बुझाउन बिर्सिएको सुत्केरी भाग !
![]() |
भुवन तामाङ
यो पंक्तिकारको कान्छो छोरा तीन वर्ष पुग्न लाग्यो । हामीले उसको सुत्केरी भाग बुझाउन बिर्सिएछौँ । छेवर गर्नका लागि साइत हेर्न लामाकहाँ जाँदा पो लामाले थाहा पाएर बताइदिए । छोराको सुत्केरी भाग नबुझाएकै कारण छोरो निकै चंचल, उदण्ड भएको रहेछ । लामाले चाँडो गरी सुत्केरी भाग बुझाओ भने । हामीले धामीमार्फत प्रकृतिलाई छोराको सुत्केरी भाग बुझायौँ । मानिस प्रकृति तथा ईश्वरको उपज हो भन्ने विश्वासमा सन्तान दिलाएकामा हामीले पनि उनलाई केही बुझायौँ । सुत्केरी भागमा बाबर, मह, जोडी माछा, रक्सी, अण्डा, मर्च, एकजोडी भालेपोथी कुखुरा आदि बुझायौँ ।
-->बाँसको साना लिंगो ठड्याई, केराको पातको थान स्थापना गरि धुपौरोमा धुप सल्काई, सिन्के धुप बाली, फुल र अक्षताले प्रकृतिलाई बक्साई, मन्त्र बाची धामीले बुझाइदिए । सुत्केरी भाग बुझाउनुको अर्थ सन्तान दिएवापत मान्यविधिले हार्दिकता-धन्यवाद प्रकट गर्नु हो । त्यसपछि त छोरामा नचिताएको परिवर्तन देखा पर्यो । उसले जे पनि खसाल्थ्यो, फुटाउँथ्यो । लड्थ्यो, हातखुट्टामा चोट पाथ्र्यो । रोइमात्र रहन्थ्यो । तर सुत्केरी भाग बुझाएपछि त हाम्रो छोरो अरु स्कूल गएको देखेर म पनि पढ्छु पो भन्न थाल्यो । आज्ञाकारी र ज्ञानी भएर आयो । अरुभन्दा पनि उसमा चंचलता गायब भएर गयो र स्थिरता आयो अर्थात समस्या समाधान भयो ।
हामी नेपाली त्यसमा पनि परापूर्वकालदेखि मानि ल्याएको परम्परा मान्ने जाति । त्यसैको आधारमा जीवन चलाउने पर्यौँ । नेपालमा कहिल्यै पनि स्थिरता आएन, सम्बृद्धि आएन । हरेक पटक उपलब्धी जन्मन्छ अनि सुत्केरी भाग नबुझाएको नानी या मान्छे जस्तै चंचल, अस्थिर भई चोटग्रस्त हुन्छ । मति बिग्रेर जान्छ । देश सधैँ अनिर्णयको बन्दी बन्छ । यहाँका नेताहरु दिग्भ्रमित हुन्छन् अनि के के गर्छन् के के र दुनियाँलाई तीनछक्क पार्छन् । आफ्नै नेपाली उखान जस्तै “कहिँ नभएको जात्रा ….. गाउँमा” भनेझैँ जात्रा देखाउँछन् ।
नेपालमा उपलब्धी -परिवर्तन) जन्माइदिएको दावी गर्ने पत्ता लगाई सुत्केरी भाग बुझाए शान्तले बस्न दिने थिए कि भन्ने यो पंक्तिकारको आशय हो । ७ सालपछि वि.पि.ले कोशी, १७ सालपछि महेन्द्रले बाटोघाटो हुँदै कुनै सरकारले गण्डक, कुनैले महाकाली आदि बुझाए । ४८ सालपछिका प्रजातान्त्रिक सरकार सम्मकाले धेरै बुझाए । विगतका ती सरकारहरुले थप बुझाउन या बक्साउन नसक्दा समस्यामा पारिए, सत्ताबाट गलहत्याइए । ५८ मा ज्ञानेन्द्रको सत्र पल्टिएपनि बक्साउन जानेनन् क्यार, गद्दिच्यूतै भए । २०६२/०६३ पछि गणतन्त्र जन्मियो तर आजसम्म स्थिर हुन सकेन ।बालक गणतन्त्र, किशोरवयमा प्रवेश गर्दैछ । यो निकै चंचले, चकचके, अटेरी, अस्थिर छ । कहिले के गर्ने कहिले के गर्ने गरेर हैरान पारिसक्यो । कुनै दिन यो चोटग्रस्त भएर अस्पताल जाने हो की ? या कोमामा पुगेर मर्ने पो हो ? नेपालीहरुले शंका गर्न थालेका छन् ।
