निगमले ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता लियो



काठमाडौ, फाल्गुन २ - नेपाल आयल निगमले खाना पकउाने ग्यासमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएको छ । निगमले बुधबार विज्ञप्ती जारी गरेर अर्को व्यवस्था नभएसम्म मूल्यवृद्धिको निर्णय स्थगन गरिएको जनाएको छ ।
मूल्यवृद्धिको सबैतिरबाट चर्को बिरोध भएपछि निगमले २४ घण्टा पनि नबित्दै उक्त निर्णय फिर्ता लिएको हो । यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वटर मार्फत दोहरो मूल्य तत्काल कार्यान्वयन नगरिने बताएका थिए ।
मूल्यवृद्धिको बिरोधमा आन्दोलनमा उत्रेका विद्यार्थी संगठनहरुले टि्वटर मार्फत गरिएको घोषणालाई विश्वास गर्न नसकिने भन्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेका थियो ।
निगम संचालक समितिको बुधबार बसेको बैठकले हिजो गरिएको दोहरो मूल्य निर्धारणको निर्णयलाई स्थगन गरेको हो ।
ग्यासमा एकैपटक प्रतिसिलिण्डर ६ सय ३० रुपैयाँ वृद्धि गरेर २१ सय पुर्‍याइएको थियो । आम उपभोक्तालाई १५ सय ५० र व्यवसायिक प्रयोगकर्तालाई २१ सय पुर्‍याइएको भनिएपनि आमउपभोक्ताले ग्यास लिने बेलामा २१ सय नै तिर्नुपर्ने र पछि बैंकबाट बाँकी रकम फिर्ताको प्रावधान राखिएको थियो । उपभोक्तालाई ५ सय ५० रुपैयाँ बैंक अफ काठमाण्डुमार्फत सरकारले राहतस्वरुप फिर्ता दिने तयारी थियो । सरकारले झन्झटिलो प्रक्रियाबाट राहत दिंदा पनि उपभोक्तालाई ग्यास प्रतिसिलिण्डर ८० रुपैयाँ महँगो पर्ने भएको थियो ।

नेपाल आयल निगमद्वारपेा जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण पाठ
मिति २०६९।११।०२
मिति २०६९।११।०१ मा निगम संचालक समितिको बैठकले एल.पी. ग्यासको व्यवसायिक प्रयोजनको लागि निलो रंगको सिलिण्डर र घरायसी प्रयोजनको लागि रातो रंगको १४.२ किलो गरी दुबै थरीको सिलिण्डरको विक्री मूल्य निगमको लागत मूल्य भन्दा कम अर्थात रकम रु २१००।- निर्धारण गरेको र घरायसी प्रयोजनको लागि प्रयोग हुने रातो रंगको प्रति परिवार महिनाको एक सिलिण्डरमा रकम रु ५५०।- बैंक मार्फत नगद अनुदान उपलब्ध गराउने निर्णय भएकोमा आज बसेको संचालक समितिको बैठकबाट अर्को ब्यवस्था नभएसम्म उक्त निर्णय स्थगन गरी हाललाई सबै उपभोक्तालाई साबिक मिति २०६९।११।०१ पूर्व कै मूल्य अर्थात काठमाण्डौ उपत्यकामा दुबै थरीका सिलिण्डरको प्रति
सिलिण्डर बिक्री मूल्य रकम रु १४७०।- नै कायम गरिएको छ ।