बलत्कृत युवतीको परिवारै विस्थापित



मिथिलेश यादव, लहान, फागुन १३- अरु घटनामा अभियुत्क फरार हुन्थे बलात्कारको एक घटनामा पीडित परिवार गाउँ छाडेर विस्थापित भएका छन्। सिरहाको दक्षीणवर्ती दुर्गम गाउँ सोठियाईनको-५ मा भएको घटनामा पीडित असुरक्षित भएपछि परिवार नै विस्थापित भएको हो।



गाउँमा घटना मिलापत्र नगरि प्रहरीकहाँ पुगेपछि पीडित महतो परिवारलाई गाउँ बस्न असुरक्षित भएको हो। 'समाजको कुरा काटेर गाउँमै बस्न मुस्किल छ',- एक नजिकका नातेदारले भने, ‘हाम्रो पूरै परिवार सुरक्षाका लागि गाउँ बाहिर आश्रय लिएर बसेको अवस्था छ।'

पीडित परिवार घटना विवरण खुलस्त बताउन समेत डराउँछन्। आफू बसेको स्थानका बारेमा समेत बाहिरका कोहीलाई जानकारी नहोस् भन्दै महतो परिवार प्रहरीसँग पनि स्थान योप्य राखेका छन्। सोठियाईन गाउँ यादव समुदायको बाहुल्यता भएको गाउँ हो। ‘पटना' मा गन्ती गर्दा मुस्किलले चार पाँच घर महतो समुदाय(कोईरी)को बसोबास छ।
९ दिन भयो महतो थरकी १२ वर्षिया वालिकालाई यादव थरको एक जना युवकले जवरजस्ती करणी गरेको। फागुन -३ गत्ते राती भएको यो घटना दुई दिनसम्म गाउँमै गुपचुप राखियो। पाँच गत्ते घटना नजिकैको महेशवारि प्रहरी चौकीमा पुग्यो। महेशवारी प्रहरीसित मुद्दा दर्ता गर्ने अधिकार नभएकाले घटना वडा प्रहरी कार्यालय लहान पठायो।
महेशवारी प्रहरी चौकीका एक प्रहरीले भने,‘पाँच गत्ते पनि अभियुक्त पक्षका केही ब्यक्ति चोकसम्मै आएर प्रहरीमा नजान पीडितलाई धम्की दिए।', मोटरसाईकल बीचमा बसाएर युवतीलाई समेत यहाँ ल्याईएको थियो ती प्रहरीले भने,‘हामीसँगको बयानमा युवतीले आफूमाथि दुईजना युवकले जबरजस्ती गरेको बयान दिइन।'

'राती करिव ८ बजेको थियो होला', युवतीले बयानमा भनेकी छिन्-  'दुई जना युवाले घर अगाडिवाटै बोकेर पश्चिम दक्षिणतिर लगे। रोईकराई गर्दा मुख थुनेर जवरजस्ती गरे।' त्यसपछि आफू बेहोस भएको र पछि घर नजिकै ल्याएर छाडेको उनले बयान दिएकी छिन्।

महेशवारि चौकीका  एक प्रहरी जवानले सुनाए ‘यहाँ आउँदा बालिका राम्ररी वोल्न सक्ने अवस्थामा थिइनन्, एक डेड घण्टाको समय पनि सुतेरै विताइन्।' प्रहरीले छिटो छिटो बयान लिएर लाहान पठाएको उनले बताए। ३ गते राती भएको यो घटना भोलीपल्ट दिनभर मिलापत्रका लागि गाउँमा कसरत भएको थियो तर लेनदेनमा कुरा मिलेन। पीडित पक्ष प्रहरीमा जान खोजेका थिए गाउँलेहरु बाटो छेकेरै फर्काएका थिए।

घटना प्रहरीमा आएपछि पनि एसपी मनोज न्यौपानेले दुई दिनसम्म घटना गुपचु राखेका थिए। बालिकाको स्वास्थ्य परीक्षण नभएसम्म घटना सार्वजनिक नगर्न उनले सञ्चारकर्मीलाई आग्रह गरेका थिए। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गराएर वालिका फर्केपछि एसपि न्यौपानेले दुई शब्द भने, ‘जाहेरी परेको छ कानुनी प्रक्रिया अघि वढ्यो, अभियुक्त फरार छ, नाम सार्वजनिक नगरौ।'

नौ दिन वित्यो अभियुत्कको नाम सार्वजनिक नभएपनि प्रहरीले अभियुत्क पक्राउ गर्न सकेन्। एसपी न्यौपाने भन्छन्, ‘यो विषयमा धेरै कुरा नखोतलौ।'अभियोग गरिसकेपछि पुलीस पर्खेर कोही अभियुत्क बस्दैन्, अधिकारकर्मी सुनिलकुमार साह भन्छन्,‘नाम सार्वजनिक गर्ने नगर्ने प्रहरीको कुरा  तर घटनालगत्तै अभियुत्क फरार भएको अवस्था छ। यो घटनामा अभियुत्क पक्राउ गर्न नसक्नु प्रहरीको कार्यक्षमता माथि प्रश्न उठेको छ।

डेढ साता पहिला वस्तीपुरमा भएको अर्की महतो थरकी युवती वलात्कारका अभियुक्त, डेढ महिना पहिला धनगडीमा साह थरकी युवतीमाथि वलात्कार गर्ने अभियुत्क अझै सिरहा प्रहरीको ‘फरार' सुचिमै छन्।