बाबुरामले किने ८० किताव

काठमाडौँ, असार ३० - प्रधानमन्त्री बाबुराम भट्टराईले १६ औं नेपाल पुस्तक प्रदर्शनीको अवलोकन गर्दै ८० भन्दा बढी पुस्तक किनेका छन्। पुस्तक पढ्ने बानी बढाउनुपर्ने बताउँदै उनले प्रदर्शनीको अन्तिम दिन भने, - 'पुस्तक मागेर होइन, किनेर पढ्नुपर्दछ। यसो गर्न सकियो भने अध्ययनमा अपनत्व पैदा हुन्छ र अध्ययन सार्थक हुन्छ।'
प्रदर्शनीमा राखिएका प्रायःजसो स्टलमा पुगेका प्रधानमन्त्रीले विशेष गरी अर्थ राजनीति, समावेशी राज्य र यसको सिद्धान्त, राज्य पुनःसंरचना लगायतका पुस्तकहरूको बढी खोजी गरेका थिए।
प्रकाशक लिखत पाण्डेले प्रधानमन्त्री आफै पनि लेखक भएकाले पुस्तक प्रेमी भएको बताए।
उनले प्रधानमन्त्रीले राजनीतिसँग जोडिएका विषयका पुस्तक नै बढ्ता खोजेको जानकारी दिए।
राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशन सङ्घका अध्यक्ष रामचन्द्र तिमोथीले प्रत्येक वर्ष प्रमुख राजनीतिक दलका नेताहरू प्रदर्शनीमा सहभागी भएर हौसला बढाएको बताए।
उनले गत साल प्रधानमन्त्री नहुँदै आफूहरूले आयोजना गरेको प्रर्दशनीमा भट्टराई तीन पटक आएकोसमेत स्मरण गराए।