पानी माग्दै 'दलित' अनशनमा

बैतडी, फाल्गुन ११ - खानेपानीको मुहान प्रयोग गर्न नदिएको भन्दै सित्तड ९ को एक दलित परिवार बालबालिकासहित प्रशासन कार्यालयमा अनशन बसेको छ । सित्तड ९, तेलखेत, रातामाटाका १० दलित परिवारले उपयोग गर्दै आएको खानेपानी मुहानमा गैरदलित समुदायका व्यक्तिले एकलौटी प्रयोग गर्न थालेको भन्दै बिहीबारदेखि अनशन बसेका हुन् । हरिराम सार्की, उनकी श्रीमती र तीन छोरासहित अनशन बसेका हुन् ।


-->

-->

एउटै ट्यांकी भएकाले दलितलाई पानी दिन नखोजेको उनीहरूको आरोप छ । प्रशासनले सकेसम्म मिलेर खानेपानी प्रयोग गर्ने सल्लाह दिएको थियो, गाउँ गएपछि उल्टै धम्की दियो,' हरिरामले भने, 'एउटै ट्यांकी भएकाले प्रयोग गर्न दिँदैनन् ।'  
०६६ र ०६८ सालमा गाविसको १ लाख ३५ हजार लगानीमा दलित टोलमा खानेपानी योजना बनाए पनि छिमेकी भाचेरा गाउँका टेकराज भट्टलगायतले एकलौटी प्रयोग गरेको हरिरामले बताए । गत वर्ष आफूले प्रयोग गर्दै आएको पानी दलितले लगेको भन्दै भट्टले स्थानीय प्रशासनमा उजुरी दिएका थिए । गत माघ १५ गते प्रशासन कार्यालय दुवै पक्षले आ-आफ्नै अडान राखेपछि अदालत जाने भएका थिए ।  
प्रशासनको छलफलले विवाद नटुंगिएपछि मुद्दा अदालत जाने भएको प्रशासन कार्यालयका मुद्दा शाखाका दत्तराम बडुले बताए ।