राजनीतिक युवाको अराजनीतिक बाटो
![]() |
काठमाडौं, चैत १० - २०५४ को स्थानीय चुनावताका राजधानीको मीनभवन बानेश्वरस्थित मीनभवन क्याम्पसचौरमा युवा विद्यार्थीबीच हिन्दी सिनेमाकी हिरोइन काजोलको डान्स स्टेपदेखि कार्ल मार्क्सको राजनीतिक मार्गनिर्देशक पुस्तक 'पुँजी'सम्म बुद्धिविलासका 'सब्जेक्ट' बन्थे। स्थानीय चुनाव भर्खरै सकिएको थियो। चौरको केटौले बहसमा प्वाक्क एउटाले नयाँ खबर सुनायो- '२३ वर्षे ठिटोले भक्तपुर गुन्डुको गाविस अध्यक्ष जितेछ यार। देशकै कान्छो गाउँ नेता रे।'
साथीहरुबीच त्यही ठिटोबारे तर्कवितर्क चल्यो। 'ठिटोलाई पत्याए छन् मतदाताले, यति कम उमेरमा अध्यक्ष जित्नु चानचुने होइन!' निष्कर्ष रह्यो, 'यो मान्छेले भविष्यमा अवश्य केही गर्छ।'
तिनै ठिटो अहिले एमाले प्रभावशाली भ्रातसंगठन युवा संघ नेपालको राष्ट्रिय नेतामा दोस्रोपटक चुनिएका छन्। महेश बस्नेतको बेजोड नेतृत्व क्षमता, उत्तेजक कार्यशैली र विवादित छविलाई लिएर राजनीतिक वृत्तमा प्रश्न छ- 'राजनीतिक युवा अब कता?'
राजनीतक मुद्दाको आपराधीकरण र आपराधिक पृष्ठभूमिको राजनीतिक संरक्षणको सन्दर्भमा राजनीतिक दलका युवा नेता कता जाँदैछन्, बस्नेत प्रवृत्तिलाई हेरेर अहिले यसको लेखाजोखा गरिँदैछ।
बस्नेत जब कान्छा गाउँ नेता बने, उनको राजनीतिक आरोहण सुरु भयो। स्थानीय र पार्टी राजनीतिमा सँगसँगै सक्रिय रहँदै उनले पार्टीमा आफ्नो जबर्जस्त भूमिका बढाउँदै लगे।
भक्तपुर काँठको गुन्डुका अध्यक्ष हुँदा बस्नेत नेपाल ल क्याम्पसमा बिएल पढ्दै थिए। करिब ११ वर्ष ओझेलमा रहेर बस्नेत २०६५ सालमा युथफोर्सको संयोजक बने। त्यसपछि उनी निरन्तर राष्ट्रिय चर्चाको पात्र बनिरहेका छन्। संविधानसभा चुनावमा नराम्ररी पराजय बेहोर्नुमा मतको सुरक्षा गर्न नसक्नु प्रमुख कारण ठहर गर्योस एमालेले। माओवादीको भ्रातृ संगठन वाइसिएलको बिगबिगी थियो त्यतिबेला। एमालेले तत्कालै वाइसिएलसँग 'मुकाबिला' गर्न युथफोर्सलाई सक्रिय बनाउन आवश्यक ठान्यो।
फोर्स त्यस समयसम्म प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) का दर्जन विभागमध्ये एक थियो, करिब-करिब निस्त्रि्कयजस्तै। एमालेका केही नेताले वाइसिएललाई टक्कर दिनसक्ने गरी त्यसलाई विकास गर्ने योजना बनाए। सुरुमा फोर्सको जिम्मेवारी लिन संघका सचिव हस्त पण्डितलाई प्रस्ताव गरियो। आइपरे अघि सरेर संयोजकले नै 'मुड्क्याउनु' पनि पर्ने भएकाले पण्डित हच्किए। उनको स्वभाव त्यस प्रकारको थिएन। त्यसपछि कोषाध्यक्ष बस्नेतलाई प्रस्ताव गरियो। उनी सुरिए। भर्खर सशस्त्र द्वन्द्वबाट बाहिर निस्केको पार्टीको जत्थासँग सिँगौरी खेल्ने आँट चानचुने थिएन। एकप्रकारको राजनीतिक दुस्साहस थियो। बस्नेतले त्यो जिम्मेवारी उत्साहसाथ स्विकारे।
