साउनको महत्त्व



सुषमा पोखरेल                                                          सुषमा पोखरेल


हरेक वर्ष आउने साउन महिना महिलाहरूका लागि विशेष हुन्छ । वास्तवमा साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले भगवान् शिवलाई यो महिना विशेष हुन गयो । हुन त शिवको पूजाआजा बालाचतुर्दशी-मंसिर, माघे संक्रान्ति-माघ, शिवरात्रि-फागुन, अक्षय तृतीया-वैशाखजस्ता अरू महिनामा पनि विशेष रूपमा हुन्छ । यद्यपि महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्र हो । साउन महिनामा भगवान् शिवको पूजा गरी 'ॐ नमः शिवायः' को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । 

हरेक महिनामा आउने चाडपर्व तिथिमितिको अर्थ महत्वपूर्ण छ । वषर्ायाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, साउने सोमबार शिवको व्रत बस्नु आदि काम पिता पुर्खादेखिको  विश्वासमा साउन महिनाभरि गरिन्छ । अविवाहित भए असल श्रीमान्  र विवाहित भए श्रीमान्को दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति साउनभरि भगवान् शिवको पूजा-आराधना गर्ने चलन छ । हरियो चुरा, हरियो वस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन । साउन महिनामा हरियो चुरा, हरियो वस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरूलाई देख्दा हिन्दू संस्कार, संस्कृति र विश्वास अझ गाढा हुँदै गएको छ । 

वास्तवमा साउनमा शिवजीको पूजा गर्नुको अर्थ र महत्वको विषयमा विशेष रूपमा कतै त्यस्तो व्याख्या गरिएको छैन । धर्मले जहिले पनि मानिसलाई पवित्र बन्नका लागि प्रेरणा दिइरहेको हुन्छ । साउनको प्रचण्ड गर्मीमा भोकभोकै बस्ने, आफ्नो कुनै परवाह नै नगरी व्रत बस्ने, शिवालयहरूमा पूजा गर्ने कामले आत्मीय शान्ति प्राप्त हुने कुरा र भौतिक रूपले हेर्दा पनि उचित नै देखिन्छ, अझ आध्यात्मिक दृष्टिकोणले विशेष महत्व हुन सक्ला । शिव पुराणमा भगवान् शंकरले स्वयं बताएका छन्-साउन महिनामा रुद्राष्टाध्यायी मन्त्र जप गरी व्रत गरिन्छ । शिवको पि्रय बेलपत्र, भाङ, धतुरो आदि चढाउनाले व्रत पूर्ण हुन्छ ।

प्राकृतिक रूपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय दृश्य देख्न पाइन्छ । हरियो रंग प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रूपमा पनि लिन सकिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पहेंलो पवित्रताको । त्यसैले हुन सक्छ साउन महिनामा हरियो, पहेंलो र रातो सम्मिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो उति नै श्रीमान्को माया पाइन्छ भन्ने विश्वास छ । 

बदलिँदो परिस्थिति, परम्परा एवं पर्वहरूका स्वरूपमा परिवर्तन आएको छ । सोमबारको व्रत भावनाका अतिरिक्त रचनात्मक, केही प्रदर्शन र आधुनिकताको पर्याय बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्पराको एक हिस्सा हो । श्रीमान्प्रति प्रगाढ माया र पारिवारिक सुख दिने हुनाले हालको सन्दर्भमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि यो चाड मनाउन थालेका छन् । यसले महिलाहरूमा आपसी सद्भावना बढेको देख्न सकिन्छ । यो दाम्पत्य जीवनको खुसी र दीर्घायुका लागि गरिने व्रत हो । दाम्पत्य जीवनको खुसीका लागि श्रीमान्-श्रीमतीबीच सामञ्जस्य एवं सद्भाव पनि उत्तिकै आवश्यक हुन्छ । 

सुषमा पोखरेल