आमा जेलमा, बालकको बिचल्ली
|
पर्सा, फाल्गुन ९ - उनी दैनिकजसो ५ किलोमिटर हिँडेर वीरगन्ज कारागार आइपुग्छन् । बिहान ९ बजे कारागारको ढोकामा कैदी आमाले उनलाई खाना दिन्छिन् । खाना खाएपछि फलामे बारको छेकबारमा आमा-छोरा भलाकुसारी हुन्छ । न छोराले आमाको काखमा लुटपुटिन पाउँछन् न आमाले छोरालाई मायाले सुमसुम्याउन पाउँछिन् । उनीहरू आमा गीता र १२ वषर्ीय छोरा अरविन्द तेली हुन् । रक्सोलबाट दैनिक पाँच किलोमिटर हिँडेर कैदी आमाले पकाएको खाना खान नाबालक अरबिन्द यहाँ आइपुग्छन् । उनी रहरले नभई बाध्यताले भोक मेटाउन आइपुग्छन् । २०६७ साउनदेखि जेल परेकी गीताले आफूलाई कारागारले दिने दैनिक सात सय ग्राम चामल सिधाबाट आधा पेट खाएर छोराको पनि पेट भर्दै आएकी छन् । चार नाबालक छोराछोरीमध्ये एक छोराको उनले यसरी पेट भरे पनि उनका एक नाबालक छोरा र दुई छोरीले मागेरै पेट भर्ने गरेका छन् ।
-->
-->
रिक्सा चलाउने उनका पति मोहन मदिराको लतमा फसेकाले उनका छोराछोरीले मागेर खानुपरेको हो । 'के गर्नु कारागारले दिने चामलको भात पकाएर सबैलाई खुवाउने भए पनि कसैको पनि पेट भरिँदैन, त्यसैले अरू तीन छोराछोरी मागेर खान्छन्,' गीताले भनिन् । २०६७ साउनमा प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेपछि उनले अढाइ वर्ष कैद र एक लाख जरिवाना सजाय पाइन् । कैद झन्डै भुक्तान भए पनि उनीसँग एक लाख जरिवाना तिर्न पैसा छैन । त्यसैले थप ४ वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।
रक्सोलमा आफ्नो खेतीपाती र घरसमेत नभएकाले छोराछोरी भाडाको घरमा बसेको उनले बताइन् । चारै नाबालक विद्यालय पढ्न जाँदैनन् । निकम्मा पतिले घर चलाउन छाडेपछि उनले पाँच सयको प्रलोभनमा परेर रक्सोलका एक व्यक्तिले जिम्मा लगाएको झोला वीरगन्ज लिएर आउँदै गर्दा प्रहरीले उनलाई सीमामा समात्यो । झोला दिने व्यक्तिले झोलामा चिनी रहेको भनेपछि आफूले विश्वासमा परी उक्त झोला ल्याएको तर झोलामा टिटिजेसिक रहेको उनले प्रहरीले पक्राउ गरेपछि मात्र चाल पाइन् । आफू जेल परेपछि लालाबालाको बिचल्ली भएकाले उनीहरूको पालनपोषण कुनै संस्था वा दाताले गरिदिए ठूलो गुन हुने उनले बताइन् ।
|

.jpg)


