फिटकिरी बनाउँदै अनुप
![]() |
काठमाडौं, फाल्गुन ४ - नाट्यक्षेत्रमा परिचय बनाइसकेका एक्टर्स स्टुडियोका अनुप बराल फिल्ममा पनि राम्रा कलाकार र कास्टिङ डिरेक्टरका रूपमा चिनिन्छन् । तर अब उनले फिल्म 'फिटकिरी' बाट निर्देशनमा पनि हात हाल्ने भएका छन् । बिहीबार फिल्मको औपचारिक घोषणा गर्दा अनुप केही सतर्क भई बोलिरहेका थिए । 'इमानदारीका साथ काम गर्ने कोसिस गर्ने छु । विषयवस्तु सबल छ । दृश्यात्मक रूपमा कत्तिको उतार्न सकिन्छ,' इन्भेस्टिगेटिङ थि्रलर भनिएको फिल्मले काठमाडौंभित्रको 'सिटी क्राइम' लाई समातेको बरालले बताए । स्रिप्ट यज्ञशले लेखेका हुन् ।
'म यति छिट्टै र यस्तो विषयका लागि निर्देशनमा आउँछु भनेर सोचेकै थिइनँ,' तर अनुपलाई केले बाध्य पार्यो त ? भन्छन्, 'सुरुमा त मैले अभिनय गर्ने कुरा हो । तर छलफल चल्दै थियो, छायांकार पुरुषोत्तम प्रधानले मलाई निर्देशन गर्न सिफारिस गरेपछि वातावरण त्यस्तै बन्यो । मैले पनि अरूले भनेकै कारणले मात्रै नभई स्रिप्ट पढेपछि निर्देशकीय हिसाबले केही खेल्न सक्छु भन्ने देखेर मञ्जुर भएँ ।' औषधिको रूपमा समेत प्रयोग हुने फिटकिरीलाई फिल्ममा आलंकारिक रूपमा प्रयोग गरिएको बताइएको छ । सौगात मल्ल, दिया मास्के, शान्ति गिरी लगायतको अभिनय रहने फिल्मबाट 'लुट' का निर्देशक निश्चल बस्नेतले पनि अभिनय थाल्ने भएका छन् । नयाँ फिल्म 'दिमाग खराब' को घोषणा गरिसकेका उनको अचानकको अभिनय यात्राबारे भने बेग्लै धारणा राख्छन्, 'अभिनयले पछि फिल्म लेख्दा चरित्र निर्माणमा सघाउ पुर्याउला भनेर यसो गरेको हुँ । त्यसो त म अनुप सरसँग एक्टर्स स्टुडियोमै गएर अभिनय गर्ने सोचमा थिएँ । अचानक उहाँकै फिल्मका लागि रोलकै अफर आएपछि केही सिक्ने लोभले स्वीकारें ।' महत्त्वपूर्ण भूमिकामै देखिन लागेका उनले अभिनय पेसाका रूपमा भने अघि नबढाउने जिकिर गरे, 'मेरो मुख्य काम त निर्देशन र लेखन नै हुन्छ । अभिनय गर्दा भोलि आफ्ना कलाकारबाट काम लिन सजिलो होला भन्ने ठानेको छु ।' उनले 'लुट' मा बोलेर यस्तो चरित्र हुनुपर्छ भन्दा कति ठाउँमा कलाकारबाट पाउन नसकेको समस्यालाई सम्झँदै भने, 'अब आफैंले खेलेपछि त अभिनयका पनि प्राविधिक पक्षमा थाहा हुने भयो । छिटो बुझाउन सक्छु भन्ने लाग्छ ।'
यसअघि 'चपली हाइट' निर्माण गरेका अर्जुन कुमारले दोस्रो प्रोजेक्टका रूपमा 'फिटकिरी' ल्याएका हुन् । उनले फिल्मको नाम सुन्दा आर्ट मुभी भन्न सक्ने सम्भावनालाई सच्याउँदै मूलधार र अलग धारको बीचबाट राम्रो फिल्म बनाउन लागेको दाबी गरे । अनुप बरालले पनि फिल्म 'स्टाइलिस' हुने बताए । 'म त द्वन्द्वको विषयमा अलि समयपछि बनाउने सोचमा थिएँ । तर सोचको ठयाक्कै विपरीतको फिल्म बन्ने भयो । स्टाइलिस हुन्छजस्तो छ ।' उनले मान्छेका काठमाडौं सपनामा यसको अँध्यारो पाटोलाई पनि खेलाउने प्रयास गरिएको बताए । फिल्म फागुन १० देखि सुटिङमा जाने छ ।
फिल्मको पहिलो औपचारिक कार्यक्रममा उपस्थित हुँदै कलाकार (बायाँबाट) शान्ति गिरी, सौगात मल्ल, दिया मास्के, निर्देशक अनुप बराल र निश्चल बस्नेत ।
![]() |