फुल्दाफुल्दै आँपका बोट खरिद-बिक्री
![]() |
उदयपुर, फाल्गुन २८ - आँपका रूखमा फूल फुल्दैछ । सुन्दपुर ७ का ललित चौधरीले राम्रो मूल्य लिएर रूखै बेचिसके । दाना नलाग्दै आफूले सोचेकै मूल्यमा बिक्री भएकोमा उनी दंग छन् । व्यापारी शंकर साहु तेलीले चौधरीलाई घरमै पुगेर फुल्दै गरेको आँपको मूल्य दिएका हुन् ।
दाना नलाग्दासम्म चौधरीले सुरक्षा गरिदिनुपर्ने उनको सर्त छ । आँपको फूलमा बसेका किरा मार्ने औषधि व्यापारी साहु तेलीले छिट्ने छन् । फुल्दै गरेका चौधरीका १५ वटा आँपका रूख शंकरले १ लाख ७५ हजार रुपैयाँमा किनेका हुन् ।
यसरी फुल्दाफुल्दैको रूख खरिद गर्ने शंकर एक्ला व्यापारी भने होइनन् । अहिले उदयपुर, सिरहा र सप्तरीका दर्जनौं व्यापारीले फुलेको हेरेकै भरमा आँप खरिद गर्ने गरेका छन् । '५ लाख रुपैयाँ दाउमा राखियो,' सुन्दपुरकै व्यापारी मोहम्मद साकिरले भने, 'गत वर्ष राम्रै आम्दानी भएको थियो ।
यसपालि पनि घाटा नहोला भन्ने आशा छ ।' फूल हेरेर फलको कल्पना गर्दै आँप खरिद गर्दा कुनै साल बढी फाइदा र कुनै साल घाटा हुने उनले बताए । 'चिचिला नलाग्दै सबै आँपका रूख व्यापारीले किनिसक्छन््,' साकिरले भने, 'फुल्दाफुल्दै किनिएन भने पछि पाइँदैन ।' साकिरले सुन्दपुर, बेल्टार, हडियालगायतका गाविसमा झन्डै ५० वटा आँपका रूख फुल्दाफुल्दै खरिद गरिसकेका छन् । उनले गत वर्ष फुल्दाफुल्दै ३ लाख रुपैयाँमा खरिद गरेका २० बोट आँपबाट करिब १ लाख ५५ हजार रुपैयाँ मुनाफा गरेका थिए । बेल्टारका व्यापारी भुवनेश्वर शाह फूल खेल्दै किनेका आँपका रूखमा विषादी छिट्दै थिए ।
'फूल फुल्दै आँपमा लाग्ने मधुवा किराका कारण आँप बिगि्रन्छ,' उनले भने, 'त्यसैले फुल्दाफुल्दै दबाई छिटिरहेको छु ।' उनले २ लाख ४५ हजार रुपैयाँमा उदयपुर र सप्तरीका विभिन्न स्थानमा २५ वटा आँपका रूख खरिद गरेको बताए । 'यो जुवा खेल्नुजस्तै हुन्छ, उनले भने, चिचिला कहिले लाग्ला भन्दै रुँघिरहनुपर्छ ।' किराको प्रकोप र चैत-वैशाखको हावाहुरी सकिएपछि मात्र नाफा-घाटाको अनुमान गर्न सकिने व्यापारी बताउँछन् । चिचिला लागेपछि आँपको बोटको सुरक्षा गर्न पाल टाँगेर बस्नुपर्ने बाध्यता हुन्छ । 'खरिद गरेदेखि बिक्री नहुन्जेल निरन्तर रेखदेख गरिरहनुपर्ने झन्झट रहेको व्यापारी भुवनेश्वरले बताए ।
'पाक्ने बेलामा खरिद गर्दा बढी फाइदा हुँदैन, उनले भने, त्यसैले फूलमै खरिद गर्नुपरेको हो ।' उदयपुर, सिरहा र सप्तरीको आँप मुलुकको विभिन्न सहरका साथै भारतीय बजारमा समेत बिक्री हुने गरेको छ । उदयपुरमा व्यापारीले फुल्दाफुल्दैका बोटको पैसा दिन थालेपछि व्यावसायिक आँप खेती गर्ने किसानको संख्या बढ््दै गएको कृषि विकास कार्यालयले जनाएको छ ।
![]() |