नेपालको राजनीतिलाई आफ्नै पेवाजत्तिकै ठान्ने दक्षिणी मित्र देश, साह्रै भलाद्मी पाराको शुभचिन्तक उत्तरी देश र समुद्रपारबाटै भए पनि टुप्पी समाउने देशहरु नेपालमा विभिन्न कालखण्डमा परिवर्तन जन्माउन सघाउने हुन् भन्दा अति नहोला । उनीहरु नै सुत्केरी भाग खाने प्रकृति या देउदेउता हुन् भन्दा पनि धेरै नहोला । २००७ सालताका भारतका नेहरुको सदासयतामा नेपालमा प्रजातन्त्र आएको थियो । वर्तमान अबस्थासम्म पनि भारतले नेपालप्रतिको सदासयता, धारणामा परिवर्तन गरेको छैन । कहिँकतै उनैलाई पो सुत्केरी भाग बुझाउनु पर्ला की ? लौ बुझाउन नसकेपनि बक्साउन त सकिएला नि ।
नेपालमा प्रधानन्यायधीशको प्रधानमन्त्रीत्वमा चुनाव गराउने सुत्रधार भारतै हो पनि भनिँदैछ । यो योजना तुहाउने पनि उनै पो निस्कन बेर छैन । त्यसैले सुत्केरी भाग बुझाउने या बक्साउने काम चाँडो गरे समस्याको समाधान निस्केला । तर, विगतमा झैँ देशको प्राकृतिक सम्पदा जिम्मा लगाउनु भन्ने यो पंक्तिकारको आशय होइन । बुझाउनु भनेको कुटनीतिक हार्दिकता प्रकटसम्म गर्नु हो । नेपालको हरेक महत्वपूर्ण आन्दोलन तथा क्रान्तिहरुमा छिमेकी तथा समुद्रपारका देशहरुले सघाएकै हुन् । नेपालमा ७, १७, ३६, ४६ साल तथा २०६२/०६३ सालका ऐतिहासिक घटना भए । ७ सालपछि प्रजातन्त्र जन्मियो, १७ सालपछि पञ्चायत, ३६ सालपछि पनि पञ्चायतै ४६ सालमा पुनःप्रजातन्त्र र २०६२/०६३ पछि गणतन्त्र जन्मिए । यी सबै घटनामा विदेशको केही न केही सहयोग रहेकै हो जसले उक्त उपलब्धी जन्मिन सहायक बन्यो । उपलब्धीका लागि सघाए वापत विदेशीले केही आशा त गरैकै हुन्छन् । त्यसमा पनि सीमा जोडिएको छिमेकीले त झन ठूलै आशा गर्न सक्छन् । ठूलो प्रसुती व्यथा (क्रान्ति/आन्दोलन)पश्चात उपलब्धी जन्माउन सघाएपछि सुत्केरी भाग खोजेको इतिहास रहेको छ ।
मानिस जन्मिएपछि जन्मनेलाई भविष्यमा केही नहोस भनी प्रकृति -भूतप्रेत, देउ देउता, खोलानाला, वनजंगल, जमीन, घाम हावापानी) आदिलाई सुत्केरी भाग बुझाउने नेपाली परम्परा छ । सुत्केरी भाग नबुझाएको मानिसलाई जीवनमा सधैँ हण्डर आइरहन्छ, दुःख पाइरहन्छ भन्ने नेपालीहरुमाझ विश्वास छ । यहाँ मात्र प्रतिकात्मक प्रसंग उठाएको हो । हाम्रा राजनीतिक दलका शीर्षस्त नेताहरुको क्षमतामा प्रश्न गरेको हो । कसरी आफ्नै देशलाई आफ्नै कार्यकुशलता र जनताको सहयोगमा सदाका लागि स्थिर, विकसित र समुन्नत बनाउने भन्ने नागरिक चिन्ता व्यक्त गरिएको हो । नेपाली राजनेताहरु आफ्नै सुझबुझले चाडैँ देशको समस्या समाधान गर्न सफल होउन्, शुभकामना ।
![]() |