सात वर्षपछि प्रहरी हवल्दारकको क्रिया
|
सप्तरी, फागुन ३- अज्ञात समूहद्वारा अपहरणपछि हत्या गरिएका पूर्व प्रहरी हवल्दार राजकुमार तामाङका परिवारजनले सात वर्षपछि उनको क्रिया गर्ने भएको छ। विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कमलेश यादवको बयानको आधारमा सप्तरी प्रहरीले तामाङको हत्या भएको लेखेर पत्र दिने भएपछि हत्या भएको सात वर्षपछि परिवारजनले क्रिया गर्ने भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले पक्राउ परेका यादवले आफूहरुले पूर्व प्रहरी हवल्दारको अपहरण गरी हत्या गरेर कोसी ब्यारेजमा फ्यालेको बयान दिएकाले सोको आधारमा तामाङको क्रियाकर्म गर्न सजिलो होस् भन्नेर बयानको फोटोकपी उपलब्ध गराउने बताए।
भारतीय सीमावर्ती बजार कुनौलीमा औषधि खरिद गर्न गएका बेला गत २०६३ साल मङ्सिर ८ गते अज्ञात समूहले तामाङलाई अपहरण गरेर बेपत्ता पारेका थिए। बेपत्ता पारेको केही दिनमै तामाङको हत्या गरिएको सूचना सार्वजनिक भए पनि कुनै ठोस प्रमाण नभेटिएपछि परिवारजनले तामाङको कुनै क्रियाकर्म नगरी निजको खोजी गर्न प्रधानमन्त्रीदेखि मन्त्रीहरु कहाँ धाउँदै आएका थिए।
यसैबीच अपहरणको धम्की दिएर फिरौती माग्न खोजेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका एक सशस्त्र प्रहरी हवल्दारमाथि प्रहरीले अपहरण मुद्दा चलाएको छ।
अपहरणको धम्की दिएर फिरौती माग्न खोजेको आरोपमा राजविराज नगरपालिका-९ का स्थानीयवासीले पक्राउ गरी प्रहरीमा बुझाएका यादवमाथि अपहरण उद्योगसम्बन्धी मुद्दा चलाएको प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले जानकारी दिए।
नगरपालिका-२ निवासी आजादकी श्रीमती शम्मा परबिनको मोबाइलमा फोन गरी फिरौती रकम मागको भन्दै स्थानीवासीले गत शुक्रबार यादवलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए।
प्रहरी हवल्दार यादवले विगत तीन दिनदेखि मोबाइलमा फोन गरेर रु चार लाख फिरौती माग गरिरहेको र नदिए छ वर्षीय भतिजा मुन्नाको अपहरण गर्ने धम्की दिँदै आएको आजादले बताए। रासस
|



