ओलम्पिकमा पदक जित्न इन्टाले योजना बनाउने
|
अमेरिका, असोज ९ - इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसियसन (इन्टा) को तेस्रो साधारण सभाले नेपाललाई ओलम्पिक खेलमा पदक दिलाउने खेलाडी तयार गर्न योजना बनाउने भएको छ । अमेरिकामा बसोबास गरिरहेको तेक्वान्दोकर्मीहरुको सस्था इन्टा युएसएको आयोजनामा अमेरिकाको पोर्टल्याण्ड स्टेटमा गत शनिवार र आइतवार दुई दिनसम्म भएको सभाले नेपाली तेक्वान्दोको विकासमा इन्टाले पनि भूमिका खेल्ने निर्णय गरेको छ ।
बैठकले इन्टाप्रति खेलाडीहरुको वढ्दो विश्वासले गर्दा सम्पुर्ण तेक्वान्दो परिवारलाई एउटै छाता मुनी आवद्ध भई नेपालको तेक्वान्दो खेललाई सहयोग.गर्न आह्वान गर्ने निर्णय गरेको छ । सभामा इन्टा युएसए, क्यानाडा, युके र हङकङबाट तेक्वान्दो कर्मीहरुले सहभागिता रहेको इन्टा युएसएका अध्यक्ष याम बहादुर पुनले जानकारी दिए । पुनको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिकका प्रदर्शनी काश्य जितेका खेलाडी विधान लामाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कोषाध्यक्ष किशोर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै महासचिव नारायण गुरुङले प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस अवसरमा उपाध्यक्ष जगन लाल श्रेष्ठ –विपिन) ले इन्टाको स्थापना, वैदेशिक सम्वन्ध र भावी योजना बारे कार्यपत्र पेश गरेका थिए । उनले ओलम्पिक खेलाडी उत्पादन गर्नु नै इन्टाको योजना भएकोले यसभित्र सवैखाले सहयोग पर्ने बताएका थिए ।
कार्यक्रमको शुरुवातमा नेपाल तेक्वान्दो संघका पुर्व अध्यक्ष तथा विश्व तेक्वान्दो महासंघका उपाध्यक्ष समेत रहिसकेको पुर्व सदस्य सचिव शरदचन्द्र शाहको निधनमा एक मिनेट मौन धारण गरिएको थियो ।
सभामा क्यानाडाबाट ग्रान्ड मास्टर राजकुमार राई र युकेबाट नम्वरजंग गुरुङको उपस्थिति थियो । त्यसैगरी इन्टाका अच्युत बास्कोटा, एसियाडका रजत पदक विजेता सविता राजभण्डारी, काश्य विजेता किशोर श्रेष्ठ, दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता रेणुका रानामगर, निरञ्जन श्रेष्ठ, निर्मल श्रेष्ठको उपस्थिति थियो ।
इन्टाका अध्यक्ष पुनले साधारण सभामा सम्वोधन गर्दे विश्वभरीबाट आएका तेक्वान्दो पदाधिकारीहरुको जोश र जांगरले तेक्वान्दो विकासमा देखाएको उत्साहको लागि धन्यवाद दिए । उनले त्यस अवसरमा थोरै लगानीले मात्र नेपाली तेक्वान्दोलाई सहयोग गर्न महत्वपुर्ण भएको तथ्य प्रमाणित भइसकेकोले आगामी दिनहरुमा पनि निरन्तर सहयोगको लागी आह्वान गरेका छन् ।
सोही अवसरमा काठमाडौंमा सम्पन्न पहिलो माउन्ट एभरेष्ट अन्तराष्टिय तेक्वान्दो प्रतियोगिताको लागी सहयोग गरेका स्थानीय ब्यापारी राजा श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै सोही प्रतियोगितामा भाग लिन गएका अमेरिकी खेलाडीहरु रोन सेहुबर्ड, रोवर्ट ग्रेगुरी, मोहन गुरुङ, ब्रायन सिंगर र जोन ड्राथ तथा इन्टालाई सहयोग गरेका भुटानीमुलका तेक्वान्दोकर्मीहरु कौशिला खनाल रकल्पना तिवारीलाई पनि सम्मान गरिएको थियो ।
|




