बुबाआमालाई मोबाइल


चल्तीका ग्याजेटहरू युवा पुस्तालाई लक्षित गर्दै बजारमा ल्याइन्छन्। तर, ग्याजेट्स नेपाल प्रालिले जेठो पुस्तालाई लक्षित गर्दै बर्ड मोबाइलको नयाँ मोडल बी १०१ बजारमा ल्याएको छ।
बिनातार पनि एफएम सुन्न मिल्ने र किप्याड केही माथि उठेको हुने हुनाले उमेर छिप्पिसकेका र अत्याधुनिक प्रविधि चलाउन नजान्नेहरूलाई पनि यो मोबाइल चलाउन सजिलो हुने कम्पनीले जनाएको छ। पूर्ण मल्टिमिडिया यो मोबाइलमा डिजिटल क्यामेरा, भिडियो प्लेयर, एमपीथ्री, एमपीफो, भिडियो रेकर्डिङ्, ब्लुटुथ, धूलो नछिर्ने किप्याड रहेको छ। अझ रमाइलो त के भने एकपटक चार्ज गरेपछि चार दिनसम्म यसको ब्याट्री टिक्ने दाबी कम्पनीको छ।
१३ महिनाको वारेन्टी पाइने यस मोबाइलले चार जीबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्छ। यो मोबाइल वृद्धवृद्धालाई मात्र होइन, युवा पुस्ताका लागि पनि उत्तिकै उपयुक्त भएको कम्पनीले जनाएको छ। बर्ड मोबाइलका अन्य ४५ मोडल बजारमा उपलब्ध छन्।