सुरुका दिनमा एकथरी एमालेकै नेताले 'वाइसिएलको माइलो भाइ' भन्दै खिसीटिउरी पनि गरे युथफोर्सको। फोर्स भने आफ्नो गतिविधिमा सक्रिय नै रह्यो। संगठनलाई तल्लो तहसम्म विस्तार गरियो। समय यस्तो आयो, मानिसले एमालेको युवा संगठन भनेको प्ररायुसंघ नभई युथफोर्स हो भनेर चिन्न थाले। मूल संगठन फोर्सको विभागजस्तो बन्न पुग्यो। युथफोर्सको सक्रियतासँगै राजनीतिमा बस्नेतको हाईहाई र आलोचना एकसाथ तीव्र भए। उनले मित्र र शत्रु दुवै कमाए।
यहीँनेर चुके- युथफोर्र्स र माउ पार्टी एमाले दुवै। वाइसिएललाई तह लगाउने नाममा वलिष्ठ पाखुरा भएकालाई प्राथमिकता दिइयो, फोर्सको संगठन बनाउँदा। सिर्जनशील र बौद्धिक युवा पुस्ताको सट्टा बाहुबलको बोलवाला बढ्यो। चुल्ठे, मुन्द्रे वा आपराधिक पृष्ठभूमिका ठिटाले भटाभट संगठनका डाडूपन्यू पाउन थाले। त्यो एकप्रकारले 'तिर्खा लागेका बेला सातुको फाँक' भनेझँै थियो। नेपाली जनताले त्यस समयको अराजकता र गुण्डागर्दीको प्रतिरोध खोजेका त थिए, तर त्यसलाई निस्तेज पार्ने नामको अर्को समूहको गुन्डागर्दी होइन। जनताले कानुनी शासन खोजेका थिए।
बस्नेत वा फोर्सका संगठकले वाइसिएल बिगबिगीको प्रतिकार गर्ने भन्दै गलत अवधारणा र विधि अपनाए। एमाले र स्वयं बस्नेतले चाहेका भए त्यस समय युवा आन्दोलनको दिशा परिवर्तन हुन सक्थ्यो। तर दुवैले त्यता चासो दिएनन्। वाइसिएलका नाममा माओवादीले युवालाई आपराधीकरण गरिरहेको थियो भने फोर्सले अपराधीलाई राजनीतिमै प्रवेश गर्ने बाटो खनिदियो। यसअघिदेखि नै प्रमुख पार्टीका युवा नेतामा बिचौलिया बनेर ठेक्कापट्टाबाट पैसा उठाउने काम विस्तार हु"दै थियो, अब यो हफ्ता उठाउने र जबर्जस्ती कब्जा गर्नेसम्म बढ्यो। माओवादी, एमाले, कांग्रेस र अन्य दलका युवासमेत यस्ता गतिविधिमा कोही प्रत्यक्ष, कोही परोक्ष सक्रिय भए।
