नेपाल- बंगलादेश वाणिज्य वार्ता आज
![]() |
विज्ञान अधिकारी, काठमाडौं, फागुन ६ - नेपाली एकसय कृषि वस्तुलाई भन्सार नलिने सुविधा लगायतका दुई देशको व्यापारिक मुद्धालाई अन्तिम रुप दिन नेपाल- बंगलादेशबीचको वाणिज्य वार्ता आइतबार ढाकामा सुरु हुँदैछ। दुई देशबीचको सह-सचिवस्तरीय बैठकले सात महिनाअघि भएको सम्झौंतालाई अन्तिम रुप दिनेछ।
यो बैठक सेप्टेम्बरमा हुने सहमति भएपनि नेपालमा राजनीतिक अस्थिरता र बंगलादेशमा वाणिज्य सचिवको सरुवाले हुन सकेको थिएन।
बंगलादेशका वाणिज्य सचिव मोहम्मद गुलाम हुसेनको सरुवा भएकोले बैठक पर सरेको हो भने नेपालमा राजनीतिक स्थिरताले समयको टुंगो लगाउन सकिएको थिएन। सात महिना अघि बंगलादेशले नेपालका १ सय कृषि वस्तुलाई भन्सार रहित सुविधा दिने सम्झौंता भएको थियो। वार्ताका लागि नेपालका तर्फबाट वाणिज्य सह-सचिव ङइन्द्रप्रसाद उपाध्याय शनिबार ढाका गएका छन्। अहिले नेपाली वस्तु बंगलादेश निकासी हुँदा तीस प्रतिशत भन्दा बढी भन्सार तिरिरहनुपरेको छ।
चर्को भन्सार शुल्कका बाबजुद नेपाली कृषि वस्तुको निकासी राम्रो भइरहेको छ। बंगलादेशले भुटानका कृषि उपजलाई शुन्य भन्सारमा निकासी सुविधा दिएको छ। यो सुविधाबाट भुटानले बंगलादेशमा निकासीमा उत्साहजनक वृद्धि भएको छ। नेपालले पनि भुटानको जस्तै सुविधा सात महिना अघि मागेको थियो। त्यो सुविधालाई बंगलादेशले स्विकार गर्दै एक सय कृषि वस्तुलाई भन्सार नलिने सुविधा दिन सहमत भएको थियो।
'सात महिनाअघि भएको सम्झौंतालाई यो वार्ताले अन्तिम रुप दिनेछ,' वाणिज्य सचिव लालमणि जोशीले नागरिकसँग भने, 'हामीले सबै तयारी पूरा गरेर गएका छौ।' नेपालले आफ्नो शुन्य भन्सारको सुविधा दिने वस्तुको सूची तयार पारेको छ। बंगलादेशमा तरकारी, फलफूल निकासीको सम्भावना बढी छ। अहिले मुसुरोको दाल र गोलभेंडा निकासी राम्रो भएको छ। नेपालबाट दालको अतिरिक्त पिना, अलैंची, गहुँ, तरकारीको बीउबिजन लगायत निकासी भइरहेको छ।
सह-सचिव स्तरीय बैठकले शुन्य भन्सारको सूचीलाई अन्तिम रुप दिएर सचिवस्तरीय बैठकमा पेस गर्नेछ। दुई देशको वाणिज्य सचिवस्तरीय बैठक नेपालमा बसेर कार्यान्वयनमा ल्याउनेछ। आइतबार हुने बैठकले अन्तिम रुप दिएर सचिवस्तरको बैठकको मिति पनि टुंगो लगाउनेछ। यसवाहेक काठमाडौं- ढाका बस सेवा सञ्चालन गर्ने बारे पनि टुंगोमा पुगिनेछ। बंगलादेशले बस सेवाको सञ्चालन बारे आफ्नो मोडालिटी(ढाँचा) पठाएको थियो। तर वाणिज्य मन्त्रालयले यो मोडालिटी भने पाउन सकेन्।
'बंगलादेशले पठाएको पत्रनै हामीले पाउन सकेनौ,' उनले भने, 'हामीले उनीहरुलाईनै त्यो मोडालिटी देखाउन भनेका छौ। त्यही आधारमा सहमति हुनेछ।' यो बस सेवा सञ्चालनमा आएमा दुई देशको पर्यटन प्रवर्द्धनमा सघाउन पुग्नेछ।
बंगलादेशले बन्दरगाहसम्मको यातायातमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो। दुई देशबीच वस्तुको गुणस्तर, क्वारेन्टाइन तथा स्वास्थ्य सम्बन्धी मापदण्डमा एकरुपता कायम गर्ने विषयमा पनि सहमति हुनेछ। क्वारेन्टाइन समस्याका नेपाली वस्तुले निकासीमा अवरोध बेहोर्नुपरिरहेको छ। यो वाहेक फुलबारी बंगलाबन्धमै अनएरायभल भिसा कार्यान्वयनमा ल्याउन नेपाली पक्षले आग्रह गर्नेछ। बंगलादेशले अनएराइभल भिसा कार्यान्वयनमा आइसकेको बताएपनि अहिलेसम्म उद्योगीले उपयोग गर्न पाएका छैनन्।
'भन्सार र अध्यागमनवीचको समन्वयको अभावले यो कार्यान्वयनमा आउन सकेको छैन। यसलाई पनि नेपाली पक्षले उठाउनेछ,' सचिव जोशीले भने, 'यो कार्यान्वयनमा आएमा निकासी उद्योगीलाई सहज हुन्छ।
। दुवै देशबीच पारवहन सहजीकरणका लागि कार्गो कन्टेनर सञ्चालन कार्यविधिलाई पनि अन्तिम रुप दिइनेछ। यो कार्यविधि आएपछि नेपाललाई बंगलादेशको चटगाउँ र मंगला बन्दरगाह प्रयोगमा सरलीकरण हुनेछ। नेपाल र -बंगलादेशवीच सन् १९७६मा पारवहन सन्धी भएको थियो। भारत भन्दा दुई वर्षअघि सन्धी भएपनि पारवहनमार्ग सहजीकरण गर्न भने सकेका छैनन्। पारवहन मार्ग सहजीकरण नहुँदा वस्तु निकासीमा विभिन्न समस्या भोग्दै आएको छ। यो वाहेक सात महिना अघि पर्यटन प्रवर्द्धनका लागि दुबै देशका स्वदेशी मुद्राको प्रयोगलाई कार्यान्वयन गर्न दुई देशका केन्द्रीय बैंकले आवश्यक गृहकार्य गर्ने सहमति भएको थियो।
नेपालबाट गत वर्ष ३ अर्बभन्दा बढी सामान बंगलादेश निकासी भएको छ भने बंगलादेशबाट एक अर्ब बराबरको सामान नेपाल आयात भएको छ।
![]() |