मनाङमा छिरिङको पुनरागमन
|
काठमाडौं, फागुन २८ (नागरिक)- छिरिङ लोप्साङ झण्डै डेढ वर्षको विश्रामपछि पूर्व क्लब लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लबमार्फत प्रशिक्षणमा फर्केका छन्।
उनको नेतृत्वमा मनाङले सोमबार आरसिटीसँग खेल्दै सुपर लिग यात्रा थाल्नेछ।
'विदेशबाट घर फर्केजस्तो भइरहेको छ,' गत बर्ष केही समय एनएमबी मछिन्द्रलाई समेत प्रशिक्षण दिएका उनले भने, 'यो मेरो लागि अवसर र चुनौति दुवै हो।'
गत महिना पोखराको आहा रारा गोल्डकपमा पराजित भएसँगै तत्कालिन प्रशिक्षक कृष्ण थापाले राजीनामा दिएपछि क्लब प्रशिक्षकविहिन थियो। व्यवस्थापक कुमार कटुवालले कार्यवाहक प्रशिक्षकको भुमिका निर्वाह गर्दा मनाङले सिमरा गोल्डकप जितेको थियो।
दुई बर्षअघि मनाङबाट अलग भएका लोप्साङले ६ बर्षे (२०६१-२०६७) पहिलो कार्यकालमा टोलीलाई २०६२ मा लिग च्याम्पियन बनाएका थिए। मनाङले २०६७ मा पाँचौं स्थानमा रहँदै लिगको अन्त्य गरेपछि लोप्साङले क्लब छोडेका थिए। उनले यसपटक लिग च्याम्पियन बन्ने सम्भावना नरहेको बताए। 'यसपाली लिग जित्ने सम्भावना छैन। दोस्रो स्थानका लागि प्रयास गर्नेछौं,' ४८ बर्षे उनले भने।
छोटो तयारी र केही खेलाडी घाइते भएकाले सुपर लिग कठिन हुने क्लबका पूर्व अध्यक्षसमेत रहेका लोप्साङले अनुमान गरे। उनले दुई सातादेखि टोलीलाई प्रशिक्षित गरिरहेका छन्। उनका अनुसार विकाससिंह क्षेत्री, निराजन मल्ल पहिलो चरणदेखि घाइते छन् भने एएफसी च्यालेन्ज कपका क्रममा कप्तान अनिल गुरुङले पनि सामान्य चोट बोकेका छन्।
मनाङ अध्यक्ष जाम्लिङ घलेले लोप्साङलाई सुपर लिगसम्मको जिम्मा दिएको बताए। 'मौखिक रुपमा अहिले दुई महिनाको जिम्मेवारी दिएका छौं,' उनले भने, 'सुपर लिगको नतिजा हेरेपछि थप निर्णय लिइनेछ।' क्लबमा लामो योगदान भएकै कारण लोप्साङलाई प्रशिक्षक नियुक्त गरेको बताउदै घलेले भने, 'उहाँले लिग जिताइसक्नु भएको छ। त्यसैले उहाँलाई जिम्मेवारी दिएका हौं।'
मनाङ छोडेपछि लोप्साङले बी लाइसेन्स कोचिङ कोर्स उर्तिर्ण गरेका थिए। 'छोड्दा सी थिए। फर्कदा बी लाइसेन्स उतिर्ण गरेको छु,' उनले भने, 'यसले क्लबलाई अवश्य फाइदा पुग्नेछ।' उनले सुपर लिगमा आरसिटीसँग पहिलो चरणमा भोगेको २-१ को हारको बदला लिने बताए लोप्साङले पछिल्लो पटक टोली सम्हाल्दा पनि मनाङ आरसिटीसँग २-१ ले पराजित भएको थियो।
|