राजनीतिको आवरणमा युवालाई आपराधीकरण गर्ने कार्य वाइसिएलबाट जारी नै थियो। बस्नेतले त्यसको विरोध त गरे, तर आफूलाई निष्कलंक बनाउनुसाटो उल्टै अपराधमा चुर्लम्म डुबेकालाई साथ लिए। पुरानै बाटोबाट आफूलाई अघि बढाउन खोजे। नयाँ गोरेटो सुरु गर्ने अवसर बस्नेतले पनि गुमाए। चाहेको भए त्यतिबेला व्यापक युवा परिचालनलाई कानुनी शासनको कार्यान्वयनमा उपयोग गर्न सक्थे। उल्टै कानुन आफैं हातमा लिने गतिविधिमा सक्रिय भएर राजनीतिक बाटो निर्माणमा चुक्न पुगे।
त्यस समय फोर्स 'इजी एन्ड फास्ट मनी' को माध्यम बन्यो। त्यसले विवाद उत्पन्न गरायो। धेरै तर्क र बहसपछि पार्टीले नौ महिनामा युथफोर्सलाई निष्त्रि्कय पार्योम। तर युथफोर्सका नाममा भित्रिएकाहरु भने बस्नेतसँगै रहे। भन्ने गरिन्छ, संगीत, साहित्य र संगतको प्रभावले मानिसलाई आफूजस्तै बनाउँछ। कमलकोठीजस्तै। कमलकोठीले जे समात्छ, त्यसलाई कमलकोठी नै बनाउँछ रे।
उदाहरण हेर्न पर जानैपर्दैन। भारत उत्तरप्रदेश जेलमा रहेका बब्लु श्रीवास्तवको जीवन नियाले पुग्छ।
लखनउ युनिभर्सिटीमा बिए अध्ययन गर्दाताका कंग्रेस आईनिकट विद्यार्थी संगठनमा आबद्ध उनी कंग्रेस नेता रामगोपाल मिश्रको सम्पर्कबाट राजनीतिमा सक्रिय भए। राजीव गान्धी प्रधानमन्त्रीताका उत्तरप्रदेश युवा कांग्रेसको महासचिव रहेका उनी राजनीतिक आडमै आपराधिक गतिविधिमा होमिए। बिस्तारै उनी कुख्यात भूमिगत आपराधिक गिरोह दाउद इब्राहिम समूहको सम्पर्कमा पुगे।
एक जुझारु विद्यार्थी नेता बब्लु केही वर्षको अन्तरालमै अपराधको चक्रब्यूहमा यस्तोसँग फसे कि त्यसबाट निस्कनै सकेनन्। पहिले उनलाई उक्साउने, प्रयोग गर्ने र संरक्षण गर्ने पार्टीका नेता नै थिए। जब उनी संकटमा परे, उनको उद्धार गर्न कुनै नेता अघि सरेनन्। केपी ढुंगानाको पुस्तक 'ओपन सेक्रेट' मा बब्लुको राजनीतिक जीवन कसरी एउटा खुंखार अपराधीमा परिणत भयो भन्ने चाखलाग्दो फेहरिस्त छ।
राजनीति र अपराध सँगसँगै बढाइरहेका युवा बस्नेतको सम्बन्ध प्रकाश रेग्मी 'चमेरो', दिनेश अधिकारी 'चरी', पर्शुराम बस्नेत वा इन्द्र गुरुङसँग पहिलेदेखिकै हो। पछिल्लो समय साजन महर्जन र रमेश बाहुन पनि बस्नेतसँग जोडिन आएका छन्।
संगत नफेरिए बस्नेत हुचिल, हुट्टिट्याउ, सुतुरमुर्ग, गंगटो, भ्यागुते उपनामका अन्य आपराधिक समूहका नाइके बन्ने के बेर?
बस्नेत अहिले पनि नेपाली राजनीतिका आशलाग्दा युवा हुन्। उनको वाक्कला, नेतृत्व क्षमता र जुझारुपन युवासंघ, एमाले वा कुनै एक दललाई मात्र होइन, सिंगै देशलाई जरुरी छ। ढिलै सही, बस्नेत र उनीजस्ता राजनीतिक आवरणमा आपराधिक परिचय बनाइरहेका युवाले सच्चिनु जरुरी छ।
![]() |