फ्रेन्ड्सको सम्भावना समाप्त
![]() |
काठमाडौं, चैत ९ - एनएमबी मछिन्द्रसँग बिहीबार गोलरहित बराबरीमा रोकिएपछि एनआइबिएल फ्रेन्ड्स क्लब सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिगको उपाधि दौडबाट बाहिरीएको छ। अन्तिम तीन खेलमा शीर्ष टोली थ्री स्टार पराजित र फ्रेन्ड्स सबै खेल जित्न सफल भए पनि कोपुन्डोलको टोलीले उपाधि जित्ने छैन्।

बाँकी खेलमा ९ अंक जोडेपनि घरेलु लिगमा पहिलो पटक लागु गरिएको हेड टु हेड पद्दतिका आधारमा फ्रेन्ड्स थ्री स्टारभन्दा पछि रहनेछ। अग्रस्थानमा रहेको थ्री स्टारको ३९ अंक छ भने बराबरीपछि फ्रेन्ड्सको ३० अंक पुगेको छ। सुपर लिगमा थ्री स्टारले फ्रेन्ड्सलाई १-० को नतिजामा हराएको थियो।
सुपर लिगमा लगातार दोस्रो बराबरी खेलेका दुई टोलीमध्ये फ्रेन्ड्सको चालू लिगमा नवौं र मछिन्द्रको पाँचौं बराबरी हो। बिहीबारको नतिजापछि उपाधि दौडमा सुपर लिगका आठ मध्ये फ्रेन्ड्स बाहेक सात टोलीको मात्र गणितीय सम्भावना जीवित रहेको छ। फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसी थ्री स्टारबाहेक सातै टोलीले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने बताउँछन्। 'गणितीय सम्भावना बाँकी होला,' सुपर लिगका लागि लोनमा यति हिमालयन शेर्पाबाट फ्रेन्ड्स आएका उनले भने, 'व्यवहारिक रुपमा उपाधि दौड सकिइसकेको छ। थ्री स्टार बाहेकका टोलीले दोस्रो र तेस्रो स्थानका लागि संघर्ष गर्ने हो। हामी पनि त्यसका लागि भिडनेछौं।'
पहिलो चरणमा फ्रेन्ड्ससँग ५-० ले पराजित भएको मछिन्द्र सुपर लिगमा हावी भएपनि त्यसको फाइदा उठाउन सफल भएन। फ्रेन्ड्सका प्रशिक्षक केसीले दुवै टोलीको प्रदर्शन राम्रो हुन नसकेको बताए। 'पानीले मैदान चिप्लो भएर हुन सक्छ, दुवै टोलीको खेल त्यति राम्रो भएन। मौका पाएर पनि दुवै टोलीले गोल गर्न सकेनन्,' उनले थपे, 'यो बराबरीले दुवैलाई घाटा भयो।'
नियमित कप्तान दीपक राई प्रतिबन्धित भएको बिहीबारको खेलबाट दुई विदेशी खेलाडी उतारेको मछिन्द्रले सुरुआतमै अवसर खेर फालेको थियो। चौथो मिनेटमा विक्रम लिम्बुको लामो प्रहार फ्रेन्ड्सका गोलकिपर बसिरले पन्च गरे। १० औं मिनेटमा विशाल राई 'बी' को पासमा कर्ण लिम्बुको प्रहार पनि बसिरले रोकेका थिए। विशाल राई 'ए' को क्रसमा कसैको निगरानीमा नरहेका कर्णले हेड गरेको बल ६२ औं मिनेटमा पोस्ट नजिकबाट बाहिरीएको थियो। बराबरीले अंकतालिकामा कुनै फेरबदल भएन। ३२ अंकसहित मछिन्द्र चौथो र फ्रेन्ड्स पाँचौं स्थानमा यथावत रहेमछिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले अंक बाडेपनि अघिल्ला खेलमा भन्दा टोलीको प्रदर्शनमा सुधार आएकोमा खुशि व्यक्त गरे। 'यसअघिभन्दा आज प्रदर्शन राम्रो भयो,' शाक्यको विश्लेषण थियो, 'दोस्रो हाफमा हाम्रो प्रदर्शनमा सुधार भयो, तर अझै पनि अन्तिम पासमा समस्या छ।'
जगजित श्रेष्ठ, सिक उमार र डोडोज फ्रेन्ड्सका मुख्य खेलाडी भएकाले उनीहरुलाई रोक्ने रणनीति लिएको बताउँदै शाक्यले कप्तान दीपकको अभाव खट्किएपनि कर्ण र विशाल' ए' बीच राम्रो तालमेल देखिएको बताए।
फ्रेन्ड्सका केसीले जस्तै शाक्यले पनि उपाधि जित्ने सम्भावना कमजोर भइसकेकोले दोस्रो स्थानका लागि संघर्ष गर्ने बताए। 'अब दोस्रो स्थानका लागि प्रयास गर्ने हो,' उनको आशंका थियो, 'तर त्यो पनि सजिलो छैन । बाँकी खेल कठिन छन्।'
फ्रेन्ड्सले पनि गोलका केही अवसर चुकाएको थियो। पाँचौं मिनेटमा कप्तान सागर थापाको क्रसमा डोडोजको प्रहार मछिन्द्रका गोलकिपर दीनेश थापाले पन्च गरे। त्यसकै रिवाउन्डमा जगजितको प्रहार क्रसबारमाथिबाट बाहिरीयो। १७ औं मिनेटमा डोडोजको पासा उमारको वान टचमा बल पोस्ट नजिकबाट गयो। प्रकाश बुढाथोकीले ७६ औं मिनेटमा उपलब्ध गराएको पासमा डोडोजको प्रहारमा सेकेन्ड बारबाट बाहिरिँदा अग्रताको अवसर गुम्यो।'
आगामी खेलमा मछिन्द्रले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी, थ्री स्टार र पुलिसको सामना गर्नेछ भने फ्रेन्ड्सले पुलिस, एनआरटी र म्याडोयल्स आरसिटीसँग खेल्ने छ।
लिगमा शुक्रबार
आर्मीविरुद्ध पुलिस (३:३० बजे)
भिडियोमा हेर्नको लागि तल क्लिक गर्नुहोला
![]() |