कागजपत्र देखेपछि उनीहरुले अधिकारकर्मिहरुको गलत नियत नभएको भन्दै माफी मागेर छाडिदिएका थिए ।
स्थानीय प्रहरी अधिकारीले कम्पनीसँग छलफलका लागि आउँदा पहिले आफुलाई खवर गर्नुपर्ने भन्दै आगामी दिनमा पहिले पुलिसलाई खवर गरि वार्तामा बसे समस्या नहुने आश्वस्त पारेका थिए । उनीहरुले नेपाली श्रमिकका समस्या समाधान गर्ने प्रयासको प्रसंसा गर्दै रिहा गरेर पुनः कम्पनीमा पुर्‍याइदिएका थिए । त्यसलगत्तै कम्पनी संचालकसँग वार्ता भएको थियो ।