शिक्षण अस्पतालका निर्देशक भगवान कोइरालाद्वारा राजीनामा
![]() |
२० फागुन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाले राजीनामा दिनु भएको छ ।
उहाँले शुक्रबार साँझ राजीनामा दिनु भएको हो । ‘मैले अस्ती राजीनामा दिएको हुँ’ अनलाइनअखबरसँग कुराकानी गर्दै कोइरालाले भन्नुभयो-भोलि पर्सीदेखि अस्पताल छाड्नु पर्ला ।’ आफूले राजीनामा दिनुमा ‘मल्टिपल रिजन’(धेरै कारण) रहेको भन्दै उहाँले अस्पताल छाड्नु अघि पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने बताउनु भयो ।
शहिद गंगालाल हृदय रोग केन्द्रमा ८ बर्षसम्म कार्यकारी निर्देशक रहेर अस्पताललाई नमुना बनाउनुभएका कोइरालालाई सरकारले चार महिनाअघि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जिम्मेवारी सम्हालेको छोटो समयमै अस्पतालमा सुधारका काम थाल्नुभएका कोइरालाले आफुलाई काम गर्न नदिइएको र भित्रैबाट असहयोग भएको सहकर्मीसँग गुनासो गर्नुभएको थियो ।
सहकर्मी चिकित्सकहरुका अनुसार काम गर्ने वातावरण नै नभएपछि कोइरालाले राजीनामा दिनु भएको हो । ‘हामीले ठूलो अपेक्षा गरेर उहाँलाई यहाँ ल्यायौं’ उनका एक सहकर्मीले अनलाइनखबरसँग भने-’तर, यहाँ वर्षौदेखि जकडिएको वेतिथीले उहाँले काम गर्न सक्नु भएन ।’
![]() |