अन्तरजातीय विवाहको स्वागत



नारायण नगरपालिका ९ का अनमोल सोनी र सुनिता रावलबीच करिब एक वर्षदेखि पे्रम सम्बन्ध थियो । दलित-गैरदलितबीचको सम्बन्ध नपचाएको रुढिवादी समाजमा बिहे लगत्तै गाउँ छाड्नुपर्ने चिन्ताले सताएको थियो उनीहरूलाई । कसरी लगनगाँठो कस्ने र गाउँमै स्थापित भई बस्ने भन्ने विषयमा यो जोडीले त्रासमै वर्ष दिन बितायो । अनमोल-सुनिताले त्रासमा बाचिरहनुभन्दा पे्रमलाई वैवाहिक जीवनमा रुपान्तरण गर्न खोजे । माइतीले खेदो खन्लान् भन्ने पीरमा थिए तर उनीहरूको विवाहमा कुनै अवरोध भएन । बरु गाउँलेले भोजभतेर गरेका छन् ।
माइतीले सहजै स्विकार्लान् भन्ने कल्पनै नगरेका उनीहरू बिहेयता गाउँमै रमाएका छन् । 'माइतीतिरबाट के गर्ने हुन्, कसरी बच्ने भन्ने चिन्ताले साह्रै सताएको थियो,' अनमोलले भने, 'समाजका केहीले कुरा काटे पनि माइती पक्षबाट राम्रो सद्भाव पाइयो । हामी दुवैले यस्तो सद्भाव पाइएला भन्ने कल्पना गरेका थिएनौं ।' अनमोल र सुनिता माघ ४ गते विहेबन्धनमा बाधिएका हुन् । दुवै जना सँगै स्कुल जान्छन् । चाडपर्वमा माइती पुग्छन् । सोनी परिवारले सुनितालाई भित्र्याएलगत्तै सुनिताका बाबु गोरे रावलसहितका माइती पक्ष आएर उज्जवल भविष्यको शुभकामना दिए । 'बुबा र दाइहरूले मिलेर बस्नु, हामीले नराम्रो सुन्नु नपरोस्, पढाइ नबिर्गानुजस्ता सुझाव दिनुभयो,' सुनिताले भनिन्, 'उहाँहरूले दिएको सल्लाहअनुसार सुखमय जीवन बिताउँछौं ।' अनमोल र सुनिताको घर करिब आधा घन्टा दूरीमा छ ।
स्थानीय दलित अगुवा रेशम विश्वकर्माले माइती पक्ष सचेत भएकाले यस जोडीले दुव्र्यवहार सहनु नपरेको बताए । उनले भने, 'यो जोडी साच्चिकै उदाहरणीय बनेको छ ।'